सय करोडमा उक्लियो पद्मावत

मुम्बई / एजेन्सी– बलिउड फिल्म पद्मावतले विभिन्न विवाद झेल्दै दर्शकको मन जितिरहेको छ । यस फिल्मले रिलिज भएको चौथो दिनमा व्यावसायिक रूपमा स्वदेशी बक्स अफिसमा सय करोडभन्दा माथिको व्यापार गरेको छ ।

यो फिल्म विश्वव्यापी रूपमा ११ माघबाट प्रदर्शनमा आएको थियो । फिल्मलाई भारतको राजस्थान, गुजरातसहित विभिन्न प्रान्तमा अझै रिलिज गर्न दिइएको छैन । तैपनि यो फिल्मले भारतीय बक्स अफिसमा आइबारसम्म ११४ करोडको व्यापार गरेको छ ।

यो फिल्मलाई सञ्जयलीला भन्सालीले निर्देशन गरेका हुन् । सिनेमाले भारतीय ऐतिहासिक पात्र एवं महारानी पद्मावतीको निन्दा र अपमान गरेको भन्दै फिल्मविरुद्धको आनन्दोलनलाई राजपुत समुदायले जारी राखेका छन् । फिल्म रिलिजको तयारी गर्दा राजस्थान, गुजरात, उत्तर प्रदेशलगायतका राज्यमा सिनेमा हल तोडफोड, आगलागीसमेत गरिएको थियो । फिल्मलाई विवादकै कारण सेन्सर बोर्डले पास नगरेपछि यसको नाम पद्मावतीबाट पद्मावत राखिएको हो ।

यो फिल्मको सफलतामा निर्देशक भन्सालीसँगै अभिनेता साहिद कपुर, रणवीर सिंह, अभिनेत्री दीपिका पादुकोण अहिले दंग छन् । सिनेमाले भारतसँगै अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो सफलता हासिल गरिरहेको छ । यसले २५० करोडभन्दा माथिको व्यापार स्वदेशी बजारमा गर्ने अनुमान वितरण पक्षको छ ।