संस्कारयुक्त राजनेता

संस्कारयुक्त राजनेता

पराशर रिजाल

 

अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैलाई एउटै पार्टी बनाउन गृहकार्य भइरहेको छ । यतिबेला नयाँ एकीकृत पार्टीमा आफ्नो हैसियत कस्तो के हुने हो भन्ने कुराले दुवैतर्फका धेरै नेता कार्यकर्तालाई पिरोलिरहेको छ । यो स्वाभाविकै पनि हो । यो समायोजनले बाहिर पो पार्छ कि भन्ने चिन्ता हुनुलाई अन्यथा मान्नु हुँदैन । तर राजनीतिमै केस फुलाएका, जीवन समर्पित गर्न चाहने र योग्यतम देखिएका नेताहरूले समेत उनीहरूको स्थान कहाँ हुन्छ, के हुन्छ, बरू एकीकृत नभइदिए हुन्थ्यो भन्ने आशयले अन्ठसन्ठ कुरा गरेको देख्दा अलि अनौठो लाग्छ । एकीकृत पार्टीको कार्यकर्ता हुँदा पनि सानो पार्टीको केन्द्रिय कमिटी सदस्यभन्दा ठूलो सान शौकात भइहाल्छ भनेर कतिपय नेता भने निस्फिक्री देखिन्छ । तर जनताको तहमा को माथि को तल पर्छन् भन्ने कुराप्रति खासै चासो देखिँदैन । बरू उनीहरूको एउटा चिन्ताचाहिँ अबको प्रधानमन्त्री केपी ओली हुन्छन् कि हुँदैनन् । अनि वाम गठबन्धनले घोषणापत्रमा उल्लेख गरेअनुसार पार्टी एकीकृत गरी राम्रो शासन सन्चालन हुन्छ कि हुँदैन भन्ने कुरामा देखिन्छ । प्रचण्डले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा नपाए अरूसँगै गठबन्धन गर्न सक्छन्, उनको भरै हुँदैन भन्ने पनि कतिपयमा आशंका रहेको देखिन्छ । त्यति ठूलो बलिदानी गरेर आएका प्रचण्डप्रति जनतामा यति धेरै शंका हुनु भनेको कति पनि राम्रो कुरा होइन । यसको जवाफ अब उनको परिपक्व व्यवहारले मात्र दिन सक्छ ।

जनता भोक र जाडोले कठ्याग्रिएर मर्दै गरेको बेला चाँडै कम्युनिस्टहरूले शासनसत्ता सम्हालेर अब कोही पनि जाडो गर्मीमा भोक वा उपचार नपाएर अकालमा मर्नुपर्दैन भनेर जनतालाई आस्वस्त गराउन सक्नुपर्छ । तर नेता आफैं कहाँ समायोजित हुने भन्ने पिरलोमा पर्ने हो भने योभन्दा विडम्बनापूर्ण कुरा केही हुन सक्दैन । धैर्यतासाथ त्याग र योग्यता देखाउँदै एमालेभित्रको विशाल पार्टी पंक्तिलाई विश्वास दिलाउने काम प्रचण्डले अबका दिनमा गर्न सक्नुपर्छ त्यसले मात्र पार्टीमा उनको हैसियत जरैबाट मजबुत बन्ने सम्भावना हुन्छ । उनले अहिले नै पार्टी अध्यक्षकै पदको चाहना राखेमा त्यो दीगो हुने छैन र पार्टीभित्रै शक्तिसंघर्षको भूमरीमा पर्न सक्छन् । यसले दीर्घकालीनरूपमा पार्टीलाई भावनात्मकरूपमा एक बनाउने कुरामा समेत नकारात्मक असर पर्छ र बीचैमा भताभुंग भई पार्टी एकताका लागि गरेका अहिलेसम्मका सम्पूर्ण प्रयत्नहरू निरर्थक हुने खतरा हुन्छ । प्रचण्डले अहिले सबैलाई रिझाउँदै गए भोलिका दिनमा उनको लागि अध्यक्ष पद सहज हुन सक्छ । त्यसका लागि उनले कमसेकम आगामी महाधिवेशनसम्मको परीक्षणकाल पार गर्नै पर्छ । जोसुकैको कारणले यो पार्टी एकताको काम सम्भव भएन भने कम्युनिस्टको कथनी र करनीमाथिसमेत जनताले प्रश्न उठाउने छन् र राष्ट्रलाई पनि ठूलो धोका हुनेछ । जनता पूर्व प्रतिबद्धताअनुसार कम्युनिस्टहरू जतिसक्दो चाँडै एकीकृत हुनुपर्छ र दिएका आश्वासनअनुसार काम हुनुपर्छ भन्ने चाहन्छन् ।

चियामा चिनीको स्थान, तरकारीमा नुनको स्थान अनि राजनीतिमा गुणको स्थान घटिबढि छैन भन्दा हुन्छ । खल्लो चिया, अलिनो तरकारी र मूल्यहीन राजनीति करबलले बाहेक खाने र भोग्नेलाई पनि सहजरूपमा रुचीकर हुँदैनन् । मूल्यको राजनीति गर्ने व्यक्तिलाई जनताले आफ्नो हृदयको उच्च आशनमा सम्मानपूर्वक युगौंयुग सजाएर राखेका हुन्छन् र उनीहरूको सम्झनामा आफूलाई घण्टौं बिर्सन सक्छन् । कतिपय व्यक्ति युगौं बित्दा पनि जहिल्यै उत्तिकै ताजा र सम्मानकासाथ हेरिनुमा यही कुराले काम गरेको छ भन्दा फरक पर्दैन । अनि त्यसरी नै कतिपय व्यक्तिहरू सम्झँदै पनि घिन लाग्ने हुन्छ । यस्ता व्यक्तिहरू सत्ता र शक्तिमा रहँदा जल्दाबल्दा बाघजस्तो देखिए पनि त्यहाँबाट ओर्लनासाथ लुते कुकुरजस्तो पुच्छर लुकाउने हुन्छ । उनीहरूलाई जनताले सामुन्नेमा पर्दा मात्र मन नपरी नपरी हात जोडिहाले पनि पछाडी पर्नासाथ धारेहात लगाउने हुन्छ । तर कहिलेकाँही असल नेताहरू पनि छट्टुहरूको यस्ता आवरणीय रंंगिन झेलनीतिलाई राजनीतिको सच्चा मूलनीति भन्ने ठानेर भ्रममा पर्ने गर्छन् , आफ्नो निष्ठापुर्ण मुल्यको राजनीतिलाई भुलनीति वा लठुवानीति हो भन्ने निस्कर्ष निकाल्दै असल बाटो परित्याग गरी जानी नजानी बाटो बिराएर धर्खराउने गरेको देखिन्छ । त्यतिबेला छट्टुहरू निस्कण्टक उच्च आशनमा पुग्छन् र असल मानिसहरू कुण्ठित भएर, भड्किएर भुईंमा अपमानित ढंगले थेचारिन पुग्छन् । वास्तवमा राजनीति भनेको मूल्यसहितको अविच्छिन्न यात्रा अभियान हो, थकित नहुने मात्र सहजरूपमा शिखरमा पुग्छन् ।

देवता मन्दिरमा रहन्छन् र पुजिन्छन् बाटो बिराएर रछ्यानमा पुगे भने के हुन्छ हामी सबैलाई थाहा छ । राजनीति, राज्यको शक्ति र पदको उच्च आशनमा पुगेका व्यक्तिहरूले जहिल्यै यो कुरालाई ख्यालमा राख्नुपर्छ । मर्यादामा चल्न जान्नुपर्छ र अरूलाई मर्यादित बाटोबाट हिँड्न प्रेरित गर्नुपर्छ । तर विडम्बना भन्नुपर्छै अझै नेपालमा विधि, थिति र मर्यादाबाट हिँड्ने, हिँडाउने काम असाध्यै गाह्रो भइरहेको छ । २०५२ देखि नै विधिको बाटो बिराएको नेपालले त्यसपछि पनि विधि निर्माण र कार्यान्वयनमा विभिन्न किसिमका अभ्याससँगै अनगिन्ति वर्षहरू बिताइसकेको छ । जनताबीच प्रतिस्पर्धा र सहकार्यका अनेकौं किसिमका अभ्यास गरिसकेको छ । तर अझै यो कार्य यस कारण पनि बढि अप्ठ्यारो भइरहेको छ कि राज्यको कार्यकारी ओहदामा रहेका प्रधानमन्त्री, निर्वाचन आयोगमा रहेका प्रमुख आयुक्त र सम्मानित सर्वाेच्च अदालतका प्रधानन्यायाधीशजस्ता सम्मानित पदमा आशिन व्यक्तित्व नै राज्य शक्तिको प्रयोगमा विवादमा मुछिइरहेका छन् । एकजना जनताको निर्णय, निर्वाचनको फैसला नै अड्काउने; अर्काे यही आडमा प्रधानमन्त्री पद पड्काउने र अर्काे सम्मानित न्यायालयलाई आफ्नो कब्जामा लिएर फाइदा लिने परस्पर सहयोग गरेर आफू सुरक्षित रहने काम भइरहेको छ ।

नेपालको राजनीति र शासन व्यवस्थामा मूल्य कायम गराउने कुरा अहिले फलामको चिउरा चपाउनु जत्तिकै जटिल भइरहेको छ । यसमा झेलीहरूको झेलखेलले राज्यको संरचनाको नट बल्ट खुकुल्याउने, शासन व्यवस्था र राजनीतिलाई धमिल्याउने र भोलि पनि फटाहाहरूकै हालीमुहाली कायम गराउन सजिलो बनाइराख्ने नियत देखिँदैछ

यी ओहदाका व्यक्तिहरू नै कानुनको अपव्याख्या र दुरुपयोगबाट शक्ति र सत्ता अँठ्याएर देशको अग्रगमनलाई रोकिरहेका छन् । त्यसरी नै अर्काेतर्फ व्यक्तिवादी, हठबादी प्रबृत्तिले आमरण अनशन (आफैं मर्ने आतंक) मच्चाई कानुन, नीति नियमलाई आफ्नो बलजफ्तीमा मोड्ने प्रयत्न भइरहेको छ भने अर्कातर्फ बम बन्दुक पड्काएर आतंक मच्चाई कानुन आफ्ना हातमा लिन सत्ता कब्जा गर्न खोज्ने प्रवृत्तिले पनि विधिको बर्खिलाप गरिरहेको छ । अति सर्वत्र र सधैं त्याग्न योग्य हुन्छ । यी दुवै प्रवृत्ति विधिको शासनलाई चुनौती दिने कुराहरू हुन् । यस्ता सबै किसिमका अतिवादलाई एउटा निश्चित विधि र शान्तिको बाटो हिँडाउन सक्ने, नियन्त्रण गर्न सक्ने जनप्रतिनिधिमूलक संस्था संसद हो तर त्यसलाई विभिन्न निहुँ गरेर खडा हुनै दिइरहिएको छैन । मुलुकमा कानुन बनाउन सक्ने, कार्यकारी प्रधानमन्त्री, राष्ट्रपति उपराष्ट्रपति नियुक्त गर्न सक्ने राज्यका संवैधानिक अंगमा जिम्मेवार पदाधिकारी नियुक्ति र खारेज गर्न सक्ने कार्यकारीणी, न्यायपालिका र सम्पूर्ण संवैधानिक अंगलाई प्रत्यक्ष अप्रत्यक्ष उचित नियन्त्रण र सन्तुलनमा हिँडाउन सक्ने अधिकार बोकेको संसदलाई खडा हुन दिइएको छैन । त्यसैले नेपालको राजनीति र शासन व्यवस्थामा मूल्य कायम गराउने कुरा अहिले फलामको चिउरा चपाउनु जत्तिकै जटिल भइरहेको छ । यसमा झेलीहरूको झेलखेलले राज्यको संरचनाको नट बल्ट खुकुल्याउने, शासन व्यवस्था र राजनीतिलाई धमिल्याउने र भोलि पनि फटाहाहरूकै हालीमुहाली कायम गराउन सजिलो बनाइराख्ने नियत देखिँदैछ ।

नेपालीहरू अब मेहनती र सिपालु हुुनुपर्छ । हामीसँग उपलब्ध अहिलेका राज्य संरचना, राजनीतिक व्यवस्था र संविधान कम्प्युटरको एउटा भाँडो जा कुनै गाडीजस्तै मात्र हो । यसलाई कसरी चलाउने र कस्ता कस्ता प्रोग्रामिङ गर्ने, कस्ताकस्ता काममा प्रयोग गर्ने कताकता जाने भन्ने कुरा हाम्रो उद्देश्य निर्धारण र प्राविधिक ज्ञानमा निर्भर हुन्छ । संघीयता हामी कसैले नबुझेको नयाँ व्यवस्था हो । नेताहरूले नस्वीकारे पनि बहुदलीय व्यवस्था संचालनमा समेत हामी सिपालु नभएको कारण अहिलेको यो अवस्थामा आइपुगेका हौं भन्ने कुरा प्रस्ट छ । हामी कति छिटो सिक्छौं कति सावधानीका साथ यसको सचालन गर्छाैं त्यति नै माथिमाथि पुग्छौं र नयाँनयाँ उपलब्धी हुन्छ, दुर्घटनाबाट बच्न सक्छौं । त्यसैले अब नेपाल लहडिनु, बहकिनु हुँदैन । कस्तै आँधिबेहरीमा पनि नहल्लिने गरी आफूलाई सतिसाल जस्तै खडा राख्ने क्षमतामा उभिन सक्नुपर्छ । यसका लागि लामो समयदेखि भत्काइएका राज्यका सम्पूर्ण संरचनाहरू नयाँ ढाँचाअनुसार बलियो गरि उभ्याइनुपर्छ । राज्यको संचालन योग्यतासाथ, कानुनसम्मत, पारदर्शि र जनताको सेवामा समर्पित हुनुपर्छ । राजनीतिक दलहरू लोकतान्त्रिक विधि र शैलीअनुसार चल्नुपर्छ । उनीहरूको संगठनात्मक ढाँचाभित्र नअटाउने ढंगले कोही पनि पाखा पारिनु हुँदैन । सबै जाति, धर्म, क्षेत्र, लिंग र वर्णका मानिस अटाउन, सशक्तिकरण गर्न र रमाउन सक्नुपर्छ । प्रत्येक दलहरूले एउटा आदर्श र मूल्यलाई बोक्न सक्नुपर्छ र त्यसको प्राप्तिका लागि जनतालाई प्रशिक्षित गर्न, उनीहरूलाई सुसंस्कृत ढंगले हिँडाउन सक्नुपर्छ ।
सबैका विचार, भावना र इच्छा पार्टीभित्र प्रतिविम्बित गराउन सक्नुपर्छ । सत्ता पक्ष र प्रतिपक्षको बिजिनेस र भूमिका स्पष्ट हुनुपर्छ । सिर्जनात्मक प्रतिपक्ष र सकारात्मक सत्तापक्षले मात्र देशलाई राम्रो अवस्थातर्फ लैजान सक्छ । सत्तापक्षले प्रतिपक्षलाई आफ्नो कमजोरी औंल्याइ दिने सहयोगीको भूमिकामा साथै लिएर जान सक्नुपर्छ । प्रतिपक्षले पनि सिर्जनात्मक आलोचना गर्ने र उसका राम्रा कुराबाट सिक्दै आगामी नेतृत्वका लागि आफूलाई तयारी गराउन सक्नुपर्छ । पक्ष र प्रतिपक्षको नाममा एउटाले बनाउने र अर्काले भत्काउने वा एकले अर्काको खेदो खन्ने खेलले देशलाई अगाडि लैजान सक्दैन र देश भत्काउन खोज्ने तत्वले त्यहीँनेर फेसो ठोक्ने रहेछन् भन्ने कुरा विगतबाट सबैले पाठ सिकि सावधान रहन सक्नुपर्छ ।

नेपाल अहिले नयाँ मोड लिने क्रममा छ र संक्रमणको अन्तिम विन्दुमा अड्किरहेको छ । अन्तरिक्षमा दुईवटा ग्रहबीचको आकर्षण केन्द्रमा रकेटहरू अल्झिएजस्तै एउटा सामान्य धक्कापछि यसले आफ्नो गन्तव्य आफैं समात्ने छ । राज्यले फोहोर रगत बग्ने र सफा रगत सञ्चालन गर्ने धमनीलाई सफा गर्दै जिधिसम्मत ढंगले सिंगो देशमा पक्षघात नहुने गरी शासन संचालन गरिनुपर्छ । यसका लागि सत्तापक्ष र विपक्षी सबै दलहरूले विधिलाई जुनसुकै मूल्यमा छोड्नु हुँदैन । विगत छ दशकदेखि कहिले दायाँ र कहिले बाँयाँ लर्खराउँदै एकपछि अर्काे अस्थिरता व्यहोर्दै अगाडि बढेको हाम्रो मुलुकले अब एउटा स्थायी राष्ट्रिय समृद्धिको सिधा बाटोबाट अगाडि बढ्नुपर्छ । नेपाललाई आफ्नो रणनीतिक दाउपेचभित्र लिस्टिङ गर्दै अँध्यारोमा तानाबाना बुन्नेहरू मनको लड्डु घिउसित खाइरहुन् । उनीहरूलाई निस्तै पार्दै अगाडि बढ्नुपर्छ । असल नियतले सहकार्य गर्ने वा कुनै भोजमा सहभागी हुने निमन्त्रणाको लिस्टमा हाम्रो नाम पर्छ भने र कार्यक्रममा हार्दिकतासाथ निमन्त्रणा हुन्छ भने त्यहाँ हाम्रो सहभागिता पनि हुनसक्छ र त्यसरी नै उनीहरू पनि हाम्रो लिस्टभित्र पर्न सक्छन् । तर दुरुपयोग गर्ने किसिमले हामी कसैको कठपुतलि हुनुहुँदैन । यहाँ अन्तर्राष्ट्रिय राजनीतिका खेलाडीले हाम्रो स्वाभिमानलाई चुनौती गर्दै यहाँको हाम्रो जीवन बलिदानीले गरेको राजनीतिक परिवर्तनमा कहिले चीनले जितेको र कहिले भारतले जितेको भनेर हेर्ने र बुझ्ने गरेका छन् । यो हामीप्रतिको ठूलो अपमान हो । यसलाई हामीले गम्भिर ढंगले हाम्रा सन्तुलित व्यवहारबाट दिनुपर्छ ताकि उनीहरूलाई थाहा होस् नेपालीहरू कति स्वाभिमान र सन्तुलित छन् भनेर । उनीहरूले हामीलाई जुनसुकै किसिमले हेरुन् वा बुझुन् उनीहरूको गल्तिलाई हामीले सच्याइदिनु जरुरी छैन ।