कामना अवार्डमा छक्का पन्जा उत्कृष्ट , विपीन र सिर्जना उत्कृष्ट अभिनेता–अभिनेत्री

राजधानी समाचारदाता / काठमाडौं

कामना फिल्म अवार्ड–२०७४ मा विभिन्न आठ विधामा अवार्ड जित्दै चलचित्र ‘छक्का पन्जा’ उत्कृष्ट फिल्म बन्न सफल भएको छ । मंगलबार राजधानीको आर्मी अफिसर्स क्लबमा सम्पन्न सो अवार्डमा २०७३ मा प्रदर्शन भएका सबै चलत्रिचलाई उछिनेर छक्का पन्जा उत्कृष्ट चलचित्र घोषित भएको हो ।

कामना पब्लिकेसनले सीजी इन्टरटेनमेन्टको सहकार्यमा आयोजना गरेको यो अवार्डमा छक्का पन्जाबाट दीपश्री निरौलाले उत्कृष्ट नवनिर्देशकको अवार्ड चुमिन् । छक्का पन्जाबाटै दीपकराज गिरीले उत्कृष्ट खलनायकको अवार्ड, जितु नेपालले उत्कृष्ट सहअभिनेताको अवार्ड, केदार घिमिरे ‘माग्ने बूढा’ले उत्कृष्ट हास्य अभिनेताको अवार्ड प्राप्त गरे ।

छक्का पन्जाबाटै कविराज गहतराजले पूर्व–पश्चिम गीतको नृत्यमा उत्कृष्ट नृत्य निर्देशकको अवार्ड, दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले संयुक्त रूपमा उत्कृष्ट संवादको अवार्ड, सुन न चम्पा…गीतबाट कृष्ण काफ्लेले उत्कृष्ट गायकको अवार्ड जित्न सफल भए ।

अवार्ड समारोहमा यस वर्षको उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र जात्राबाट विपीन कार्कीले र उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र डाइङ क्यान्डिलबाट सिर्जना सुब्बाले प्राप्त गरे ।

उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र गाजलुबाट हेमराज बीसीले चुमेको सोही समारोहमा हेमराजले नै गाजलुबाट उत्कृष्ट कथाको अवार्ड पनि हासिल गरे । कामना फिल्म अवार्डमा चलचित्र गाजलुले पाँच विधामा अवार्ड जित्यो । गाजलुबाटै श्रृष्टी श्रेष्ठले नवअभिनेत्रीको अवार्ड, सुरेन्द्र पौडेलले उत्कृष्ट सम्पादकको अवार्ड र उत्तम न्यौपानेले उत्कृष्ट ध्वनि मिश्रणको अवार्ड जिते ।

यस्तै, चलचित्र डाइङ क्यान्डिलले जुरी अवार्ड प्राप्त ग¥यो । यही चलचित्रबाट रवीन आचार्यले उत्कृष्ट छायाकारको अवार्ड, लाक्पासिंगे तामाङले उत्कृष्ट बालकलाकारको अवार्ड र सरोज बुढाथोकीले उत्कृष्ट शृंगारको अवार्ड हासिल गरे । यसरी डाइङ क्यान्डिलले पाँच विधामा अवार्ड पाएको छ ।

उत्कृष्ट नवअभिनेताको अवार्ड चलचित्र ‘के म तिम्रो होइन र ?’ बाट आर्यन अधिकारीले पाए । यही चलचित्रबाट हिमाल केसीले उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड, एलिस कार्कीले उत्कृष्ट पाश्र्व संगीतको अवार्ड प्राप्त गरे ।

यस्तै, उत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र होमवर्कबाट गौरी मल्लले, उत्कृष्ट गायिकाको अवार्ड चलचित्र किस्मत–२ बाट अञ्जु पन्तले, उत्कृष्ट गीतकारको अवार्ड चलचित्र शब्दको हरपल…गीतबाट कृष्णहरि बरालले, उत्कृष्ट संगीतकारको अवार्ड चलचित्र लुट–२ को ठमेल बजार…गीतबाट कालिप्रसाद बाँस्कोटाले, उत्कृष्ट पटकथाको अवार्ड चलचित्र जात्राबाट प्रदीप भट्टराईले हासिल गरे ।

यस वर्षको अभिनेत्रीतर्फ पपुरल च्वाइस अवार्ड एसएमएस भोटका आधारमा अभिनेत्री केकी अधिकारीले चुमिन् । यस्तै, सोही समारोहमा संगीत विधामा क्रिटिक्स अवार्डबाट गायिका इन्दिरा जोशीलाई, कोरियोग्राफी तथा फेसनतर्फको क्रिटिक्स अवार्डबाट कोरियोग्राफर रचना गुरुङ शर्मालाई र रंगमञ्चतर्फको क्रिटिक्स अवार्डबाट नाट्यकर्मी राज शाहलाई सम्मानित गरियो ।

नेपाली चलचित्र तथा रंगमञ्च क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पु¥याएका तीन अग्रज चलचित्रकर्मीलाई ‘कामना कृतिमय दीर्घ योगदान सम्मान–२०७४’बाट सम्मानित गरियो । अग्रज छायाकार मञ्जुकुमार श्रेष्ठलाई प्राविधिकतर्फबाट तथा अग्रज दम्पती कलाकार एवं नाट्यकर्मी हरिहर शर्मा र शकुन्तला शर्मालाई दीर्घ योगदानको कदरस्वरूप ‘कामना कृतिमय दीर्घ योगदान सम्मान–२०७४’बाट सम्मानित गरिएको हो । अवार्डको निर्णायकमा चलचित्रकर्मी हरिहर शर्मा, लक्ष्मीनाथ शर्मा, करुण थापा, संगीतकार किरण प्रधान र नाट्यकर्मी अशेष मल्ल थिए ।

अवार्ड समारोहलाई विभिन्न कलाकारले संगीतमय तुल्याएका थिए । अग्रज गायक प्रेमध्वज प्रधान र तारा थापाले चलचित्र माइतीघरको न आउ सामु यसरी…, अग्रज संगीतकार÷गायक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बाँस्कोटाले मीना निरौलासँग चट्ट रुमाल क्या मालुम…गीत गाउँदा दर्शकले तालीले साथ दिएका थिए ।

यही क्रममा मनदकृष्ण श्रेष्ठले हे भगवान मेरो…, तारा थापाले मेरो सपनामा…,आनन्द कार्कीले वनमा फुल्यो फूल…जस्ता गीतबाट कार्यक्रमलाई संगीतमय तुल्याए । यस्तै, रामकृष्ण ढकाल, यस बराल, युवराज चौलागाईं, कृष्ण काफ्ले, दीपाश्री निरौला, ताराप्रकाश लिम्बुले पनि कार्यक्रममा आफ्ना चर्चित गीतहरू

गाएका थिए ।

दीपाश्री निरौला, प्रियंका कार्कीदेखि दिपाशा बीसीसम्मले विभिन्न नृत्यबाट कार्यक्रमको रौनकता बढाए । आयोजकका तर्फबाट कामना पब्लिकेसनका अध्यक्ष पुष्करलाल श्रेष्ठ र गीतकार एवं कवि वसन्त चौधरीले कामना अवार्डका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमलाई जितु नेपाल, नरेश भट्टराई र सुगरिका केसीले रोचक रूपमा अघि बढाउँदा केदार घिमिरे ‘माग्ने बूढा’ले आफ्ना पत्नीसँगको सहकार्यमा नेपाली चलचित्र उद्योगको अवस्थाबारे प्रहसन गरेर दर्शकलाई हँसाए ।