डेढ लाख खर्च गरेको एक महिना नपुग्दै बिग्रियो एक्सरे

ओपेन्द्र बस्नेत / तुलसीपुर

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा रहेको एक्सरे मेसिन पटकपटक बिग्रिने गरेका कारण बिरामीले हैरानी खेप्नु परेको छ । बिग्रेको मेसीन मर्मत गरेको एक महिना नपुग्दै पुनः बिग्रिएपछि सेवा लिन आउने बिरामीहरू बाहिर जान बाध्य छन् । एक्सरे मेसिन बिग्रिएको महिनौ दिनपछि गत मंसिर २१ गते डेढ लाख रूपैयाँ खर्च गरेर मर्मतपछि सुचारु भएको थियो ।

मंसिर २१ गते मर्मतपछि सुचारु भएको एक्सरे पुस २२ गतेदेखि सञ्चालनमा आएको छैन । एक्सरे बिग्रिएपछि उपचारका लागि पुगेका बिरामीहरू निजी क्लिनिकमा चर्को शुल्क तिरेर एक्सरे गर्न बाध्य छन् ।

अञ्चल अस्पतालमा ३५० देखि ४ सय रूपैयाँ शुल्क लाग्ने डिजिटल एक्सरेलाई बाहिर निजी क्लिनिकमा ४ सयदेखि साढे पाँच सय रूपैयाँसम्म शुल्क लिने गरेको स्वयं अस्पतालका स्वास्थ्य कर्मीले बताउनेगरेका छन् । अस्पतालमा उपचार गराउन आएका बिरामीहरू बाहिरबाट एक्सरे बनाएर आउँदासम्म डाक्टर निस्किने भएकाले झनै समस्यामा भोग्नु परेको बिरामी दलजित नेपालीले बताए ।

 अस्पतालमा दैनिक एक्सरेका लागि २५÷३० जना बिरामी आउने गरेको अस्पतालले बताएको छ । यस विषयमा जानकारी लिन खोज्दा अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले एक्सरे बिग्रिएको आफूलाई थाहा नभएको बताए । केही दिनदेखि आफू घरमै भएको एक्सरे मेसिन बिग्रिएको थाहा नभएको बताए ।

यता अस्पतालका सुपरिटेन्डेन्ट डा. विनोद सिंहले विद्युत् भोल्टेजका कारण एक्सरे बिग्रिने गरेको बताए । ‘विद्युत् भोल्टेज कहिले हाई हुने र कहिले लो हुने भएका कारण मेसिनमा खराबी आउने गरेको उनले दाबी गरे । ‘तपाईंहरूले खालि हामीलाई मात्रै खेद्न जान्नुभएको छ,– डा. सिहंले भने’– ‘विद्युत्लाई कहिल्यै केही भन्न सक्नुभएन जसका कारणले समस्या आउने ग¥या छ ।’ अबको एक साताभित्र धनगढीबाट प्राविधिक बोलाएर मेसिन सञ्चालनमा ल्याउने उनले बताए ।