अमेरिकामा जब उत्तर कोरियाले मिसाइल आक्रमण गरेको सन्देश आयो, त्यसपछि…

हवाई (अमेरिका), ३० पुस । अमेरिकाको हवाई राज्यमा शनिबार बिहान सबैको मोबाइलमा एकसाथ आएको सन्देशले सबैले आफूहरु चाँडै नै मृत्यु हुने अनुमान गरे । अनुमान गर्नु सही पनि थियो, किनभने हवाईको आपतकालीन केन्द्रबाटै यो सन्देश आएको थियो । सन्देशमा भनिएको थियो, ब्ल्यास्टिक मिसाइल हवाईतर्फ आइरहेको छ । आपतकालीन् ठाउँमा जानु होला । यो अभ्यास होइन ।

स्थानीय समयअनुसार बिहान ८.१० मा यो सन्देश आएको थियो । यो सन्देश आउँदा कोही ओछ्यानमै थिए । कोही भरखर चिया कफी पिउँदै थिए ।यो सन्देश आपतकालीन केन्द्रबाट मात्रै नभई रेडियो र टेलिभिजनबाट पनि आएको थियो । जसले सुरुमा त कसरी बाँच्ने भन्ने सोच्न पनि थाले । कतिपय त हवाइबाट भाग्नसमेत खोजे । तर समय अत्यन्तै कम भएकाले भाग्ने समय पनि थिएन ।

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले दुई साताअघि मात्रै अमेरिकाभरि आक्रमण गर्न सक्ने क्षेप्यास्त्रको बटन आफ्नो टेबलमा भएको बताएका थिए । यसले पनि हवाइ राज्यभरी नै सो सन्देशले त्रास थप्ने काम गरेको थियो ।

पूरै राज्यमा सन्त्रास छाएको ३८ मिनेटपछिमात्र अधिकारीहरुले सो सन्देश गलत भएको बताएका थिए । भूलबस सो झुठो सन्देश गएकोमा उनीहरुले क्षमायाचना गरेका थिए । मानवीय गल्तीका कारण झुठो सन्देश सम्प्रेषण हुन गएको र यसमा कुनै ह्याकर वा विदेशीको हात नरहेको अधिकारीहरुले प्रष्ट पारेका छन् । गभर्नर डेभिड इगले कर्मचारीले गलत बटन दबाएकाले झुठो सन्देश गएको बताएका छन् ।

हवाई राज्यमा शनिबार विहान जे घटना भयो, यसले अमेरिकाबासीहरु उत्तर कोरियाली शासकबाट कति डराइरहेका रहेछन् भन्ने पुष्टि हुन्छ ।