इनर्जी इन्जिनियरिङको साधारण सभा सम्पन्न

काठमाडौं  / रास– इनर्जी इन्जिनियरिङ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीलाई प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत गरिएपछि पहिलोपटक शुक्रबार साधारण सभा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष कुशकुमार जोशीले सभाको उद्घाटन गरेका हुन् ।

कम्पनीका प्रबन्ध सञ्चालक जितमान शेर्पाले उपस्थित सबैमा स्वागत गर्दै कम्पनीले प्राप्त गरेको उद्देश्यमाथि प्रकाश पारे । सभामा अध्यक्षको प्रतिवेदनलगायतका एजेन्डाहरू सर्वसम्मतिबाट पारित गरिनुका साथै आगामी चार वर्षका लागि सञ्चालक समितिको निर्वाचनसमेत शुक्रबार नै सम्पन्न भएको छ । नव निर्वाचित सञ्चालक समितिमा साबिककै अध्यक्ष कुशकुमार जोशी, प्रबन्ध निर्देशक जितमान शेर्पा, निर्देशकहरू सुशील थापा, ङवाहाङ शेर्पा र नरेश बज्राचार्य रहेका छन् ।

सो साधारण सभाले उनीहरूको कार्यप्रति पूर्णरूपमा सन्तुष्ट भई पुनः नियुक्तिका लागि सहमति जनाएको छ । इनर्जी इन्जिनियरिङ लिमिटेडले रसुवा तथा धादिङ जिल्लास्थित माथिल्लो मैलुङ ए जलविद्युत् आयोजना (६ दशमलव ४२ मेगावाट क्षमता) निर्माण गर्दै आएको जानकारी दिएको छ । आयोजना ३ हजार ३ सय ७० मिटर उच्च भौगोलिक स्थानमा रहेकोले उच्च हिमपातजस्ता अवरोधका साथै विगतमा गएको विनाशकारी भूकम्पले आयोजनाको कार्य प्रभावित हुँदै आएको जनाएको छ । विभिन्न समस्याहरू झेल्दै कार्यलाई तीव्रता दिएर असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।