नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक सुरु

राजधानी समाचारदाता / काठमाडौं

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक शुक्रबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । अब विश्वसँग जोडिने नेपालको सूचना महामार्ग भारत र चीन दुवैतिरबाट सम्भव भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले फाइबर लिंकको औपचारिक शुभारम्भ गरे ।

सो अवसरमा मन्त्री बस्नेतले देशव्यापी रूपमा इन्टरनेट पूर्वाधार निर्माणका लागि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक एक कोसे ढुंगा भएको बताउँदै चीन र नेपालबीच सरकारी, संस्थागत र जनस्तरमा भइरहेको सहयोगलाई अझै बढाउन यसले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मन्त्री बस्नेतले लिंक निर्माण गर्ने दुई देशको निकै लामो समय पहिलेको योजना भए पनि भूकम्प र अन्य विभिन्न प्राकृतिक प्रकोपका कारण ढिलाइ भएको स्मरण गर्दै मुख्य प्राथमिकतामा रहेको काठमाडौं–केरुङ रुट सञ्चालनमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष केदारबहादुर अधिकारीले आर्थिक वृद्धि र देशको समग्र विकासका लागि दूरसञ्चार पूर्वाधारले महŒवपूर्ण भूमिका खेल्ने भएकाले सो लिंक नेपालका लागि महŒवपूर्ण भएको बताए ।

त्यसक्रममा नेपालका लागि चीनका राजदूत यु होङले नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार राष्ट्र भएको स्मरण गर्दैै सो लिंकले इन्टरनेट उपलब्धताका लागि छोटो रुट उपलब्ध गराएको मात्र नभई दुई देशबीचको व्यावसायिक सम्भावनालाई अझै नजिक ल्याएको बताए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकमले विगत एक सय वर्ष यता ग्राहकको चाहनाअनुसारका विभिन्न सेवा उपलब्ध गराउँदै आएको बताउँदै हाल वायरलेसतर्फ फोरजी तथा वायरलाइनतर्फ फिक्स ब्रोडब्यान्डको विस्तारसँगसँगै सो रुटमार्फत हुने थप अन्तर्राष्ट्रिय आबद्धताले अहं भूमिका निर्वाह गर्ने बताइन् । उनले सो लिंकमार्फत कम्पनीका सेवाहरूको उपलब्धता र विश्वसनियतामा अझै अभिवृद्धि हुने अपेक्षा व्यक्त गरिन् ।

चाइना टेलिकम ग्लोबलका मुख्य प्रतिनिधि वाङ योङलिनले फाइबर लिंकले केबुलमार्फत नेपाललाई चीन र हङकङ हुँदै युरोप, मध्य एसिया, उत्तर पूर्वी एसिया र अमेरिका सम्म जोड्ने बताए । सो केबुलले भारत र चीनलाई समेत जोड्ने र दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउने तथा नेपाली कम्पनीहरूको बजार विस्तारमा सहयोग पु¥याउने बताए । सो अवसरमा ब्याकबोन ट्रान्समिसन निर्देशनालयका प्रबन्धक संगीता पहाडीले क्रसबोर्डर अप्टिकल फाइबर लिंकबारे प्रस्तुतीकरण गरिन् । इन्टरनेट सेवाको भरपर्दो सञ्चालनको लागि प्राविधिक तथा व्यावहारिक रूपमा एकभन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआबद्धता हुनुपर्ने आवश्यकताको बोध भई सन् २००३ देखि नै पहल भएको हो ।

सन् २००३ को डिसेम्बर ३ मा तत्कालीन सरकार र चिनियाँ सरकारबीच भएको आर्थिक तथा प्राविधिक सम्झौताबमोजिम अरनिको राजमार्गअन्तर्गत काठमाडौंदेखि खासा झाम्सुङसम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य २००८ अगस्टमा सम्पन्न भएको थियो । नेपाल टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेसन कर्पोरेसनबीच झाङमु र तातोपानीबीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्ने सम्बन्धी समझदारीपत्रमा सन् २०११ डिसेम्बर २६ मा हस्ताक्षर भएको थियो ।

यस्तै सन् २०१३ डिसेम्बर २३ मा वैकल्पिक रुटका रूपमा नेपाल– चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन सिस्टम निर्माण र मर्मतसम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सन् २०१५ को अप्रिल २५ मा आएको भूकम्पका कारण काठमाडौं–तातोपानी रुट क्षतिग्रस्त भयोे । त्यसपछि काठमाडौं–रसुवागढी रुटका लागि आवश्यक एडीएसएस लिंक निर्माणसम्बन्धी कार्य अघि बढेको थियो । सन् २०१६ को डिसेम्बर ६ मा यससम्बन्धी व्यावसायिक सम्झौता हङकङमा सम्पन्न भएको थियो । तत्पश्चात् सम्पूर्ण तयारीपछि परीक्षण कार्य गरेर आज सन् २०१८ जनवरी १२ देखि सो अप्टिकल फाइबर लिंक औपचारिक रूपमै व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।