‘उद्योगको व्यावसायिक विकास हुनुपर्छ’

काठमाडौं / रासस– वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले नेपालको आर्थिक विकासका लागि उद्योगधन्दाको एकीकृत तथा व्यावसायिक विकास हुनुपर्नेमा जोड दिएका छन् । साना तथा मझौला व्यवसायी महासंघको १४औं राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री विश्वकर्माले देशमा साना तथा मझौला उद्योगको विकासको प्रचुर सम्भावना रहेको र त्यसलाई अवसरमा बदल्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले हाल नेपालको एक आर्थिक वर्षबराबर बजेट घाटा रहेको जानकारी दिँदै त्यसलाई न्यूनीकरण गर्न सरकारले निर्यातजन्य वस्तुको पहिचान गर्ने तथा विश्व बजारको खोजीमा सरकारले ध्यान दिने बताए । उनले देशमा हालसम्म कामको विशिष्टीकरण हुन नसकिरहेको स्विकार्दै नेपालमा उत्पादित वस्तु व्यक्तिपरक भएकाले निर्यात गर्ने अवस्थामा नरहेको बताए ।

सरकारले व्यवसायीलाई नियन्त्रण गर्ने नभई व्यवस्थापकको काम गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै मन्त्री विश्वकर्माले उद्यमी तथा व्यवसायीलाई पहिचान गर्ने प्रमाणपत्र दिने नीतिलाई आजको मन्त्री परिषद्को बैठकले पारित गरेको तथा पश्मिनामा आत्मनिर्भर बनाउन विभिन्न २० वटा जिल्लामा २ लाख भेडा च्यांग्राका लागि व्यवसायीलाई अनुदान दिने नीति लिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भरत आचार्यले व्यवसायको विकास नभईकन देशको विकास नहुने भएकाले व्यवसायको विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले परिवर्तित परिस्थितिमा देशमा शान्ति, सुरक्षा र स्थिरता भएमा मात्र विकासको ढोका खुल्ने प्रस्ट पारे ।