घरगोठ जलेर खरानी

कपिलवस्तु / रास– कपिलवस्तुका दुई छुट्टाछुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुदाँ १० लाखभन्दा बढीको क्षति भएको छ । विजयनगर गाउँपालिका–६ छुटपारी बस्ने हस्तरी बिकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्किँदा फुरले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, आठवटा कुखुरा जलेर नष्ट भएका छन् ।

साथै चारवटा गाईगोरुसमेत जलेर घाइते भएका छन् । बिकको घर, गोठ र चौपाया जलेर नष्ट हुदाँ ५ लाख २ हजारभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए । यस्तै शिवराज नगरपालिका–३ मधवाका रामप्रसाद बिकको गोठमा दिउँसो आगो ताप्न बालेको आगो अचानक फुसले छाएको गोठमा सल्किँदा फुसले छाएको दुई तले घर र गोठ जलेर खरानी भएको छ ।