भित्रीमधेसका बाढीपिडीतहरु जंगलमै आगो ताप्दै रात काट्दै

छत्र साउद / डडेल्धुरा

केही दिनयता बढेको अत्याधिक चिसोले डडेल्धुराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिका–६ का बाढी पीडितहरुलाई रात कटाउन मुस्किल पर्न थालेको छ ।
२०६७ असोजमा बाढीले घरखेत बगाएपछि स्थानीय सामुदायिक वनमा जस्तापाता र त्रिपालका टहरा बनाएर हालसम्म बसोबास गर्दै आएका बाढीपीडितहरु चिसो हावा र शीतलहरका कारण दैनिक जीवन कष्टकर बनेको हो ।
परशुराम नगरपालिका–६ का ६५ वर्षीय मानबहादुर सिंहले हालसम्म जसोतसो दिन बिते पनि टहरामा चिसो रात काट्न भने साह्रै गाह्रो भएको दुुखेसो पोखे । “टहराको जस्ताले शीत र हावा छेक्न छाड्यो, शीतले सिरक भिजेर निथ्रुक्क हुन्छ,” उनले भने, “जस्ताको चेपबाट छिर्ने चिसो हावाले रातभरि निन्द्रा लाग्दैन । बुढेसकालमा साह्रै दुःख पाइयो ।”

७ वर्ष अघि रंगुन र पुन्तरा नदीको बाढीले सो ठाउँका सिमलखेत, ठण्डाजाला, सरगौडा, बसगोईरा र पटरेनी गाँउका ५९ परिवार पूर्णरुपमा घरबारबिहीन भएका थिए भने ३ सय बढी परिवार प्रभावित भएका थिए । घरबारविहीन भएका बाढीपीडितहरुको पुनःस्थापनाका लागि हालसम्म प्रयास नहुँदा सामुदायिक वनमा टहरा बनाएर विस्थापित जीवन बिताउँदै आएका छन् ।
घरजग्गा पुनःस्थापनाका लागि सरकारले दिने भनेको रकम हालसम्म नपाउँदा सो क्षेत्रका बाढीपीडितहरु सकसमा परेको बाढीपिडित संघर्ष समितिका अध्यक्ष नरबहादुर बमले बताए । उनले हालसम्म ११ पटक प्रधानमन्त्री समक्ष डेलिगेसन गएर समस्या समाधानका लागि माग राख्दा पनि वर्षेनी रकम बिनियोजन गरिने तर बाढीपीडितले नपाउने गरेको दुखेसो पोखे ।
सो सम्वन्धमा “डोटीको दिपायलस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा बर्षेनी बाढीपीडितको पुर्नस्थापनाका लागि बजेट विनियोजन हुने गरेको छ ।” संघर्ष समितिका अध्यक्ष बमले भने, “तर बाढीपीडितले रकम बुझ्न नपाउदै फ्रिज हुने गरेको छ ।” बाढीपीडितहरुको पुनःस्थापनाका लागि विनियोजित रकम फ्रिज नगराई पीडितलाई उपलब्ध गराउन पटक पटक आग्रह गरिए पनि कार्यविधिअनुसार जग्गा खरिद गर्न खोज्दा रकम फ्रिज हुने गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटीका इन्जीनिययर तुलसीराम खरबुजाले गत आर्थिक वर्षमा ४५ परिवारका लागि जग्गा खरिद गरिएको र बाँकी रकम फ्रिज भएको बताए । परशुराम नगरपालिकाको कटाल र परिगाँउमा जग्गा खरिद गरिएका घरपरिवारहरुका लागि घर निर्माणमा सहयोग गरिने र जग्गा खरिद गर्न बाँकी परिवारहरुका सन्दर्भमा थप बजेट माग गरिएको उनले जानकारी दिए । चिसोले टहरामा रात बिताउन मुस्किल परेपछि सो क्षेत्रका बाढीपिडीतले आगो तापेर रात काट्न थालेका छन् ।
बाढीपीडित भएर रामपुरस्थित जंगलमा बसोबासगर्दै आएकी परशुराम नगरपालिका–६ की धनमती पन्तले चिसो बढेपछि टहरामा बसोबास गर्दै आएका बाढीपिडीत बिरामी पर्न थालेको बताईन । चिसोले दम बढेकाले रातभरि निन्द्रा नलाग्ने समस्या बुढाबुढीमा देखिएको र बालबालिकाहरुमा रुघाखोकी र न्युमोनियाको प्रकोप बढेको उनले जानकारी दिइन् “जोगबुढा अस्पतालमा लगेर उपचार गरे पनि हजुर आमालाई ज्वरो ठीक भएन, राति निदाउन सक्नुहुन्न,’ नाति नरेन्द्र थापाले भने । चिसोले टहरामा राखेका अधिकांश बाढीपीडितहरु ज्वरो, रुघाखोकी तथा टाउको दुख्ने समस्यामा रहेको परशुराम नगरपालिका–६ की वडासदस्य सरस्वती भट्टले बताइन् । उनले पुनःस्थापनाको रकम स्थानीय तहमा पठाउन सकिए पुनःस्थापना गर्न सहज हुने बताइन् ।

बृद्ध–बृद्धालाई न्यानो कपडा

पाँचथर÷रास– जिल्लाको फिदिम नगरपालिका–२, मा रहेको विश्रान्ति वृद्धाश्रमका नौ जना बृद्ध–बृद्धालाई शनिबार न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ ।
शान्ति भजनकीर्तन मण्डलीको अगुवाइमा बृद्ध–बृद्धालाई सो सामग्री वितरण गरिएको हो । फिदिमका समाजसेवी लिलानाथ निरौला र मञ्जु थापलिया (आचार्य) ले उपलब्ध गराएको लत्ता कपडा वितरण गरिएको हो । सो अवशरमा बृद्ध–बृद्धालाई दिवा भोज समेत खुवाइएको मण्डलीका अध्यक्ष खगमाया भट्टराईले बताउँइन । सिध्दपोखरी सेवा सदन पाँचथरले सञ्चालनमा ल्याएको सो आश्रममा अहिले पाँचथर सहित इलाम, ताप्लेजुङ र तेह्रथुमका नौ जना ज्येष्ठ नागरिकहरु आश्रित छन् । उनिहरुलाई एक जना सहयोगी राखेर आधारभूत सेवा प्रदान गर्दै आएको आश्रमकी अध्यक्ष राधिका थापाले वताइन् । जाडो सिजनमा आश्रममा रहेका बृद्ध–बृद्धालाई न्यानो होस भन्ने उदेस्यले न्यानो कपडा वितरण गरिएको मण्डलीले जनाएको छ ।