मनाङ पुलिससँग पराजित

पोखरा / रास– साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब १६औं आहा रारा गोल्डकपकोे सेमिफाइनल प्रवेश गरेको छ ।

इटहरी गोल्डकपको उपाधि होडमा शनिबार मात्र थ्री स्टारसँग शून्य–एक गोलअन्तरले पराजित हुँदै यहाँ आएको मनाङको आहा रारामा सर्वाधिक उपाधि रेकर्ड राख्ने सपनामा पुलिसको दोस्रो हाफमा गोल वर्षाले चकनाचुर  भएको हो ।

पहिलो हाफ बराबरी खेलेको पुलिसले दोस्रो हाफमा २० मिनेटभित्रै ३ गोल गरेको थियो । खेलको ५२औं मिनेटमा डि–बक्समा रहेका नीरकुमार राईले गरेको कडा प्रहारले बल जाली चुम्न पुगेको हो ।

उनको अग्रतासँगै खेलको ५७औं मिनेटमा दिनेश राजवंशीले गोलअन्तर दोब्बर पारे । नीरकुमारको कर्नर बललाई तेज तामाङले दिनेशलाई पास मिलाएका थिए ।

यस्तै, ७२औं मिनेटमा म्यान अफ दी म्याचसमेत घोषित सुमन लामाले गोल थप्दै जित सुनिश्चित गरेका हुन् । मनाङको गोल फर्काउने कोसिसमा ८२औं मिनेटमा सन्तोष साहुखलले क्याप्टेन अनिल गुरुङको पासलाई हेडमार्फत गोल गर्दैै गोलअन्तर घटाउन पुगेका थिए । पोखरा रंगशालामा मनाङ समान सर्वाधिक पाँचपटक उपाधि जितेको पुलिस पछिल्ला दुई संस्करणमा पहिलो चरणमै पराजित भएको थियो ।