थारू बस्तीमा ‘माघी पर्व’को खुसियाली

भीमदत्तनगर÷रासस–

‘हरसाल आउँछ माघी, माघी जान्छ

आÏनै सुरमा

खुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमा

हरसाल आउँछ माघी, माघी जान्छ

आÏनै सुरमा’

गीतका शब्दझैं मध्यपश्चिमको दाङदेखि सुदूरपश्चिमको सीमान्तकृत जिल्ला कञ्चनपुरसम्म बसोबास गर्ने थारू बस्तीमा यतिबेला माघी पर्वको खुसियाली छाएको छ । चौधरी–थारू बस्तीमा के बूढा, के तन्नेरी, सबै उमेर समूहलाई माघीको रौनकले छोएको छ ।

पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारू बस्तीमा माघ महिनाको सुरुवातदेखि नै माघी पर्वलाई विशेष रूपमा मनाइन्छ । माघेसंक्रान्तिदेखि सुरु हुने सप्ताहव्यापी यस पर्वमा थारू समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन् । माघीको पूर्वसन्ध्यामा थारू बस्तीमा बंगुर काट्ने, बेलुकी खानपिन गर्र्दै रमाइलो गर्ने प्रचलन रहेको थारू अगुवाको भनाइ छ ।

माघी मिलन कार्यक्रममै व्यस्त नवनिर्वाचित प्रदेशसभा सदस्य कुलवीर चौधरीले माघी विशेष कार्यक्रमले गाउँबस्तीमा खुसियाली छाएको बताए । ‘दशकअघिको भन्दा अहिलेको माघी पर्व आधुनिकतातर्फ लागेको छ,’ प्रदेशसभा सदस्य चौधरीले भने, ‘पुरानो प्रचलन हराउँदै गइरहेको छ ।’

माघीका अवसरमा माघेसंक्रान्तिको बिहान उठ्ने, सबै गाउँले एकजुट भएर नजिकै खोला तथा तलाउमा एकैठाउँमा स्नान गरेर रमाउने र आशीर्वाद लिने चलन थियो,’ चौधरीले भने ‘पुरानो चलन रहे पनि धेरै रीति र संस्कारलाई बेवास्ता गरिँदै छ ।’

माघको दोस्रो दिन अर्थात् २ माघमा गाउँमा भल्मन्साहरू छनोट गर्नेदेखि चौकीदार र गुरुवा नियुक्तसमेत गर्ने प्रचलन रहेको उनले जानकारी दिए । ‘दोस्रो दिन दाजुभाइ अलग हुने पनि प्रचलन रहेको छ,’ उनले भने, ‘तर पछिल्लो समय त्यो पनि बिर्सिइँदै छ ।’ माघी पर्वलाई छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रूपमा लिने गरिन्छ ।

बेलौरीको सिंहपुरमा थारू बस्तीमा आयोजना गरिएको माघी मिलन कार्यक्रममा सांसद चौधरी सहभागी भई माघी पर्व संस्कृति बचाउन सक्रिय छन् ।

‘वर्ष दिनको पसिनालाई आज सुकाएर,

मीठो खाने राम्रो लाउने, रहर फुकाएर,

 बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड,

 हाम्रो घर निकाखेर बटुलीमा माड,

कटौरीमा मासु अनि बटुकीमा जाँड”,

बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड,

 आफू पनि खाइदे साथी अरूलाई नि बाँड,

 आज छैन कहीँ चिसो चुलो धुवाँ उठ्यो धुरधुरमा,

हरसाल साल आउँछ माघी, माघी जान्छ

आÏनै सुरुमा…’

माघीमा यो गीत पनि घन्किने गर्छ । थारू समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने प्रचलन रहिआएको छ । माघीको अघिल्लो रात सँुगुर काटी मासु खाने गरिन्छ, जसलाई थारू भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको छ ।

त्यस रात थारू समुदाय मासु, जाँड र ढिक्री खाई रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्छन् । माघीको दिन (१ माघ) मा झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोहोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन छ । माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अञ्जानवश गरिएको पाप नाश हुने धार्मिक मन्यतासमेत छ ।