व्यावहारिक ज्ञान देऊ

व्यावहारिक ज्ञान देऊ

बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले उन्नत जातका गाई पालेर मासिक १५ हजार आम्दानी गरेको छ । खासमा कलेज विद्यालयजस्ता संस्था आम्दानीमूलक संस्था होइनन् तर गोकुलेश्वर कलेजको पौरखलाई कम आँक्न मिल्दैन । उक्त कलेजले कृषि विषयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शिक्षा दिनुका साथसाथै गाईभैंसी पालन पनि गर्दै आएको छ । नेपालका धेरै शैक्षिक संस्था घोकन्ते विद्यामा केन्द्रित भइरहेका बेला उक्त कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्राविधिक ज्ञान पनि उपलब्ध गराउने नौलो योजना बनाएको हो । विद्यालय एवं कलेजमा सैद्धान्तिकसँगै व्यावहारिक शिक्षा दिएपछि विद्यार्थीमा पशुपालनप्रतिको आकर्षण बढ्नुका साथै कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने सम्भावना हुन्छ ।

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अहिले गाई, बहर, राँगा, बोका, सुँगुर र भेडा छन् । कलेजमा उन्नत जातका पशु भएपछि स्थानीयले समेत उन्नत बस्तुका बारेमा जानकारी मात्रै पाएका छैनन्, स्थानीय पशुलाई उन्नत जातको बाली लगाउनुका साथै सामान्य रोगका बारेमा समेत जानकारी पाएका छन् । कतिपय कलेजले व्यावहारिक ज्ञान नदिँदा हाम्रा विद्यार्थी पढाइमा कमजोर छन् । कलेजले दिएको प्रमाणपत्र हातमा बोकेर पनि जागिर पाउँदैनन् । यस्तो हुनुमा हाम्रो सिकाइ प्रणालीमै खोट रहेको यथार्थ घामजत्तिकै छर्लंग छ । कृषि विषय पढाउने तर खेती गर्न नसिकाउने, होटलमा खाने परिकारका बारेमा सैद्धान्तिक ज्ञान दिने तर पकाउन नसिकाउने, सिलाइकटाइसम्बन्धी प्रवचन दिने तर लुगा सिलाउने तरिका नसिकाउने प्रचलन नौलो होइन । यो परिप्रेक्ष्यमा गोकुलेश्वर विद्यालय अब्बल ठहरिएको छ । आम्दानी मात्रै होइन, अहिले यस कलेजमा अध्ययनरत विद्यार्थीले आफ्नै कलेजमा उत्पादित दूध पिउँछन् भने अन्य खाद्यान्न उपभोग पनि विद्यार्थीले नै गर्दै आएका छन् । त्यसभन्दा पनि महŒवपूर्ण यस कलेजबाट उत्तीर्ण विद्यार्थीलाई गाईको स्याहार कसरी गर्ने भन्नेमा थप जानकारी दिन जरूरी छैन ।

पछिल्लो समय राजधानी काठमाडौंलगायत मोफसलका धेरै सहरमा प्राविधिक ज्ञानमूलक कलेजहरू स्थापना हुने क्रम बढेको छ । त्यसरी खुलेकामध्ये सीमितले सैद्धान्तिक र व्यावहारिक ज्ञान दिए पनि धेरैले किताबी रटानकै भरमा विद्यार्थीलाई प्रमाणपत्र दिँदै आएका छन् । अब त्यस्ता कलेज सञ्चालकले पनि गोकुलेश्वर कलेजबाट व्यावहारिक ज्ञान दिने उपायबारेमा सिक्न जरूरी छ । केवल कक्षाकोठामा प्रवचन दिएर वा किताब पढाएर मात्रै विद्यार्थीलाई दक्ष बनाउन सकिँदैन । होटल मेनेजमेन्ट पढाउने कलेजले विद्यार्थीलाई खाना बनाउनेदेखि सर्भिस कसरी गर्ने भन्ने सिकाउनैपर्छ भने फर्निसिङ, इन्टेरियर डिजाइनलगायतमा शिक्षा दिनेले पनि सम्बन्धित विषयमा प्राविधिक ज्ञान दिनैपर्छ । आशा गरौं, गोकुलेश्वर कलेजको प्रभाव अन्य प्राविधिक शिक्षालयमा पनि परोस्, कुनै पनि विद्यार्थीले कलेजबाट प्रमाणपत्र लिएर गएको दिन आफूले पढेका विषयको व्यावहारिक ज्ञानबारे ‘थाहा छैन’ भन्ने अवस्था नरहोस् ।