वडा अध्यक्षका छोरा दूधकोसीमा बेपत्ता

खोटाङ / रास– खोटाङमा साथीसँग माछा मार्न गएका एक युवा दूधकोसीमा डुबेर बेपत्ता भएका छन् । साथीसँग माछा मार्न गएका हलेसी चुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाअध्यक्ष रुद्र राईको १४ वर्षीय छोरा किरण राई बिहीबार दिउँसो दूधकोसीमा डुबेर बेपत्ता भएका हुन् ।

ट्युबमा चढेर कोसी तर्दै गरेका किरण बीचमा पुगेर पल्टिएपछि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । कोसीमा डुबेका उनको खोजीका लागि प्रहरी चौकी च्यास्मिटारबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । विद्यालय छुट्टी भएको समयमा दूधकोसी आसपासका बालबालिका माछा मार्न जाने गरेका छन् ।