डा. केसीले अनसन तोडे, पाँच बुँदे सहमति

काठमाडौं, २९ पुस । गत सोमबारदेखि आमरण अनसन बसेका डा गोविन्द केसीले आज शनिबार अनसन तोडेका छन् । शुक्रबार राति पाँच बुँदे सहमति भएपछि उनी अनसन तोड्न सहमत भएका थिए ।

डा. केसीले त्रिवि शिक्षण अस्पताल परिसरमा जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । अनसन तोड्नुअघि केसीले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा केसीले सहमति कार्यान्वयन नभइन्जेल खबरदारी जारी नै रहने बताएका छन् ।

शुक्रबार रातिको वार्तामा चिकित्सा शिक्षा आयोग एक साताभित्र गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार आईओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने लगायत पाँचबुँदे सहमति भएको थियो ।

सर्वोच्च अदालतले आईओएमका डीनमा चार वर्षअघि बर्खास्त भएका प्रा डा शशि शर्मालाई चार दिनका लागि पुनर्बहाली गरेसँगै डा केसीले न्यायको किनबेच भएको भन्दै अनसन थालेका थिए । यसमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसमेत थियो ।

डा केसीले फैसलाविपरीत अभिव्यक्ति दिएर अदालतको अवलेहलना गरेको भन्दै सर्वोच्चको आदेशमा उनलाई अनसन थालेकै राति पक्राउ गरेर भोलिपल्ट अदालत उपस्थित गराइएको थियो ।