तलाउमा बस खस्दा आठ जनाको मृत्यु

नयाँ दिल्ली / एजेन्सी– भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । पुल तर्दै गर्दा शनिबार तलाउमा बस खस्दा अन्य १० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कर्नाटक राज्यको राजधानी बैंगलोर २ सय ५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो । दुर्घटनामा परेको सरकारी बसमा चालक र सहयोगीसहित ५० जना यात्रु रहेका थिए ।

तीव्र गतिमा रहेको बसको चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका मध्ये दुई जना महिला रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । बैंगलोरबाट धर्मास्तला जाँदै गर्दा बस दुर्घटना भएको हो । भारतमा चालकको लापर्बाही, खराब अवस्थाको सडक र सवारीसाधनका कारण ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ भने बर्षेनि हजारौंको मृत्यु हुने गरेको छ ।