बिमा क्षेत्र फराकिलो बन्दै

कमला अर्याल / काठमाडौं

नेपालमा बिमाको विकास र सुरुवात

नेपालमा बिमाको विकासको कुरा गर्ने हो भने इतिहास धेरै पुरानो छैन । २००७ सालको आन्दोलभन्दा पहिले रघुपति जुट मिल २००३, जुट म्याच फ्याक्टी«, विराटनगर कटन मिल, वीरगन्ज कटन मिललगायतका उद्योगहरू स्थापना भएका थिए । यी उद्योगहरूको स्थापनासँगै यिनीहरूकै वित्तीय सहयोगका लागि नेपाल बैंकको स्थापनापछि बिमा कम्पनीको पनि आवश्यकता महसुस गरिएको थियो । त्यसताका केही भारतीय बिमा कम्पनीले नेपालमा निर्जीवन बिमाको काम सुरु गरेको देखिन्छ । २००४ सालमा नेपाल बैंकको सक्रियतामा नेपाल माल चलानी तथा बिमा कम्पनीको स्थापना भएको थियो । यो ५ लाख रुपैयाँ लगानीबाट सुरु भएको थियो । २०१६ सालमा यो कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिको रूपमा नाम परिवर्तन गरी कारोबार सुरु ग¥यो । साथै २०४८ सालमा यस कम्पनीलाई नेपाल इन्स्योरेन्स कम्पनी लिको पूरा नाममा निर्जीवन बिमाको कार्य गर्ने गरी पुनः नामकरण गरियो ।


२००७ सालको राजनीतिक परिवर्तनका कारण मुलुकमा विकासका ज्वारभाटहरू फुट्न थालेका थिए । २०२५ सालअघिसम्म कयौं भारतीय बिमा कम्पनीहरू नेपालमा आए, गए । तर नेपाली बिमा कम्पनीहरूको स्थापना हसन सकिरहेको थिएन । त्यस बेला बिमा कम्पनीमध्ये रुवि जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (हाल नेसनल इन्स्योरेन्स कम्पनी), दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ इन्स्योरेन्स कम्पनी लिमिटेड (पछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गाभिएको) आदि प्रमुख थिए । यिनै बिमा कम्पनीहरूले अस्थायी रूपमा नेपालमा बसी बिमासम्बन्धी काम गर्र्दै आएका थिए । बिमा बापत नेपालबाट हरेक वर्ष पुँजी बाहिरिन्थ्यो । नेपालबाट पैसा विदेश जानबाट जोगाउनका लागि नेपालमा पहिलोपटक २०२४ साल पुस १ मा राष्ट्रिय बिमा संस्थानको स्थापना भयो । राष्ट्रिय बिमा संस्थान १ करोड रुपैयाँको लागतमा स्थापना भएको थियो ।
यसले स्थापनाको प्रारम्भमा निर्जीवनमा बिमाको कार्य गर्दै आएको थियो भने २०२९ देखि जीवन बिमासम्बन्धी कारोबार पनि गर्दै आएको छ । २०४४ सालमा निजी बिमा कम्पनीका रूपमा नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीको स्थापना भयो । नेपालमा प्रजातन्त्रको पुनर्वहालीपछि २०४६ र ४७ मा नेपाल सरकारले अपनाएको आर्थिक उदारीकरणको नीतिसँगै विभिन्न जीवन तथा निर्जीवन बिमा कम्पनी खुले । त्यसपछि अरू बिमा कम्पनीहरू पनि खुल्ने र व्यापार व्यवसाय गर्ने बाटो खुल्यो । जसका कारण हाल १६ निर्जीवन, आठवटा जीवन र एक जीवन र निर्जीवन दुवै व्यवसाय गर्ने बिमा कम्पनीहरू स्थापना भएका छन् । नयाँ बिमा कम्पनीहरू पनि थपिने क्रम जारी छ ।

के हो बिमा ?

आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी गरिनु बिमा हो । बिमा गर्दा बिमित (बिमा गर्ने व्यक्ति) र बिमक (बिमा गर्ने संस्था) बीच सम्झौता हुन्छ । सोही सम्झौताअनुसार बिमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिने गर्छ । भविष्यमा कसैको पनि आर्थिक तथा भौतिक क्षति हुन सक्छ । भोलिका दिनमा हुन सक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानुनी विधि वा बिमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौतालाई बिमा भनिन्छ । बिमा कम्पनीहरू आधिकारिक, भरपर्दा र विश्वासिला हुन्छन् भने बिमाले भविष्य सुनौलो बनाउँछ साथै जीवनलाई सुरक्षित बनाउँछ । बिमाले आफ्नो मात्रै होइन बिमा गर्नेको परिवारलाई पनि सुखी बनाउँछ ।

निर्जीवन बिमा

निर्जीवन बिमा मानिसले आर्जन गरेको चलअचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने सुरक्षित उपाय हो । निर्जीवन बिमाले मानिसको चलअचल सम्पत्तिलाई सुरक्षित गराउँछ । घर, उद्योग, कलकारखाना, गाडी, मोटरसाइकल आदि लगायतका विभिन्न सम्पत्ति हानी नोक्सानी भएमा सो सम्पत्तिको क्षतिपूर्तिका लागि निर्जीवन बिमा गर्ने गरिन्छ । यस किसिमका बिमाअन्तर्गत दुर्घटना, औषधि उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिमलगायातको बिमाको व्यवस्था हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्पलगायत विभिन्न प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपूर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहतका लागि पनि बिमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषि बिमा पनि ल्याएको छ । यसअन्तर्गत व्यावसायिक कृषि र पशुपालनमा पनि बिमा गर्ने गरिन्छ । भौतिक सम्पति, उत्पादनमूलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिमाको क्षेत्र विस्तार भइरहेको छ । यसरी बिमा गरिसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने भएकाले बिमा गर्नु अत्यन्तै आवश्यक छ ।

दैनिक जीवनमा बिमाको आवश्यकता

बिमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बिमा गर्दा बिमित (बिमा गर्ने व्यक्ति)लाई कहिल्यै पनि घाटा हुँदैन । बिमासम्बन्धी ज्ञान नभएका कारण अधिकांश मानिस बिमाको दायरामा आउन सकेका छैनन् । बिमा गर्ने कम्पनीले पनि पुनर्बिमा गर्ने भएकाले सो कम्पनीमा क्षति हुँदा वा सो कम्पनी डुबेको अवस्थामा पनि बिमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुनर्बिमा भनेको सो बिमा कम्पनीको पनि बिमा गरिएको हुन्छ भन्ने हो । बिमा गर्दा भविष्यको सुरक्षा हुने हुँदा यसले उज्ज्वल भविष्यका लागि सहयोग गर्छ । विभिन्न चोरी, हुलदंगा, आगजनी, बाढी पहिरो तथा अन्य प्राकृतिक विपत्ति आदिको जोखिमबाट बच्नका लागि पनि बिमा गर्नु उपयुक्त र सुरक्षित मानिन्छ । जीवन बिमाको हकमा भने बिमा गरेको व्यक्तिको बिमा अवधिभित्रै मृत्यु भएमा पनि परिवारमा आर्थिक समस्या पर्दैन । त्यसैका लागि पनि जीवन
बिमा गरिन्छ ।
जीवन बिमाबाट बिमितको परिवारले बिमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ । आयकर ऐनअनुसार बिमा गर्दा २० हजार रुपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ । करमा छुट पाइने भएकाले बिमा गर्दा बिमितले त्यसबाट पनि लाभ लिन सक्छन् । बिमा गर्दा दुई वर्षको बिमा शुल्क भुक्तानी गरिसकेपछि सो बिमालेखमा सो अवधिसम्मको सम्पूर्ण मूल्यको बढीमा ९० प्रतिशतसम्म बिमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बिमा लेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन । पुनर्जीवन बिमा सम्पत्तिको सुरक्षाका लागि गरिने भएको हुँदा सम्पत्ति हराउने चोरिने डर हुँदैन ।

बिमा शिक्षा नै बिमा क्षेत्रको चुनौती

पछिल्लो समय बिमा क्षेत्रको दायरा फराकिलो बन्दै गए पनि यस क्षेत्रतर्फको अल्प ज्ञानका कारण अधिकांश मानिस बिमाको दायरामा आउन सकेका छैनन् । बिमाको दायरासँगै बिमा साक्षरताको आवश्यकता पनि उत्तिकै बढ्दै गइरहेको छ । जनचेतनाको कमीका कारण ग्रामीण तथा सहरी क्षेत्रका कयौं जनता अझै पनि बिमाको पहुँचमा आउन नसकेको जानकारहरू बताउँछन् । बिमा समितिले अहिले बिमाको पहुँच बढाउन हरेक जिल्लामा बिमा कम्पनीहरू पुगेर सेवा दिन निर्देशन पनि दिएको छ ।
हरेक जिल्लाका गाउँगाउँमा पुगेका बिमा कम्पनीहरूले कृषि बिमालाई जोड दिएका छन् । जनचेतनाको कमीकै कारण बिमामा नागरिकको पहुँच पुग्न नसकेको बिमा समितिका कायम मुकायम कार्यकारी निर्देशक श्रीमान् कार्की बताउँछन् । उनले भने, ‘चेतनाको कमीका कारण जनताको ठूलो हिस्सा बिमाको दायरामा आउन सकेको छैन ।’
उनले बिमासम्बन्धी जनचेतनाका लागि बिमा साक्षरता कार्यक्रम चलाउन आवश्यक भएको राजनकारी दिए । बिमासम्बन्धी जनचेतना जगाउन समितिले विभिन्न समयमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । विकसित मुलुकमा अधिकांश जनताको बिमामा पहुँच हुन्छ । तर नेपालमा अहिलेसम्म १० प्रतिशतभन्दा बढी जनताको पहुँचमा बिमा पुग्न नसकेको विज्ञहरू बताउँछन् । बिमाको क्षेत्र विस्तार गर्ने हो भने बजेटमार्फत विकास निर्माणलगायत सबै क्षेत्रमा बिमाको पहुँच पु¥याउने गरी सरकारले बजेटमार्फत विभिन्न किसिमका योजना ल्याउनुपर्ने बिमा कम्पनीहरूको भनाइ छ । बिमा क्षेत्रको मुख्य चुनौती भनेकै नागरिकमा बिमासम्बन्धी ज्ञानको अभाव भएको बिमा विज्ञहरूको भनाइ छ । त्यसैले, बिमासम्बन्धी जनचेतनाको विस्तारबिना बिमा क्षेत्रको विस्तार गर्न कठिन छ ।

बिमाको पहुँच विस्तार हुनै समस्या

नेपालमा बिमाको इतिहास त्यति लामो छैन । बैंकिङ क्षेत्र जति द्रुत गतिमा विकास भएको छ, सोही रूपमा बिमा क्षेत्रको विकास हुन सकेको छैन । बिमा समितिका अनुसार अझै ९० प्रतिशत नागरिकमा बिमा पुग्न सकेको छैन । हालसम्म १० प्रतिशत हाराहारीमा मात्रै बिमाले ओगट्न सकेको छ । दक्षिणी छिमेकी भारत र नेपालमा बिमाको सुरुवात लगभग सँगै भएको थियो । तर भारतमा बिमा क्षेत्रको निकै विस्तार भएको छ । तर नेपालमा भने बिमा व्यवसाय विस्तार हुन सकिरहेको छैन । नेपालमा बिमा व्यवसाय व्यवस्थापन, विकास र विस्तारका लागि नियमनकारी निकाय बिमा समितिको स्थापना भए पनि अपेक्षा गरिएअनुरूप बिमा क्षेत्रको विकास हुन सकिरहेको छैन ।

नियमनकारी निकाय नै कमजोर

नियमनकारी निकाय बिमा समितिको कमजोर नेतृत्वका कारण बिमा क्षेत्र अपेक्षाअनुसार फस्टाउन नसकेको बिमा क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् । बिमा व्यवसायले सात दशक पार गरे पनि फस्टाउन नसक्नु बिमा समिति र सरकारकै बढी कमजोरी रहेको उनीहरूको भनाइ छ । बिमा विज्ञ चन्द्रसिंह साउदले बिमा समितिमा पुग्ने नेतृत्वले विगतका कमजोरी पहिल्याएर अघि बढ्न नसक्नु नै बिमा क्षेत्रको पहिलो चुनौति भएको बताए । ग्रामीण क्षेत्रमा बिमा व्यवसाय विस्तारका लागि बिमा समितिले खासै राम्रो भूमिका निर्वाह गर्न नसकेको उनले बताए ।

बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरू

सबैभन्दा पहिला बिमा गर्ने सम्पत्तिमा पर्न सक्ने जोखिमहरू निश्चित गर्नुपर्छ । सोहीअनुसार बिमा गरिनुपर्छ । सम्पत्तिको उचित मूल्यांकन गर्नुपर्छ । बिमा गर्दा अर्काको करकापमा गर्नुहुँदैन । बिमासम्बन्धी राम्रोसँग जाने बुझेको व्यक्ति वा बिमा कम्पनीहरूसँग सरसल्लाह गरेर मात्रै गर्नुपर्छ ।
बिमा गरेपछि आफूले गरेको बिमालेखको राम्रोसँग अध्ययन गर्नुपर्छ । बिमाले कुनकुन जोखिमको रक्षा गर्छ सो बारेमा आफूले राम्रोसँग बुझ्नुपर्छ । निर्जीवन बिमा गर्दा पनि धेरै कुरामा ध्यान दिनुपर्छ । निर्जीवन बिमा गर्न किन र केका लागि बिमा योजना खरिद गर्न लागिएको हो भन्ने बारेमा आफू प्रस्ट हुनुपर्छ । आफूलाई कुनचाहिँ योजना ठीक लाग्छ, सोही योजनामा हात हाल्नुपर्छ । घर तथा सवारीसाधनको बिमा गर्दा आफ्नो लागत के कस्तो छ भन्ने कुरामा ध्यानमा दिनुपर्छ । बिमा योजना खरिद गर्दा एकैचोटि भारी योजना खरिद गर्नुहुँदैन । आफूले खरिद गर्न लागेको बिमा योजनाले आफ्नो साधन वा घरको सम्पूर्ण जोखिमलाई ओगट्छ कि ओगट्दैन भन्नेबारे ध्यान पु¥याउनुपर्छ । कुनै पनि बिमा योजना खरिद गर्नुपहिले आफ्नो व्यापार वा बिमा गरिने साधनमा के–कस्ता समस्या तथा अप्ठ्यारा आउन सक्छन् भन्ने बारेमा सबै अध्ययन गर्नुपर्छ ।

बिमा क्षेत्रका बेथिति हटाउन तलब भत्तामा मापदण्ड

पछिल्लो समय नयाँ बिमा कम्पनीहरू खुल्ने क्रम जारी छ । नयाँ बिमा कम्पनीहरूले पुराना बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)लाई धेरै तलब भत्ता दिएर लैजाने होड चलेपछि बिमा क्षेत्रमा विकृति नआओस् भन्नका लागि समितिले सीईओको तलब भत्तामा मापदण्ड तोकेको हो । यसले बिमा क्षेत्रलाई थप व्यवस्थित बनाउने बिमा समितिले जनाएको छ । समितिले कम्पनीका सीईओहरूको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन जारी गर्दै बिमा कम्पनीहरूले सीईओलाई दिने तलब, भत्ता तथा अन्य सुविधालाई चार भागमा विभाजन गर्न भनेको छ । जसमा वार्षिक तलब तथा भत्ताहरू, कार्यसम्पादनमा आधारित पारिश्रमिक, बिमासम्बन्धी सुविधाहरू र अन्य सुविधाहरू रहेका छन् । सीईओले आफ्नो सावधिक जीवन बिमा, दुर्घटना बिमा र सीईओ र उसको एकाघर परिवारको स्वास्थ्य बिमा सुविधासमेत पाउनेछन् । साथै कार्यसम्पादनको आधारमा सीईओले वार्षिक तलबको ६० प्रतिशतसम्म भत्ता पाउन सक्नेछन् । पुराना बिमा कम्पनीले तीन वर्षको औषत कर्मचारी खर्चको ६ प्रतिशत अथवा विगत अन्तिमको तीन वर्षकोे कुल सम्पत्तिको औषतमा ०.१ प्रतिशतदेखि ०.५ प्रतिशतसम्म खर्च गर्न पाउनेछन् । उक्त मार्गदर्शन गत पुस १ गतेदेखि नै कार्यान्वयनमा आएको र अब नयाँ बिमा कम्पनीका सीईओहरूको तलब सुविधा सोहीअनुरूप हुनुपर्ने बिमा समितिले जनाएको छ । यो मापदण्ड लागू हुनुभन्दा पहिला नियुक्ति पाइसकेका प्रमुख कार्यकारी अधिकृतका हकमा यो नियम लागू हुनेछैन । उनीहरूले अर्को नियुक्ति लिँदा भने यो मापदण्ड लागू हुने समितिको भनाइ छ ।

लघु बिमा प्रभावकारी बनाउँदै

कृषि बिमाको क्षेत्र विस्तार गर्न बिमा समितिले लघु बिमा कार्यक्रम सुरु गरेको छ । सो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बिमा कम्पनीहरूलाई समितिले निर्देशन पनि दिएको छ ।
सरकारले आर्थिक वर्ष २०७४÷७५ को बजेटमा समेत सबै बिमा कम्पनीहरूले कुल बिमा रकमको पाँच प्रतिशत लघु बिमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ ।