नेतृत्वमा काँध फेराफेर हुन्छ

नेतृत्वमा काँध फेराफेर हुन्छ

 

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको डेढ महिना भइसकेको छ । निर्वाचनबाट वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरे पनि मुलुकमा अझै नयाँ सरकार गठन हुन सकेको छैन । निर्वाचनलगत्तै वाम गठबन्धन पार्टी एकतामा रूपान्तरण हुने उद्घोष गरिए पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले त्यसलाई सार्थक निष्कर्षमा पु¥याउन सकिरहेका छैनन् । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रिया कता अल्झिरहेको छ ? वर्तमान संक्रमणको अन्त्य हुन अब कति समय लाग्छ ? यिनै सेरोफेरोमा केन्द्रित रहेर राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्य र वरिष्ठ उपसम्पादक प्रतीक तामाङले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग गरेको कुराकानी :

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता, नेकपा एमाले

० निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने घोषणा भएको थियो । निर्वाचन सकिएको दुई महिना पुग्न लाग्दा पनि घटनाक्रम त्यतातिर सोझिएको देखिएन । कुरा कहाँ अड्किएको हो ?

नेपालको कम्युनिस्ट आन्दोलन अहिले सात दशक पार गर्दै छ । यो ६८ वर्षको इतिहासमा नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)का बीचमा हुन लागेको एकता अर्को ऐतिहासिक घटना हो । हामीले एकता हुन्छ र एकताका लागि प्रक्रिया अगाडि बढिसकेको घोषणा गरिसकेका छौं । एकता प्रक्रियाका दुईटा महŒवपूर्ण चरण थिए । पहिलो महानिर्वाचनमा तालमेलको चरण थियो ।
तालमेलको चरण हामीले अत्यन्तै सफलतापूर्वक सम्पन्न ग¥यौं । तालमेलको प्रक्रियामार्फत हामीले दुई पार्टीबीच नेता कार्यकर्तालाई नजिक मात्रै ल्याएनौं, दुवै पार्टी कार्यदिशा, नीति र सिद्धान्तमा एकरूपता कायम भयो भन्ने पनि प्रदर्शन ग¥यौं । हाम्रा बीचमा मतभेद अब गौण बनिसकेका छन् र एकताको प्रक्रियाका साझा कुरा प्रधान बनिसकेको छ ।
त्यसो हुनाले यो एकता प्रक्रियालाई दोस्रो चरणमा प्रवेश गराउँदै छौं । पहिलो चरणको तालमेलको एकता प्रक्रियाले दुई पार्टीलाई कुनै हालतमा कस्तै परिस्थितिमा पनि छुट्टिनै नसकिने बनाइसकेको छ । अब त्यो कुरालाई अनुमोदन गर्दै जनताको समेत अनुमोदनलाई ध्यानमा राखेर पार्टीको वैचारिक र संगठनात्मक एकीकरणको प्रक्रियालाई टुंगो लगाउनुपर्नेछ । त्यो प्रक्रिया आफ्नै गतिका साथ अगाडि बढ्दै छ ।

० सत्ता र एकीकृत पार्टीको नेतृत्व बाँडफाँटमा कुरा अड्किएको हो ?

अहिले कहीँ पनि अड्किएको छैन । हामी एकता प्रक्रियालाई नयाँ शिराबाट अगाडि बढाइरहेका छौं । बैठकहरू चरण चरणमा लगातार भइरहेका छन् । विभिन्न ढंगले एकताको प्रक्रियालाई दुवै पक्षबाट अगाडि बढाउने काम भइरहेको छ ।
पार्टी एकता संयोजन समितिको बैठक जारी छ । यो बैठकले दुईटा कार्यदल निर्माण गर्छ । एउटा संगठनात्मक क्षेत्रका काम हेर्न गृहकार्य गर्ने कार्यदल र अर्को वैचारिक सैद्धान्तिक विषयवस्तुलाई हेर्ने कार्यदल । यी दुईटा कार्यदल गठन गरेर एकता प्रक्रियालाई तीव्र पार्छौं ।

० भनेपछि एकता अझै दुईचार महिना पर धकेलिने भो हैन ?

धेरै लामो समय अब लाग्दैन । दुई कार्यदल निर्माण भएपछि त्यसले संगठन र सैद्धान्तिक पक्षको राम्ररी गोडमेल गर्छ । आवश्यक गृहकार्य गरी समस्या समाधानको पाटो प्रस्ताव गर्छ । यस्तो प्रस्ताव आए पनि हामी चाँडै
टुंगोमा पुग्छौं ।

० एकता सीधै घोषणा हुन्छ कि महाधिवेशन कुर्नुपर्छ ?

दुईटा कार्यदलले आफ्नो काम सम्पन्न गरिसकेपछि दुवैले आफ्ना प्रतिवेदन पार्टी एकता संयोजन समितिकहाँ बुझाउँछन् । संयोजन समितिले प्रतिवेदनलाई अध्ययन गरेर निचोड निकाल्छ । त्यो निचोड नै एकताको मुख्य आधार बन्छ ।
पहिले एकताको घोषणा हुन्छ । अनि त्यही एकताको घोषणामार्फत वैचारिक र संगठनात्मक क्षेत्रमा हामीले जुन व्यवस्थापन गरेका हुन्छौं, त्यहीअनुरूप हामी पार्टीको एकता महाधिवेशनमा जान्छौं ।
पहिले वैचारिक संगठनात्मक कुराहरू टुंग्याएर पार्टी एकता भएको घोषणा गरिनेछ । त्यो घोषणाले केन्द्रीय तहमा नेतृत्वको एउटा संरचना निर्माण गर्छ । त्यो अस्थायी संरचना हुन्छ । त्यसले पार्टीलाई एकता महाधिवेशनमा लान्छ र एकता महाधिवेशनबाट हामी स्थायी संरचनामा जान्छौं ।

० अस्थायी संरचनाको नेतृत्व कसरी निर्माण हुन्छ ?

यसमा विभिन्न उपायहरू हुन सक्छन् । हामी अन्तिम विकल्पमा पुगिसकेका छैनौं । विभिन्न विकल्पमा छलफल गरेर एउटा टुंगोमा पुग्छौं । यो त्यस्तो जटिल विषय होइन ।

पहिले वैचारिक संगठनात्मक कुरा टुंग्याएर पार्टी एकता भएको घोषणा गरिनेछ। त्यो घोषणाले केन्द्रीय तहमा नेतृत्वको एउटा संरचना निर्माण गर्छ। त्यो अस्थायी संरचना हुन्छ। त्यसले पार्टीलाई एकता महाधिवेशनमा लान्छ र एकता महाधिवेशनबाट हामी स्थायी संरचनामा जान्छौं

० पार्टी र सरकारको नेतृत्वचाहिँ टुंगिएको हो ?

टुंगोमा त पुगिएको होइन । फरक पनि हुँदैन । एउटै व्यक्ति पनि हुँदैन । दुवै हुन सक्छ । दुवैतिर पनि हुन सक्छ । एउटै पक्षबाट पनि हुन सक्छ ।

० सरकारको नेतृत्व एमाले गर्ने र पार्टीको नेतृत्व माओवादी केन्द्रबाट गर्ने सहमति भयो हैन र ?

यी सबै हल्ला हुन् । केही गल्लीको चर्चा, कुनै मिडियाको चर्चा । यी चर्चामा धेरैमा सत्यता छैन । आंशिक कुरामा सत्यता पनि छ । एकताको प्रक्रिया टुंगो लगाउन हामी अनेक तरिकाबारे छलफलमै छौं ।
स्वाभाविक रूपमा सरकार र पार्टीको नेतृत्व बाँडफाँट नै हुन्छ भन्ने कतिपयलाई लाग्छ नै । बाँडफाँट गरिएला भन्ने ठान्ने कुरामा केही सत्यता छ । पार्टी र सरकार सञ्चालन अवश्य पनि नेताहरूको एउटा पंक्तिले गर्छ । उपयुक्त संयोजनका साथै मिलाइनेछ ।

० सरकार गठनको सम्मुखमा छौं । अबको प्रधानमन्त्रीका रूपमा कसलाई देख्न पाइएला ?

अब देशको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष नै बन्नुहुनेछ । यद्यपि, यो अहिले नै निर्णय भएको विषय होइन । पार्टीले निर्णय गरेपछि मात्रै को हो भन्ने अन्तिम टुंगो लाग्छ । यही व्यक्ति प्रधानमन्त्री हो भनेर हामीले कुनै नियम पनि बनाएका छैनौं ।

० यहाँले यसो भनिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीका उम्मेदवार नै नभएकाले जिम्मेवारी हस्तान्तरण गर्न आफू अलमलमा परेको अभिव्यक्ति दिनुभएको छ । वाम गठबन्धनले फलाना अब हाम्रो तर्फबाट प्रधानमन्त्री बन्नुहुन्छ भनेर खुला रूपमा घोषणा गर्न किन नसकेको ?

वाम गठबन्धनको सम्बन्धमा जनताले आफ्नो निर्णय दिइसकेका छन् । मुलुकमा हस्तान्तरणको आधार तयार भइसकेको छ । प्रधानमन्त्रीले मैले हस्तान्तरण गर्छु भनिरहनै पर्दैन । निर्वाचन आयोगले मुलुकको निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइसकेपछि राष्ट्रपतिले स्वतः त्यस परिणामको आधारमा पहल गर्नेबित्तिकै नयाँ सरकार बन्छ । प्रधानमन्त्रीले राजीनामा दिएर हस्तान्तरण गर्नुपर्छ भन्ने छैन । उहाँको राजीनामाको आवश्यक नै छैन । नैतिकताको आधारमा दिने अलग्गै कुरा हो । त्यस्तो नैतिकता वर्तमान प्रधानमन्त्रीले देखाउनुभएन । नयाँ जनादेशले नयाँ प्रधानमन्त्री बन्ने आधार बनिसक्यो । एक ढंगले प्रधानमन्त्री हाम्रो अध्यक्ष हुने कुरामा सहमति जस्तै छ । घोषणा त समय आएपछि हुने हो नि ।

० अबको पाँचवर्षे कार्यकालमा प्रधानमन्त्री पद पनि आलोपालोमा चलाउने सहमति गर्नुभा छ रे ?

संविधानबमोजिम एकपटक प्रधानमन्त्री भए पनि उसको कार्यकाल पाँच वर्षको हुन्छ । तर, पाँच वर्ष हुने भनेको एउटै पार्टीले बहुमत ल्याएर जित्यो र जो प्रधानमन्त्री भयो, उसलाई निर्विवाद रूपले नेतृत्व गर्ने अवसर दिनुपर्छ ।
तर, पार्टीभित्र आन्तरिक रूपमा पालोफेरो हुन सक्छ । जहाँसम्म नेतृत्वको कुरा छ, काँध फेराफेर हुन्छ । आन्तरिक सहमतिका आधारमा हुन पनि सक्छ । त्यस्तो सहमतिले पाँच वर्ष पार्टीले शासन गर्छ । मुलुकमा स्थिरता हुन्छ । व्यक्ति परिवर्तन हुनसक्छ ।

० अब एकता प्रक्रिया धेरै लम्बिँदैन भन्ने आधार के नि ?

ठीकै कुरा हो । हामीले भित्री रूपमा एक खालको समझदारी विकास गरिसकेका छौं । त्यो समझदारीलाई ठोस रूप दिन कार्यदल पनि बनाएका छौं । कार्यदलले छलफल गरिरहेको छ । बाँकी कार्यदल पनि बन्दै छ । केही दिनमा नतिजा आउँछ नि ।

० सरकार गठनअघि कार्यदलको काम सकिन्छ ?

सरकार गठन र पार्टी एकीकरणको प्रक्रिया दुई स्वतन्त्र विषय हुन् । ती एक आपसमा अन्तर्सम्बन्धित चाहिँ छन् । एकले अर्कोलाई प्रभावित पनि पार्छ । तर, अलग अलग ढंगले अगाडि बढ्छ ।

० संवैधानिक अंगहरू (राष्ट्रपति उपराष्ट्रपति, सभामुख) आदिमा पनि बाँडफाँट नै हुने होला ?

नेताहरू थुपै्र छन् । नेताहरूको पंक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि समस्या त छ । यद्यपि, मुख्य सवाल वैचारिक राजनीतिक एकरूपताको नै हो । त्यो समाधान भइसकेपछि संगठनात्मक क्षेत्रमा रहेका सबै कुराको व्यवस्थापन हुन्छ । यो विषयमा पनि हामीले निर्णय गर्नुपर्नेछ । तर, अहिले यो एजेन्डा आइपुगिसकेको छैन । यसमा प्रवेश गर्न बाँकी छ ।
बाँडफाँटमा राष्ट्रपति बन्ने अवसर तपाईंले पाइसक्नुभयो, हल्ला मात्रै हो कि विश्वास गरे हुन्छ अब ? राष्ट्रपतिका बारेमा अहिले धेरै चर्चा आइरहेका छन् । पक्कै पनि ती चर्चामा जेएन खनालको नाम पनि आएको छ । जे एन खनालको नाम चर्चामा ल्याउने साथीहरूलाई मेरो धन्यवाद नै छ । तर, पार्टीले यो एजेन्डा अहिले अगाडि सारिसकेको छैन ।

 चुनावी तालमेलले दुवै पार्टीको कार्यदिशा, नीति र सिद्धान्तमा एकरुपता रहेको प्रमाणित 
गरेको छ 
 पार्टी अध्यक्षले नै सरकारको नेतृत्व गर्नुहुन्छ 
 पार्टीले मेरो मूल्यांकन गरेर राष्ट्रपतिमा जिम्मेवारी दियो भने मैले अस्वीकार गर्नुपर्ने 
कारण छैन 
 दुई पार्टीको राजनीतिक कार्यदिशा एउटै बनिसकेको छ

० भनेपछि तपाईंका कुरा सुन्दा जेएन खनाललाई राष्ट्रपतिका रूपमा देख्न पाउने दिन नजिकिसक्यो ?

यस्तो देख्ने इच्छा भएका साथीलाई मेरो धन्यवाद छ । पार्टीले मेरो मूल्यांकन गरेर जिम्मेवारी दियो भने मैले अस्वीकार गर्नुपर्ने कारण छैन । त्यसबेला म पछि हट्ने कुरा हुँदैन ।

० जनताको बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादमध्ये पार्टीको राजनीतिक लाइन अब कुन हुन्छ ?

अहिले दुईपार्टीमा खासै धेरै भिन्नता छैन । कार्यदिशामा खासै भिन्नता छैन । पार्टीका आम नीतिहरूमा पनि भिन्नता छैन । हामी माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्छौं । हामी लोकतान्त्रिक बाटोलाई, शान्तिपूर्ण, प्रतिस्पर्धाको बाटोलाई क्रान्तिको बाटो मान्छौं । शान्तिपूर्ण ढंगल राजनीतिमा अगाडि बढ्ने बाटोलाई पनि मान्छौं । समाजवादलाई लक्ष्य बनाएर अगाडि बढ्नुपर्छ । हाम्रा कार्यदिशा, नीति र सिद्धान्तहरू धेरै हदसम्म एकरूपता कायम भइसकेको छ । यसमा अब हामीबीच धेरे बहस गर्नुपर्ने ठाउँ छैन ।

० जनताको बहुदलीय जनताको सान्दर्भिकता सकिएको टिप्पणी एमालेकै नेताहरू गर्न थालेका छन् । यसमा यहाँको बुझाइ के छ ?

मलाई त्यस्तो लाग्दैन । हामीले नेपाली क्रान्तिको बाटो जुन ढंगले निर्माण गरेर आयौं, जनवाद प्राप्तिको बाटो जस्तो रह्यो, अब समाजवाद प्राप्तिका लागि पनि शान्तिपूर्ण ढंगले प्रतिस्पर्धाको बाटोबाटै हिँड्नुपर्छ । शान्तिपूर्ण र लोकतान्त्रिक प्रतिस्पर्धाको बाटो हिँडिरहनुपर्ने भएकाले त्यस्तो सान्दर्भिकता समाप्त भयो भन्न मिल्दैन । किनभने, अहिले हामी बहुदलीय प्रतिस्पर्धाकै चरणमा छौं ।

० यो एकता प्रक्रियामा अन्य वाम शक्ति पनि मिसिने सम्भावना कति छ ?

सबैभन्दा पहिले यी दुई पार्टी एकीकृत हुन्छन् । दुई पार्टीले एकीकरण प्रक्रिया नटुंग्याएसम्म हामीले दायाँबायाँ गर्ने कुरा आउँदैन । त्यसपछि एकीकृत पार्टीमा आउन चाहनेहरूसँग हामी गम्भीरतापूर्वक वार्ता गर्छौं ।

० प्रसंग बदलौं, अहिले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई वाम गठबन्धनको सरकार आएपछि पुनर्विचार गर्नुहुन्छ रे, किन गर्ने पुर्नविचार ?

सरकारले प्रदेश प्रमुख तोक्ने र प्रदेशका राजधानी तोक्ने काम बाध्यात्मक हो । अहिलेसम्म ढिलाइ गर्नै हुन्नथ्यो । यो ढिलाइ गरेर अनावश्यक आलटाल गर्ने काम सरकारले ग¥यो । यो राम्रो होइन । ढिलो गरेर भए पनि बल्ल तोकेको छ, राम्रो भयो ।
अहिले तोकिएकै राजधानी कायम रहन्छन् कि रहँदैन, भोलि प्रदेशसभाले निर्णय गर्ने कुरा हो । त्यसमा आवश्यक परिवर्तन हुन सक्छ । जहाँसम्म प्रदेश प्रमुखको कुरा छ, सरकारले अहिले आफ्नो तजबीजका आधारमा तोकेको छ, नयाँ सरकार पनि आफ्नो तजबीजका आधारमा अगाडि बढ्छ । भोलिको सरकारले निर्णय गर्छ ।

० यसरी गिजोल्दै जाने हो भने नकारात्मक सन्देश जाँदैन र ?

यो सरकारले गर्ने कुरा हो । अहिले पनि सरकारले सत्ताबाहिरका कुनै पनि दलसँग छलफल गरी निर्णय गरेको होइन । भोलिका लागि पनि हुने हिसाबले गृहकार्यका साथ नियुक्त गरेको भए हुन्थ्यो । सरकारले त्यसलाई आवश्यक ठानेन । त्यसकारण स्वाभाविक रूपमा सरकारले आफ्नो दायित्व संविधाबमोजिम पूरा गर्छ ।

० अब मुलुकमा बन्ने वाम सरकारले समृद्धिकोे कुनै खाका दिएको छैन भन्ने गुनासा पनि आएका छन् । पार्टी एकता प्रक्रियाले अलमलमा पर्दा यता ध्यान नपुगेको हो ?

हामीले निर्वाचनमा घोषणापत्र अगाडि सारेका छौं । त्यो घोषणापत्रले हाम्रो भविष्यको मार्गचित्र के हो भन्ने प्रस्ट पारिसकेको छ । त्यसका साथसाथै पार्टीका शीर्ष नेता कमरेड वामदेव गौतमको ‘महानिर्माणको अभियान’ नामको पुस्तक पनि विमोचन भएको छ । यो विकास समृद्धिको गृहकार्यको अंग हो भनेर बुझ्दा हुन्छ ।