विद्युत् चोरी अभियोगमा ६ पक्राउ

तुलसीपुर / रास– विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् चोरीको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ । हुकमार्फत मेन तारबाट बिजुली चोरेर घरमा बालेको आरोपमा पक्राउ गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका सुब्बा युवराज विष्टले जानकारी दिए ।

पक्राउ पर्नेमा बबई गाउँपालिका ७ बस्ने वर्ष ३० का प्रकाश बिक, दंगीशरण गाउँपालिका २ बस्ने वर्ष ६० का भोलबहादुर बिक, सोही ठाउँका ४८ वर्षका कलबहादुर नेपाली, वर्ष २७ का सूर्यबहादुर चौधरी, वर्ष १६ का, सुरज बिक, वर्ष ६३ का पिमलाल नेपाली रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालयको सहयोगमा गयराति घरबाट नियन्त्रणमा लिएको प्राधिकरणका प्रमुख दीपकजंग चौधरीले बताए । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।