३८ वर्षपछि शहीद परिवारमा खुसियाली

रबिन कटेल / धनकुटा

पञ्चायती व्यवस्थाविरुद्ध लडेर ज्यान गुमाएका अभिभावकलाई चार दशक बित्न लाग्दासमेत राज्यले शहीद घोषणा नगर्दा निराश बनेका छिन्ताङका शहीद पुत्र बलराम राई शुक्रबार खुसीले भक्कानिए । आफ्ना बाबु पुत्रमानसहित छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई ३८ वर्षपछि सरकारले शहीद घोषणा गरेको खबर सुनेपछि राईमा खुसीको सीमा नै रहेन ।

‘यो खबर सुन्दा खुसीले मन थाम्नै सकिनँ,’ भक्कानिँदै राईले भने, ‘अभिभावकको बलिदानीलाई राज्यले बल्ल मूल्यांकन गरेकाले धेरै खुसी छु ।’ वर्षौं अघिदेखि शहीद घोषणा गर्ने नेताको आश्वासन मात्रले दिक्क भइसकेका राईलाई शहीद घोषणाको खबर सुरुमा पत्याउनै गाह्रो भयो ।

यता शहीद गोपाल आनन्दका छोरा योगेन्द्र राईले पनि शहीद घोषणाको खबर सुनेपछि खुसी व्यक्त गरे । ढिलै भए पनि शहीद घोषणाको खबरले गाउँमा खुसियाली छाएको उनले बताए । ‘पहिले नै शहीद घोषणा गरिनुपर्ने हो,’ शहीद पुत्र राईले भने, ‘ढिलै भए पनि शहीदको सम्मान भयो, हामी धेरै खुसी छौं ।’

शहीद परिवार मात्र हैन, शहीद घोषणाको खबरले खाल्सा क्षेत्रमै धेरैपछि खुसियाली छाएको छ । शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पनि राज्यले ढिलै भए पनि शहीदलाई सम्मान गरेकाले खुसी लागेको प्रतिक्रिया दिए । चार दशक बित्न लाग्दासमेत राज्यले शहीद घोषणा नगर्दा निराशा छाएको खाल्सा क्षेत्रमा अहिले सबैमा खुसियाली छाएको उनले बताए ।

देश र जनताका लागि लड्दा ज्यान गुमाएको भए पनि राज्यले बेवास्ता गर्दा शहीद परिवारमा निराशा छाएको थियो । शहीद घोषणाको खबरसँगै घरघरमा दीपावली गरिएको शहीद परिवार संरक्षण समिति अध्यक्षसमेत रहेका शहीद पुत्र बलरामले जानकारी दिए । उनका अनुसार शहीदको सालिकमा पनि माल्यार्पणलगायत कार्यक्रम गर्ने तयारी गरिएको छ ।

२०३६ सालमा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउँदा छिन्ताङ, खोकु र आँखिसल्लाका १६ जनालाई राज्यपक्षबाट निर्ममतापूर्वक हत्या गरिँदा खाल्सा क्षेत्र नै शोकमा थियो । २०३६ सालमा छिन्ताङ घटना हुँदा मुलुकमा प्रधानमन्त्री थिए स्व. सूर्यबहादुर थापा । छिन्ताङ काण्ड तत्कालीन प्रधानमन्त्रीको निर्देशनमा भएको भन्नेहरू धेरै छन् । तर अहिले तिनलाई शहीद घोषणा गर्दा उनै थापाका छोरा सुनीलबहादुर थापा उद्योगमन्त्री छन् ।

उक्त घटनामा गोपाल आनन्द राई, श्रीमाया राई, भैरवबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर बिक, टंकबहादुर बिक, बलबहादुर खत्री, केशरमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाई, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगाबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द्र राईलाई हत्या गरिएको थियो ।

हत्या गरिएका १६ जनालाई नै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शहीद घोषणा गरेपछि घाउमा मलम लागेको अुनभूति भएको शहीद परिवारले जनाएका छन् । शहीद घोषणाका लागि वर्षौंअघिदेखि विभिन्न राजनीतिक दलका नेताले आश्वासन दिँदै आएका थिए । शहीद घोषणा भएसँगै जीविकोपार्जनको व्यवस्थापनका लागि पनि पहल गर्न शहीद परिवारले माग गरेका छन् ।