रोग प्रतिरोधी क्षमता नै कमजोर , ७ बालबालिकासहित १३ ले ज्यान गुमाए

वीरबहादुर गिरी / जाजरकोट

जाजरकोटको भाइरलप्रभावित क्षेत्रमा पुगेको सरकारी टोलीले जाजरकोटवासीसँग रोग प्रतिरोधी क्षमताको अभाव भएको निष्कर्ष निकालेको छ । प्रकोपप्रभावित क्षेत्र पुगेको सरकारी टोलीले जिल्लावासीसँग सामान्य रोगसँग लड्ने प्रतिरोधी क्षमता नरहेको निष्कर्ष निकालेको हो । प्रभावित क्षेत्रमा पुगेको स्वास्थ्य सचिव पुष्पा चौधरीसहितको सरकारी टोलीले जाजरकोटवासीसँग रोग प्रतिरोधी क्षमताको अभाव रहेको निष्कर्ष निकालेको हो ।

‘बेलाबेला जाजरकोटमा विभिन्न खालका प्रकोप देखापर्छन्, यी सबै हेर्दा जाजरकोटवासीसँग रोग प्रतिरोधी क्षमताको कमी देखिन्छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक राजेन्द्र पन्तले भने । उनले जुनीचाँदेमा अहिले देखापरेको भाइरल जाडोमा देखापर्ने सामान्य भाइरल इन्फ्लुएन्जा भएको बताउँदै रोग प्रतिरोधी क्षमता कमजोर भएकै कारण सर्वसाधारणको मृत्यु भएको जनाए ।

पश्चिमी क्षेत्रको जुनीचाँदे गाउँपालिकामा १२ पुसदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकीको प्रकोपबाट सात बालबालिका र अन्य ६ जनाको मृत्यु भइसकेको छ । दुई जनाको उपचारका क्रममा र ११ जनाको उपचार अभावमा मृत्यु भएको स्थानीय सञ्चारकर्मी रेशम खड्काले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन कृष्णबहादुर खत्रीले मृत्यु हुनेमा नाबालकदेखि वृद्धवृद्धासम्म रहेको बताए । उता, इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. भीम आचार्यले सामान्य मौसमी रुघाखोकी भए पनि दीर्घरोगी, प्रतिरोधी क्षमता कमजोर भएकालाई असर गरेको बताए ।

प्रभावित क्षेत्रमा हजार बढीको उपचार गरिएको छ । प्रकोपप्रभावित क्षेत्रमा सबै व्यवस्था मिलाइएको र उपचारको प्रबन्ध गरिएकाले प्रकोप नियन्त्रणमा आएको स्वास्थ्य सचिव चौधरीले बताइन् । उनले स्थिति नियन्त्रणमा रहेको भन्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताइन् ।भाइरल ज्वरोले थलिएकाहरूलाई उचित स्वास्थ्य उपचार र तातो वातावरणको व्यवस्था गर्न नसक्दा बिरामीको ज्यान गएको जुनीचाँदे गाउँपालिका–११ कोर्ताङका नरबहादुर बस्नेतले बताए ।विपन्न परिवारमा बिरामी परेकाहरूको तातो कपडाको व्यवस्थापन र उपचार अभावले ज्यान गएको बस्नेतको भनाइ छ ।
सो क्षेत्रमा भाइरलको प्रकोप सबैतिर फैलिए पनि गरिबीका कारण स्वास्थ्य उपचार र तातो वातावरणको व्यवस्था गर्न नसक्ने बिरामीले ज्यान नै गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रकोप नियन्त्रणका लागि गत शनिबारदेखि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा एक सातासम्म १ हजार ७ सयबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले राजधानीलाई बताए ।
सदरमुकामबाट दुई दिनको पैदल दूरीमा रहेको जुनीचाँदेमा गरिबी र भरपर्दो स्वास्थ्य सुविधाको अभावमा भाइरलले प्रकोपको रूप लिएको नागरिक समाजका अगुवा केशवजंग शाहले बताए ।