देउवा सभापति बन्नुभयोे , नेता बन्नुभएन

देउवा सभापति बन्नुभयोे , नेता बन्नुभएन

 

तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन महŒवपूर्ण भूमिका खेल्नेमध्येका एक हुन्, कांग्रेस नेता कृष्णप्रसाद सिटौला । नेपाली कांग्रेसभित्र पछिल्ला दिन शक्तिशाली बन्दै गएका उनी प्रतिनिधिसभा निर्वाचनमा भने कुनैबेला आफैंले लोकतान्त्रिक प्रतिस्पर्धामा ल्याउन महŒवपूर्ण भूमिका खेलेको पार्टी नेकपा माओवादी केन्द्रले एमालेसँग गरेको गठबन्धनका कारण पराजित भए । आफूसँगै प्रत्यक्षतर्फ सिंगो पार्टीले पराजय भोगेपछि उनी यसको दोष पार्टी नेतृत्वलाई दिन थालेका छन् । सम्भवतः नेपाली राजनीतिमै कांग्रेसका लागि यसपटकको निर्वाचन नतिजाले कडा झट्का दिएको छ । कांग्रेसले यसरी हार बेहोर्नुको कारण के हो, कांग्रेस अब कसरी अगाडि बढ्छ ? यिनै विषयवस्तुको सेरोफेरोमा राजधानी दैनिकका वरिष्ठ समाचारदाताद्वय सविन शर्मा र महेश्वर गौतमले उनीसँग गरेको कुराकानीको सम्पादित अंश : 

कृष्णप्रसाद सिटौला

नेता, नेपाली कांग्रेस

 

० स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले पाएको मत परिणामलाई कसरी हेर्नुभएको छ ?

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले पाएको मत विगतका निर्वाचनभन्दा बढी नै छ । समानुपातिकतर्फ पार्टीले पाएको मतले त्यसको पुष्टि गर्छ । अर्काेतर्फ दुई कम्युनिस्ट शक्ति गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुँदा कांग्रेस परिणाममा पछि परेकै हो । तर, यो सामान्य विश्लेषण हो ।
स्थानीय तहदेखि नै हेर्दा पार्टीको व्यवस्थापकीय कमजोरी निर्वाचनका बेला धेरै रह्यो । उम्मेदवार छनोटदेखि चुनावको व्यवस्थापनको विषयमा केन्द्रको अगुवाइमा कमजोरी भयो ।

० प्रधानन्यायाधीश प्रकरण, प्रहरी प्रमुख प्रकरणलगायतका सरकारका निर्णयले जनताले कांग्रेसलाई नरुचाएका हुन् ?

पहिलो कुरा, संविधान जारी भइसकेपछि कसैको पनि स्पस्ट बहुमत नहुँदा सत्ता समीकरणको खेलमा कांग्रेस कहीँ न कहीँ चुक्न पुग्यो । संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख सबै पद कम्युनिस्ट शक्तिकै हातमा गयोे । त्यही सत्ता समीकरणको कमजोरीको असर कांग्रेसका लागि सम्पन्न सबै निर्वाचनमा परेको हो भन्ने मेरो बुझाइ हो ।
दोस्रो कुरा प्रहरी प्रमुख नियुक्ति प्रकरण र प्रधानन्यायाधीशमाथि महाअभियोग प्रकरणमा कमजोरी भएकै हो । आईजीपी नियुक्ति क्याबिनेटले नै गर्ने हो । अदालतले यसलाई गर उसलाई गर भन्ने होइन । तर, विवाद नियुक्ति अघिदेखि नै सुरु भयो ।
त्यसबेला प्रधानमन्त्री र गृहमन्त्रीले विवादबाहिर जान नदिई सहज ढंगबाट गर्न सक्नुपथ्र्यो । त्यहीँ कमजोरी भयो । त्यसबेला सेन्टिमेन्टकै उत्तेजनाको खेल भयो । आवश्यकताभन्दा बढी उत्कर्षमा सरकार पुग्यो । तर, सरकारको नेतृत्व गरेको माओवादीलाई कुनै असर नपर्ने कांग्रेसलाई मात्रै पर्ने त होइन ।

० उम्मेदवार छनोट गर्दा पनि त सही व्यक्ति छनोट नभएको पार्टीभित्रैबाट गुनासो आउने गरेका छन् नि ?

उम्मेदवार छनोट गर्दा वैधानिक ढंगबाट हुनुपर्छ भन्ने पनि म नै हो तर त्यसो भएन । गएको केन्द्रीय कार्यसमितिमा धेरै साथीबाट यो विषय उठ्यो ।
यस विषयमा म सभापति र वरिष्ठ नेता दुवैसँग असन्तुष्ट छु । टिकट वितरण गर्न बनाएको संसदीय बोर्ड पार्टीको हाइएस्ट बडी हो । त्यो नै विधानअनुसार नहुँदा असफलता भयो नै अनि त्यसले गर्ने निर्णय कसरी सफल हुन सक्छ ? स्वाभाविक रूपमा असर प¥यो नै ।
समानुपातिकतर्फ त झन् भारी असन्तुष्टि भयो । न्याय भएन, विवेक भएन भन्ने गुनासो आउनु स्वाभाविक नै हो नि । समानुपातिकतर्फको नाम त हामी आफैंले पनि हेर्न पाएनौं । आयोगले पत्रिकामा निकालेपछि थाहा पायौं । यसमा सभापति र वरिष्ठ नेता दुवैले पूर्ण जिम्मेवारी लिनैपर्छ ।

० पार्टी सुदृढीकरणका लागि भन्दै केही युवा नेता अभियानमा हुनुहुन्छ, पार्टीलाई सुधारेर अब कसरी अघि बढ्ने भन्ने सोच्नुभएको छ ?

हाम्रो पार्टीको संरचना पुरानो संविधानबमोजिम नै छ । सबै साथी यसमा चिन्तित हुनुहुन्छ । नयाँ संविधानले देशको राज्य संरचनामै नयाँ व्यवस्था ग¥यो, गाउँपालिका, नगरपालिका, प्रदेशको संरचनातर्फ मुलुक अघि बढिसकेको छ । अब नयाँ संविधानको नयाँ संरचनाअनुसार नै पार्टीलाई बदल्नुपर्छ । त्यसमा ढिला गर्नुहुँदैन । पार्टीको महासमिति बैठक तत्काल बोलाएर संरचनागत विषयमा व्यापक छलफल गर्नुपर्छ । पार्टीको नीतिगत, रणनीतिगत र पार्टीका सबै विचारधारामा एकपटक छलफल आवश्यक छ । पार्टीले नवीन सोचसाथ नवीन कार्यदिशा तय गर्न सक्नुपर्छ भन्ने मेरो धारणा हो ।
मुलुकको संविधानले कांग्रेसका लागि नयाँ परिस्थितिको निर्माण गरेको छ । त्यहीअनुसारको प्रस्ताव अबको महासमितिमा आवश्यक छ । राष्ट्रसामु चुनौती खडा भएको छ, सबै दल अब नयाँ सोचसाथ अगाडि बढ्नुपर्छ, सबैभन्दा बढी कांग्रेस नयाँ सोचका साथ अघि बढ्न सक्नुपर्छ ।

० कांग्रेसभित्रको गुटले पनि पार्टी कमजोर बनाएको व्यापक टिप्पणी छ । त्यसमा कस्तो सुधार आवश्यक छ ?

मलाई त्यस्तो लाग्दैन, लोकतन्त्रमा विश्वास गर्ने दलभित्र विचार, नीति र नेतृत्वका आधारमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा हुँदा संसारभर नै समूह बन्छन् । विचारको मत भिन्नता हुन्छ । खराब कुरा मान्न सकिन्न । नेतृत्वको कला र क्षमताले त्यसलाई कसरी समायोजन गरेर व्यवस्थित गर्ने भन्ने विषय हो । नेतृत्वले त्यतातर्फ सोच्नुपर्छ । गुटले पार्टीलाई सुधार गर्न नै मद्दत पुग्छ ।

० अब पार्टीमा नेतृत्व परिवर्तनको आवश्यकता देखिएको हो ? नयाँ पुस्ता नेतृत्वमा आउने सम्भावना कस्तो छ ?

राजनीतिमा उमेरको बन्धनको कुरा नगर्दा नै राम्रो हुन्छ । म त्यसलाई मान्दिनँ । विचार, कार्य क्षमता र नेतृत्व क्षमताले मानिस युवा र बुढो छुटिने हो । बीपीले क्यान्सर रोग लागेर पनि मृत्यु शैøयाबाट आफ्नो विचारबाट समाजलाई अगाडि बढाउन प्रेरणा दिनुभएकै हो ।
पार्टीभित्र नयाँ विचार ल्याउने र नयाँ क्षमता देखाउने युवा साथीहरूको कुरामा म सहमत छु । आफूलाई चलाउन नसक्ने भएपछि नेतृत्वबाट बिदा पनि लिनुपर्छ । यो स्वाभाविक पनि हो । कि त नेतृत्वले देखाउन सक्नुप¥यो कि त हस्तान्तरण गर्न सक्नुप¥यो ।
यो पार्टीभित्र आमूल परिवर्तनको माग हो । यसमा आचरण र चरित्रको परिवर्तन जोडिन्छ । समग्रमा आफ्नो गल्तीलाई पश्चाताप गर्ने हो भने त्यही मान्छे पछि सुध्रिन सक्छ । अब कसैले ‘मलाई नेता मान’ भनेर मात्र हुँदैन, नेतालाई मान्ने होइन, विचारलाई मानेर एक भई अघि बढ्ने वातावरण हुनुपर्छ । हाम्रो सभापतिज्यू सभापति त बन्नु भो, सभापति त मानेकै छौं तर नेता बन्न सक्नुभएको छैन । सभापति बन्नु र नेता बन्नु फरक हो । नेतामा दृष्टिकोण हुन्छ, नीति हुन्छ, रणनीति हुन्छ, कार्यक्रम हुन्छ, संगठन हुन्छ । भोट पाएर जित्नु मात्रै नेता हुनु होइन, अहिलेको माग नेता बन्नु हो ।

० कांग्रेसभित्र संसदीय दलको तयारी पनि हुँदै छ । सभापतिले पनि फेरि इच्छा देखाइसक्नुभएको छ, यहाँको सहयोग कसलाई हुन्छ ?

म यसपालि रिङ आउट भइसकें । मेरो त्यस्तो भूमिका रहन्छ भन्ने लाग्दैन, साह्रै धेरै त्यस्तो भूमिका निर्वाह गर्ने भन्ने सोच पनि छैन । साथीहरूले जसलाई मान्नुहुन्छ, मान्नुहुन्छ । आफ्नो विवेक प्रयोग गर्नुहुन्छ भन्नेमा म ढुक्क छु । मेरो मान्यता त्यही हो ।

० यहाँले अब कसको नेतृत्वमा सरकार सम्भावना देख्नुभएको छ ?

झट्ट परिणाम हेर्दा कि केपी ओली या पुष्पकमल दाहाल नै हो प्राइमिनिस्टर । उहाँ दुईमध्ये एक बन्नुहोला । नेपाली कांग्रेस प्रतिपक्षमा बस्छ । यो प्रस्ट छ । अबको सरकारको नेतृत्व गर्ने जोसुकै होस्, देश र जनताका हितका लागि कला र क्षमता देखाउन सक्नुपर्छ । प्रधानमन्त्री बन्ने मात्रै होइन, देशको राजनेता बनेर देखाउनुपर्छ ।प्रधानमन्त्री बन्नका लागि मत बढी आएर नमात्तीकनै सबैलाई समेटेर मुलुकको हितमा लाग्ने सरकार सफल सरकार बन्न सक्छ । र त्यही सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री राजनेता बन्न सक्छन् ।

 आफू हारेर पनि देशलाई कांग्रेसले सफल बनाएको छ
 संवैधानिक जटिलताले सरकारको आयु लम्बिन गएको हो
 राजनीतिमा उमेरको बन्धनको कुरा नगर्दा नै राम्रो हुन्छ
 गुटले पार्टीलाई सुधार गर्न नै मद्दत पुग्छ
 समानुपातिकतर्फको नाम त आयोगले पत्रिकामा निकालेपछि थाहा पायौं

० कांग्रेस प्रतिपक्षमा बस्दै गर्दा सरकार कस्तो हुनुपर्छ ?

कांग्रेसले सरकारलाई प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिकाबाट सहयोग गर्न चाहन्छ । राम्रो कामलाई सहयोग गर्ने नराम्रो कामलाई रोक्ने हो, कांग्रेस त्यसमा दृढ रहन्छ । ‘कांग्रेस सानो पार्टी भयो, हारिहाल्यो, अब यही मौकामा पेलेर जानुपर्छ’ भन्ने चाहिँ नसोच्दा हुन्छ । त्यो अहंकार कसैले राख्नुभो भने उहाँहरूको पनि त्यही बाटोबाट पतनको दिन सुरु हुन्छ । मात चढ्यो भने नशा छुट्छ ।
कांग्रेस नेपालको विकास द्रुत गतिमा होस् भन्ने चाहन्छ । हामी संघीय संरचनाको कार्यान्वयनको प्रारम्भमा पनि छौं । यसको अनुभव पनि हामीलाई छैन । अन्यत्रको देखेर र अध्ययन गरेर बुझेका हौं । सबैको चाहनाबाट यो व्यवस्था हामीले ल्याएका हौं । यसलाई सफल बनाउन हामी सबै मिलेर अघि बढ्नुको विकल्प छैन । सिंगो नेपालको राजनीति दु्रत विकासमा जानुपर्छ ।
बृहत्तर वैचारिक आधारमा नेपालको राजनीतिलाई सबैले मिलेर अघि बढाउन सक्नुपर्छ । यसका लागि जनताले कांग्रेसलाई प्रतिपक्षमा नै बसेर सहयोग गर भन्ने अभिमत दिएका छन् । नीतिगत रूपमा साझा राजनीतिक एजेन्डाबाट राजनीतिक दलहरू अब अघि बढ्नुपर्छ । अब बन्ने प्रधानमन्त्री पनि बडो जिम्मेवार हुनैपर्छ ।

पार्टीभित्र नयाँ विचार ल्याउने र नयाँ क्षमता देखाउने युवा साथीहरूको कुरामा म सहमत छु । आफूलाई चलाउन नसक्ने भएपछि नेतृत्वबाट बिदा पनि लिनुपर्छ । यो स्वाभाविक पनि हो । कि नेतृत्वले देखाउन सक्नुप¥यो कि हस्तान्तरण गर्न सक्नुप¥यो

० कांग्रेस, माओवादी र मधेसवादी मिलेर पनि सरकार बन्न सक्छ भन्ने कुरा छ नि, त्यस्तो खेल सुरु भएको हो ?

जनताले वाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउने म्यान्डेट दिएका छन् । गठबन्धन टुटाउने खेलमा कांग्रेस छैन । यदि वाम गठबन्धनबाट सरकार नबन्ने अवस्था आएमा अर्को विकल्प त आउन सक्छ । त्यो असम्भव पनि होइन । उहाँहरू मिलेर सरकार बनाउनुभयो भने राम्रो हो ।
यदि वाम गठबन्धनको सरकार बन्न सकेन, उहाँहरू मिल्न सक्नुभएन भने पनि कांग्रेस सरकारमा जाँदैन तर अरू कुनै सरकारलाई कांग्रेसले फ्लोर समर्थन गर्न सक्छ भन्ने मेरो धारणा हो । यसबारे पार्टीमा कुनै छलफल भएको छैन ।

० अहिलेको अवस्थामा यहाँको बुझाइमा एमाले, माओवादी र मधेसवादी कस्ता कस्ता दल हुन् ?

एमाले र माओवादी फरक पृष्ठभूमिका फरक विचारधाराका कम्युनिस्ट पार्टी भए पनि फरक उद्देश्य बोकेका पार्टी हुन् । एमाले कम्युनिस्ट पार्टी भए पनि लोकतान्त्रिक धारमा रूपान्तरित हुँदै आएको पार्टी हो । उसको लोकतन्त्रप्रतिको लामो अभ्यास छ तथापि माक्र्सवाद लेलिनवादको सिद्धान्त र दर्शन नछाड्दासम्म पूर्ण रूपमा लोकतान्त्रिक भइसक्यो भन्न सकिँदैन ।
माओवादी भर्खरै लोकतन्त्रको धारमा बहुदलीय व्यवस्थामा आएको छ । बन्दुकको नालबाटै सत्ता लिने विचारधाराबाट आएको माओवादी भर्खरै आफ्नो विचार परिवर्तन गरी संसदीय पद्धतिमा आएको छ । उसको पृष्ठभूमि परिवर्तन हुँदै छ ।
मधेसीकेन्द्रित दलहरूको बढी ध्यान तराईमधेसमा नै केन्द्रित छ । उहाँहरूको इतिहास छोटो छ । यसैले यतिखेर परीक्षाकै घडीमा हुनुहुन्छ । केही साथीहरू अलि माथि उठ्ने प्रयत्नमा नै देखिनुभएको छ । विभिन्न विभाजनमा पुगेका दल एकत्रित भएर आफ्नो एजेन्डा संस्थागत गर्ने काममा लाग्नुभएको छ ।

० कांग्रेसको सातै प्रदेशमा अब सरकारमा सहभागी हुने स्थिति छैन, पार्टीको सबै प्रदेशमा अब एकै सिसिमको नीति हुन्छ कि फरक फरक ?

पक्कै पनि मूलभूत रूपमा पार्टीको नीति देशैभर एकै किसिमको हुन्छ । तर, स्थानीय मागको सन्दर्भमा कतिपय विषय प्रदेशपिच्छे फरक हुन पनि सक्छ । उदाहरणका लागि प्रदेश ६ र प्रदेश २ मा आर्थिक मुद्दाका विषयमा जनताको चाहना फरक होला । त्यहाँको माग र आवश्यकता पनि फरक हुन सक्छन् । प्रदेशको परिस्थितिगत विषय फरक भए पनि समग्रमा राजनीतिक कार्यदिशा सबै प्रदेशको एउटै हुन्छ ।

० वर्तमान सरकारको गतिविधिलाई कसरी लिनुभएको छ ?

सरकार बाध्यात्मक परिस्थितिमा छ । सभापतिज्यूलाई सरकारमा बसिरहने र सत्ता लम्ब्याउने रहर छैन । तर, संवैधानिक जटिलताहरूले गर्दा सरकारको आयु केही समय लम्बिन गएको हो । सरकारको गतिविधि जुन हुनुपर्ने हो, त्यही भएको छ । अब सरकार केही समय मात्रै हो । यसमा धेरै चिन्ता लिनुपर्ने कुरा छैन ।

० अन्त्यमा संविधान कार्यान्वयनको अवस्थालाई कसरी लिनुभएको छ ?

जुन रूपमा सोचेर संविधान बनाइएको हो, त्यही धारबाट आजसम्म हामी अघि बढेका छौं । कांग्रेसका लागि घाटा भए पनि मुलुकका लागि फाइदा भएको छ । संविधानबमोजिम नै आज सबै निर्वाचन सकिएको छ । परिणाम कांग्रेसका पक्षमा नआउनु हाम्रो कमजोरी, असफलता हो । तर, मुलुकले सफलता पाएको छ । संविधान जारी गर्दा बहिष्कार गर्ने शक्तिहरू आज निर्वाचनमा सहभागी भएर जनमतको दायरामा आउनुभएको छ । यो पक्ष सिंगो नेपालका लागि गर्वको कुरा हो ।
संविधान सर्वस्वीकार्य भएको छ । आफू हारेर पनि देशलाई कांग्रेसले सफल बनाएको छ । यो गौरव कांग्रेसको हो । यसमा गौरव गर्नैपर्छ । कांग्रेसको नेतृत्वमा संविधान बनेको र कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयनका सबै निर्वाचन सम्पन्न भएको छ । यसले कांग्रेसलाई घाटा पुगे पनि मुलुकलाई नाफा भएको छ ।