छोरी जन्माउने आमाले भत्ता पाए

राजधानी संवाददाता / बैतडी

बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई १ हजार भत्ता दिने निर्णय गरेसँगै अहिलेसम्म ४८ जना आमाहरूलाई प्रोत्साहन भत्ता दिएको छ ।

स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा १ हजार र चारपटक गर्भजाँच गराएमा थप ४ सयबाहेक गाउँपालिकाले दिएको थप १ हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्रनाथले बताए । आव २०७४÷७५ को साउनदेखि कात्तिकसम्ममा ४८ जना आमाहरूलाई सो रकम वितरण गरिसकेको उनले बताए ।

गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुसी भएका छन् । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए बापत गाउँपालिकाले प्रोत्साहन भत्ता दिँदा जन्मिएका बालबालिकालाई न्यानो लुगा कपडा किन्न सजिलो भएको दोगडाकेदार ६ का रुवसी बिकले बताइन् ।

 यो कार्यले आमाहरूलाई साहस प्राप्त हुने र घरमा छोरीमाथि हुने विभेदको अन्त्य पनि हुने गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । छोराछोरीमाथि भेदभाव अन्त्यका लागि गाउँपालिकाले पहल थालेको उनले बताइन् ।

विगतमा हेपाहाको दृष्टिले हेरिने महिलालाई हरेक क्षेत्रबाट सम्मान हुनुपर्ने भन्दै आफूहरूले छोरी जन्माए बापत भत्ता दिने निर्णय गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । उनले भने, ‘भु्रण हत्यादेखि जन्मेकै दिनदेखि महिलामाथि फरक व्यवहार गरिन्छ ती कुराहरू हटाउनका लागि हामीले भत्ता दिने निर्णय गरेका हौं ।