प्रदेशमा निर्वाचन अधिकृत कार्यालय

काठमाडौं / रास– आगामी २४ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रदेश १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, ४ को कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

यसअघि आयोगले उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । आयोगले हाल सोहीअनुसार उच्च अदालत भएको जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतसमेत नियुक्ति भइसकेका छन् । न्यायपरिषद्को सचिवालयबाट प्राप्त नामावलीबमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले गत २७ पुसदेखि नै लागू हुनेगरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहको प्रमुख उपप्रमुख गरी कुल २ हजार ५६ मतदाता छन् । स्थानीय तहका मतदाताअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख पर्छन् ।५९ सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट आठ जनाका दरले ५६ जना निर्वाचित हुने र तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कानुनी व्यवस्था छ । प्रदेशबाट निर्वाचित हुने आठ जना सदस्यमा तीन महिला, एक दलित र एक जना अपांगता भएको व्यक्ति वा अल्पसंख्यक अनिवार्य  रूपमा हुनुपर्नेछ ।