क्यान विवाद समाधानतर्फ

दिल तामाङ / काठमाडौं

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको करिब २१ महिनापछि क्रिकेटका सरोकारवाला निकायहरू क्यान विवाद समाधानका लागि एकमत देखिएका छन् ।

२०७२ मसिंरमा अशोकनाथ प्याकुरेल पक्षले एकलौटी ढंगले क्यानको निर्वाचन गरेको भन्दै नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले माघमा तदर्थ समिति गठन गरेपछि ७३ वैशाखमा क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले

क्यानलाई निलम्बन गरेको थियो ।

त्यसयता आईसीसी प्रतिनिधिसँग पटकपटक छलफल भए पनि निर्वाचित क्यानले आफ्नो अडान नछाडेपछि क्यान निलम्बन लम्बिदै गएको थियो । आईसीसी प्रतिनिधिले हरेक छलफलमा विवाद मिलाउन सबै पक्षलाई आग्रह गर्दै सल्लाहकार कमिटी पनि बनाएको थियो ।

्अन्ततः आइतबार र सोमबारसम्म भएको छलफलपछि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल पक्षकाले आईसीसीका कार्यवाहक अध्यक्ष इमरन ख्वाजाले मौखिक रूपमा क्यान निलम्बन फुकुवा हुने बताएपछि नेपाली क्रिकेटको विवाद समाधानतर्फ उन्मुख भएको हो ।

आईसीसीसँगको बैठकपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार आधिकारिक धारणा राख्दै नेपाली क्रिकेट विवादमा सबै पक्ष लचिलो देखिएको र विवाद समाधानका लागि आगमी जुन महिनासम्मको समयसीमा तोकिएको राखेपले जनाएको छ । आईसीसी प्रतिनिधिमण्डलसँगको बैठकमा सरोकारवालाहरू विवादका विषयमा लचिलो बनेपछि नेपाली क्रिकेटको विवादले निचोड लिने देखिएको हो । आईसीसीका कार्यवाहक अध्यक्ष इमरान ख्वाजासहितको प्रतिनिधिमण्डलले आइतबार र सोमबार दुई दिनसम्म राखेपका सदस्यसचिव केशवकुमार विष्ट, सल्लाहकार समूह, क्रिकेटका सरोकारवाला निकाय, निर्वाचित क्यान र तदर्थसमितिसँग निरन्तर छलफलपछि निर्वाचित क्यान केही लचिलो देखिएपछि नेपालको निलम्बन फुकुवा हुने सम्भावना उच्च बनेको हो । आईसीसीले केही दिनमा नै क्यान निर्वाचनको समयसीमा पठाउनेछ ।

यसका लागि जुनअघि नै आईसीसीले विधान पुनः संशोधन गरेर पाँच सदस्यीय अनुगमन समिति गठन गर्नेछ । सोही तदर्थ समितिले क्यानको साधारण सभा गराउनुपर्नेछ । त्यसअघि प्रक्रिया नपुगेका जिल्ला संघहरूको निर्वाचन सल्लाहकार कमिटीको रोहवरमा हुनेछ । यसो हुन सकेमा आईसीसीले आगामी जुनमा आईसीसीको बैठकले नेपालको निलम्बन फुकुवा गर्न सक्नेछ । निर्वाचित क्यानले ३९ जिल्लाको निर्वाचन गरिसकेको छ । त्यसपछि प्रदेश निर्वाचनका साथै केन्द्रीय निर्वाचनका लागि समय तालिका तयार पार्नुपर्नेछ । यो कमिटीमा तीन जना आईसीसीबाट, एकएक जना सल्लाहकार समिति र क्यानबाट बस्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले यसअघि जे भए पनि अब सच्चिएर नगए आईसीसीका साथै राखेपले पनि कडा कदम चाल्ने बताए । ‘आजसम्म हामी अभिभावकको भूमिकामा बस्यौं, अब पनि नसच्चिए हामी पनि आईसीसीसँगै कडा कदम चाल्नेछौं ।’ सदस्यसचिव विष्टले भने, ‘सबैमा कमजोरी रह्यो अब सच्चिएर जानुको विकल्प छैन, प्रतिबन्ध फुकुवा हुँदै अब क्रिकेटमा नयाँ सम्भावना खुलेको छ । आन्तरिक स्टेक होल्डर्स र एडभाइजरी बोर्ड सबै एकै ठाउँमा आएको छ । अब राखेपले हस्तक्षेप गर्नेछैन ।’

सल्लाकार समितिका संयोजक विनयराज पाण्डेले छलफलमा आईसीसीले उठाएका विषयहरूमा सहमति भएको बताए । उनले अब पनि सहमतिअनुसार विवाद समाधान नभए आईसीसीले कुनै पहल नगर्ने स्पष्ट पारे । ‘आईसीसीले उठाएका विषयमा सहमति भएको छ । मिलेर नगए आईसीसीले पहल गर्नेछैन । यो हाम्रा लागि अन्तिम अवसर हो,’ संयोजक पाण्डेले भने । उनले छलफलमा सहमत भएका विषयलाई सबै सरोकारवाला निकायले एक अवसर र गम्भीरताका साथ स्वीकार्न आग्रह गरे ।

निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अब क्यान विवाद साम्य हुन कुनै कुराले पनि बाधा नपुग्ने बताए । ‘निलम्बन फुकुवा हुन्छ भने हामी सानोतिनो कुरामा अल्झिएर बस्दैनौं । संस्थागत जिम्मेवारी निर्वाचित क्यानको हो । हामी व्यक्तिगत दोष देखाउँदैनौं ।’ प्याकुरेलले भने, ‘त्यसका लागि हदैसम्मको लचकता देखाउन र छोड्न तयार छौं तर सर्त भनेको नेपालको निलम्बन फुकुवा हुनुपर्छ ।’ महासचिव प्याकुरेलले इमरन ख्वाजाले मौखिक रूपमा नेपालको निलम्बन फुकुवा हुन्छ भनिसकेपछि हामीले सानातिना कुरामा मतभेद राख्न नहुने पनि बताए ।