महाराष्ट्रमा डुंगा दुर्घटनामा ४ को मृत्यु

दाहनु / एजेन्सी– महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुंगा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्् ।
उनले बिहान भारवहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुंगा समुद्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए । प्रारम्भिक अनुसन्धानबाट डुंगाले भारवहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गरिरहेको अवस्थामा घटना भएको अनुमान लगाइए पनि घटनाबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको उनले बताए ।
अझै केही विद्यार्थी समुद्रमा फसेको आशंकामा उद्धार जारी रहेको सामुद्रिक सुरक्षा गार्डले बताएका छन् । दाहनु भारतीय र मुम्बई सहरबाट ११० किलोमिटरको दूरीमा अवस्थित छ । उद्धारका लागि दामनबाट हेलिकोप्टर तथा मुम्बईलगायतका क्षेत्रबाट तालिमप्राप्त समूहसहित डुंगालाई घटनास्थल वरपर तैनाथ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।