दुई दर्जन कम्पनीको सेयर आउँदै

राजधानी समाचारदाता / काठमाडौं

यतिबेला बजारमा सेयर निष्कासनको ओइरो लागेको छ । बैंक तथा वित्तीय संस्थाहरूले चुक्ता पुँजी पु¥याउने अन्तिम कसरत गरिरहेकाले वित्तीय कम्पनीका सेयर बजारमा आइरहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सेयर निष्कासनका लागि २३ वटा कम्पनी साधारण सेयर निष्कासन गर्न पाइपलाइनमा छन् । सेयर निष्कासनको पाइपलाइनमा रहेका २३ कम्पनीमध्ये बुटवल पावर कम्पनी र एनएमबी बैंकले एफपीओ निष्कासन गर्न लागेका छन् । बाँकी २१ कम्पनीले आईपीओ निष्कासन गर्न लागेका छन् । बुटवल पावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले एफपीओ निष्कासन गर्ने अनुमति दिएको छ । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता ५ सय १ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ३० मेगावाटको न्यादी र ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । साथै १ सय मेगावाटको मनाङ मस्र्याङ्दी आयोजना पनि निर्माणको अनुमति लिने क्रममा छ । त्यसैगरी, आरम्भ माइक्रोफाइनान्स कम्पनीले पनि बोर्डबाट सेयर निष्कासनको स्वीकृति पाएको छ । त्यसैगरी, चार जलविद्युत् कम्पनीहरूले पनि सेयर निष्कासन गर्न लागेका छन् ।

बोर्डका अनुसार पञ्चकन्यामाई हाइड्रो पावर, सान्जेन जलविद्युत् कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी र कालिका पावर कम्पनीले पनि सेयर निष्कासनको अनुमति पाएका छन् । यी जलविद्युत् कम्पनीले स्थानीयका लागि सेयर निष्कासनको अनुमति पाएका हुन् । पछिल्लो समय जलविद्युत् कम्पनीहरूको सेयरमा सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । जलविद्युत् कम्पनीहरूले अनिवार्य रूपमा स्थानीयलाई १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था भएसँगै  जलविद्युत् कम्पनीहरूले धमाधम सेयर निष्काशन गर्न लागेका हुन् । सेयर निष्कासनका लागि आवेदन दिने १६ कम्पनीमध्ये एनएमबी बैंकले फर्दर पब्लिक अफरिङ एफपीओ निष्कासन गर्न लागेको हो भने अन्य १५ कम्पनीले आईपीओ निष्कासन गर्ने भएका हुन् । त्यसैगरी, सामुदायिक लघुवित्त वित्तीय संस्थाले ९ माघदेखि साधारण सेयर निष्कासन गर्न लागेको छ । यस कम्पनीले ३ करोड रुपैयाँबराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । ३ लाख कित्तामध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बोर्डले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले २ लाख ७३ हजार कित्ताका खरिद गर्न सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम ५० र बढीमा १ हजार ५ सय कित्तासम्म आवेदन दिन पाइनेछ । काभ्रेको साँगामा मुख्य कार्यालय रहेको यस कम्पनीले कम्पनीको ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।