सुनिल र प्रतीक्षालाई स्वर्ण

राजधानी समाचारदाता / काठमाडौं

सुनिल श्रेष्ठ र प्रतीक्षा खड्काले भ्याली पब्लिक मिनी म्याराथनमा मंगलबार स्वर्ण जितेका छन् । छात्रतर्फ ५ किमी दौडमा लक्ष्मीपुर स्कुलका सुनिलले स्वर्ण जित्दा माउन्टकैलाशका सन्देश कार्कीले रजत जिते । त्यस्तै, रिपुमर्दिनी सैनिक स्कुलका किरण अधिकारी तेस्रो भए । ओलम्पियन बैकुठ मानन्धरले उद्घाटन गरेको भ्याली पब्लिक मिनी म्याराथनअन्तर्गत छात्रातर्फ ३ किमी दौडमा रिपुमर्दिनी सैनिक स्कुलकी प्रतीक्षा खड्काले स्वर्ण जितिन् । रिपुमर्दिनी स्कुलकी पुष्पा रोकायले रजत जित्दा हिमालय हेल्प चिल्डे«न एकेडेमी(एचएचसीए)की अनिता सुनुवारले कांस्य हात पारिन् ।

बूढानीलकण्ठबाट सुरु भएको छात्रतर्फको ५ किमी दौड आयोजक भ्याली पब्लिक स्कुलमा आएर सम्पन्न भएको थियो । त्यस्तै, छात्रातर्फको ३ किमी दौड सुकेधाराबाट सुरु भएर भ्याली पब्लिक स्कुलमा आएर सम्पन्न भएको थियो ।

भ्याली पब्लिक स्कुलको रजत महोत्सवका अवसरमा आयोजित मिनी म्याराथनका विजेता खेलाडीलाई ओलम्पियन बैकुठ मानन्धरले समापनका अवसरमा पुरस्कृत गरे ।

सो अवसरमा विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले ओलम्पियन मानन्धरलाई मायाको चिनो दिएर सम्मान गरेका थिए । प्रतियोगिताका विजेताले ५ हजार, उपविजेताले ३ हजार र तेस्रोले २ हजार नगदसमेत प्राप्त गरे । मिनी म्याराथनमा २९ विद्यालयका १६१ छात्र–छात्राले सहभागिता जनाएका थिए । रजत महोत्सवका अवसरमा यसै साता अन्तरविद्यालय फुटबल प्रतियोगिता पनि हुँदै छ ।