संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु

संखुवासभा, ३० पुस । संखुवासभाको मकालु गाउँपालिका ३, सामाटारमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सो जीप दुर्घटनामा परेको हो ।

खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप दुर्घटनामा परेको हो । जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।

दुर्घटनामा मृत्यु भएकामध्ये कटुवाल र सुरेश राईको मात्रै सनाखत भएको छ । कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार, तीन जनाको सनाखत प्रयास भइरहेको छ ।