छायाछवि काव्य शृंखलामा सुनिए सुदेश र संगीता

राजधानी समाचारदाता / काठमाडौं

मासिक रूपमा हुँदै आएको छायाछवि काव्य शृंखलाको चौथो चरणमा मंगलबार दुई स्रष्टाले आफ्ना कविता र गजल सुनाए । कार्यक्रमको यस शृंखलामा युवा कवि तथा साहित्यकार सुदेश सत्यालले आफ्ना विभिन्न कविता वाचन गरे ।

छन्द कवितामा आप्mनो छुट्टै परिचय बनाएका सुदेशले कार्यक्रम ६ वटा छन्द कविता सुनाएका थिए । उनका कविताहरू समसामयिक, व्यांग्यात्मक, प्रेमिल र शृंगारिक थिए ।

राजधानीको बागबजारस्थित सिटम्याक्स सिनेमा हलमा सम्पन्न कार्यक्रममा गजलतर्फ संगीता थापाले आफ्ना चोटिला गजल सुनाइन् । उनका गजलहरू प्रेमिल थिए । गायिकासमेत रहेकी संगीताले केही गजल गाउँदा दर्शकले तालीले साथ दिएका थिए ।

कार्यक्रमका अतिथि एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष राधेश्याम लेकालीले गजल र कविता दुवै राम्रा भएको बताए । कार्यक्रमका अर्का अतिथि कलाकार तथा निर्देशक निर्मल शर्माले आफू यस्तो खाले साहित्यिक कार्यक्रममा धेरै पछि आएको र कविता÷गजल सुन्नेहरूको माहोलमा निकै राम्रो हुँदै गएको बताए ।

छायाछवि काव्य शृंखलाकी संयोजक एवं मुक्तककार रश्मी रोदनले मध्यस्थता गरेको सो कार्यक्रममा आयोजक शान्तिप्रियले चलचित्र, गीतसंगीत, नाटक र साहित्यलाई हातेमालो गर्दै अघि बढाउन आफूहरूले साहित्य शृंखला पनि आयोजना गर्दै आएको बताए । आगामी पाँचौं शृंखला ७ फागुनमा आयोजना गरिने पनि उनले जानकारी गराए ।