नेपाल डेरी एसोसिएसनको साधारण सभा , ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन माग

राजधानी समाचारदाता / काठमाडौं

‘दुग्ध क्षेत्रको उन्नति राष्ट्रको समुन्नति’ भन्ने मूल नाराका साथ नेपाल डेरी एसोसिएसनको १९औं साधारण सभा सम्पन्न भएको छ । एसोसिएनको १९औं वार्षिक साधारण सभा तथा सातौं राष्ट्रिय महाधिवेशनको समुद्घाटन समारोह शुक्रबार राजधानीमा सम्पन्न भएको हो ।

साधारण सभा तथा महाधिवेशन समुद्घाटन समारोहका अवसरमा आयोजित कार्यक्रममा एसोसिएसनले दूध उत्पादक किसानलाई ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरेको छ । एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारले दुग्ध किसानलाई ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने नीति अघि सारेको तर कार्यान्वयनमा ल्याउन नसकेको भन्दै सो नीति कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरे ।

नेपालमा उत्पादन हुने दूधले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान पु¥याएको भन्दै महासचिव दाहालले यस क्षेत्रमा आकर्षित किसानलाई सरकारले उचित अनुदानको व्यवस्था गर्नुपर्ने बताए । ‘मुलुकको कुल गार्हस्थ्य उतपादन (जीडीपी)को ९ प्रतिशत हिस्सा दूधले ओगटेको छ,’ उनले भने, ‘सरकारले ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने कुरा गरे पनि कार्यान्वयनमा ल्याउन नसकेकाले सो कार्यान्वयनमा ल्याउन म सरकारसँग माग गर्दछु ।’

त्यस्तै, एसोसिएसनका अध्यक्ष सुमित केडियाले दुग्ध क्षेत्रले मुलुकका कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान पु¥याएको भन्दै सरकारले यसलाई बेवास्ता गर्न नमिल्ने बताए । अध्यक्ष केडियाले दुग्ध क्षेत्रले मुलुकको व्यापार घाटा कम गर्नमा योगदान पु¥याएको समेत बताए । उनले चालू आर्थिक वर्षको चार महिनामा मुलुकको व्यापार घाटा ३ खर्ब नाघिसकेको भन्दै राष्ट्रका लागि त्यो सूचाकांक राम्रो नभएको दाबी गरे । चार महिनामै ३ खर्ब व्यापार घाटा भए पनि त्यसलाई केही दहसम्म कम गर्न दुग्ध क्षेत्रले सहयोग गरेको उनको भनाइ थियो ।

त्यसैगरी, उनले गत भदौदेखि सरकारले बिनाआधार दूधको मूल्य वृद्धि गर्दा डेरी उद्योगले प्रतिलिटर दुई रुपैयाँ १४ पैसा नोक्सान बेहोरिरहेको दाबी गरे । उनले नेपालमा उत्पादन हुने कच्चा दूधको गुणस्तर सुधार्न सरकारले पहल गर्नुपर्ने भन्दै दुग्ध क्षेत्रको अध्ययनका लागि एउटा इन्स्टिच्युट स्थापना गर्नुपर्ने बताए । १५ अर्ब रुपैयाँ लगानी रहेको क्षेत्रमा अहिलेसम्म एउटा रिसर्च इन्स्टिच्युट नभएकाले त्यसका लागि सरकारले एउटा रिसर्च इन्स्टिच्युटको स्थापना गर्नुपर्ने बताए । ‘१५ अर्ब लगानी रहेको क्षेत्रमा दूधसम्बन्धी अध्ययनका लागि एउटा रिसर्च इन्स्टिच्युट छैन,’ उनले भने, ‘यससम्बन्धी रिसर्चका लागि उउटा इन्स्टिच्युटको स्थापना गर्न जरुरी रहेको छ ।’

त्यस्तै, कार्यक्रममा दुग्ध सहकारी संघका पूर्व अध्यक्ष माधव कोइरालाले डेरी उद्योग र किसानबीच सहकार्य हुन नसकेको गुनासो गर्दै दुवै निकायले आवश्यक सहकार्य गर्नुपर्ने र एक अर्काका समस्या बुझ्नु पर्नेमा जोड दिए । विगत लामो समयदेखि आफू दुग्ध क्षेत्रमा काम गरेकाले आफूले देखेको र भोगेको मुख्य समस्या नै आपसमा समन्वय हुन नसक्नु भएकाले त्यसका लागि किसान र डेरी उद्योगीले एक अर्काका समस्या बुझ्नुपर्ने उनको भनाइ थियो ।

साधारण सभाका अवसरमा आयोजित समारोहमा विभिन्न डेरीका सञ्चालकहरू सम्मानित भएका थिए । सीताराम डेरीका सञ्चालक तथा डेरी एसोसिएसनका अध्यक्ष सुमित केडिया, हेटौंडामा रहेको गोकुल दूध उद्योगका सञ्चालक तथा काभ्रेमा रहेको उज्ज्वल डेरीका सञ्चालक कार्यक्रममा सम्मानित भएका थिए । एसोसिएसनको सातौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज (शनिबार) देखि सुरु हुने एसोसिएसनले जानकारी दिएको छ ।