संघीय अभ्यासलाई व्यावहारिक बनाऊ

संघीय अभ्यासलाई व्यावहारिक बनाऊ

 

प्रदेशसभा–३ को बैठक बिहीबारबाट विधिवत् आरम्भ भएको छ । प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकमा भाग लिन  प्रदेश ३ का सांसदहरू ठाँटिएर अस्थायी सदरमुकाम हेटांैडामा जम्मा भएका छन् । हेटांैडाको चहलपहल विशेष छ । प्रदेशसभा–३ को बैठक सुरु भएसँगै मुलुकमा संघीय संरचनाको व्यावहारिक अभ्यास पनि सुरु भएको छ । अन्य प्रदेशसभाहरूको बैठकको मिति पनि तय भइसकेको छ । प्रदेशसभाहरूको बैठक क्रमशः सञ्चालन हुने तयारीसँगै मुलुकले कल्पना गरेको संघीयता लागू भएको छ । यसरी संघीयता व्यावहारिक रूपमा रूपान्तरण भएपछि लामो समयदेखिको प्रतीक्षाको घडी अन्त भएको छ । संघीयता व्यवहारमा लागू भएको दृश्यले आमनागरिकमा नयाँ उत्साह छाएको छ । संघीय सपना साकार भएको छ ।

मुलुकलाई एकात्मक संरचनाबाट संघीय शासन प्रणालीमा रूपान्तरण गर्ने बहस सतहमा आएदेखि नै यो शासन पद्धतिका विषयमा अनेक प्रश्न तेस्र्याउने काम भइरहेको छ । नेपालको हकमा यो पद्धति तत्काललाई आवश्यक नरहेकाले यसलाई अवलम्बन गर्न नहुने तर्क गर्नेहरू पनि छन् । यसलाई अंगीकार गर्दा आर्थिक हिसाबले मुलुकका लागि बोझ थपिने उनीहरूको भनाइ छ । जेजस्तो भए पनि विभिन्न खालका संशय चिर्दै मंसिरमा सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसँगै मुलुक संघीय संरचनामा प्रवेश गरेको हो । त्यसपछि प्रदेशको संरचनाले मूर्तरूप पाएको हो । प्रदेशसभा गठन हुनु, त्यसको विधिवत् बैठक आरम्भ हुनु मात्रै पर्याप्त होइन । मुलुक पहिलोपटक संघीय संरचनाको अभ्यासमा प्रवेश गरेको छ । यसैले, यस्तो संरचनाको व्यावहारिक अनुभव हामीसँग छैन । संघीय अभ्यासबारे गर्दै र सिक्दै जानुपर्ने बाध्यता छ । केन्द्रीकृत प्रणाली अन्त्य गर्दै संघीय संरचनामा पाइला टेकेको हुँदा व्यावहारिक अभ्यासका क्रममा धेरै कुरा तलमाथि हुने सम्भावना पनि छ । यसैले पाइला पाइलामा सचेत हुँदै अघि बढ्नुपर्ने स्थिति छ । केन्दीकृत शासन पद्धतिको मानसिकताले पनि कतिपय काम प्रभावित हुन सक्छन् ।

यसै पनि संघीय शासन प्रणालीलाई जटिल र खर्चालु प्रणालीका रूपमा लिने गरिन्छ । हामीसँग उपलब्ध अहिलेको स्रोतसाधनले थेग्न सक्नेमा धेरै प्रश्न उठाउने काम भइरहेको छ । यसो भएको हुँदा प्रदेशसभामा पुगेका जनप्रतिनिधिले जनताको जीवनसँग प्रत्यक्ष गाँसिने विषयलाई तत्काल चासो दिने र अनुभूति हुने किसिमले प्रस्तुत हुनु आवश्यक छ । संघीय संरचना सबै मुलुकमा सफल भएका छैनन् । तर, हाम्रा लागि भने वास्तवमै आवश्यक रहेको सिद्ध गर्ने अभिभारा प्रदेशसभा सदस्यहरूकै काँधमा आएको छ । जनभावना र चाहनालाई सम्बोधन गर्ने सशक्त र प्रभावकारी तहका रूपमा प्रदेशसभालाई रूपान्तरण गर्न सक्नुपर्छ । प्रदेशसभामा पुगेका आफ्ना सदस्यलाई राजनीतिक दलले पनि गम्भीरतापूर्वक खट्न निर्देशन दिनुपर्छ । प्रदेशसभालाई फुर्सदको बेला जम्मा भएर गफ गर्ने थलो बनाउनुहुन्न । सरकारी सुविधामा मस्ती गर्ने संरचना पनि बनाउनुहुन्न । विकास र समृद्धिको रूपरेखा कोर्ने तहका रूपमा यसलाई स्थापित गर्नुपर्छ । बिहानीले दिनको संकेत गर्छ भनेझैं प्रदेशसभाको प्रारम्भिक गतिविधिहरूबाटै शुभ संकेत दिने ढंगले काम हुनुपर्छ ।