दाउराको सट्टा ग्याँस

दाउराको सट्टा ग्याँस

महेश्वर गौतम

इँटा बनाउँदा आगो लगाउन दाउराको प्रयोग गर्दै आएका भट्टा सञ्चालक ग्याँसबाटै पहिलो आगो लगाउने प्रविधि भित्रिँदा हौसिएका छन् ।  भक्तपुरमा रहेको श्वेत भैरव इँटा भट्टामा दाउराको साट्टा ग्याँसको सिलिन्डर प्रयोग गरेर इँटा पोल्ने प्रविधिको पहिलोपटक सुरुवात गरिएको हो । भट्टामा इँटा पोल्दाको सुरुवाती अवस्थामा नै अघिल्ला सिजनमा भन्दा दाउराको खपत कम भएर छिट्टै आगो सर्दा सञ्चालकहरू नयाँ प्रविधिको प्रयोगतर्फ हौसिएका हुन् ।
इसिमोड नामक अन्तर्राष्ट्रिय संस्थाको पहल र सहयोगमा भक्तपुरमा पहिलोपटक ग्याँसबाट इँटा पोल्ने प्रविधिको सुरुवात गरिएको हो । भट्टा सञ्चालकमध्येका राजकुमार लाखेमरू भन्छन्, ‘दाउराभन्दा छिटो आगो सर्दा निकै सहज  अनुभव भयो ।’


उनका अनुसार २०६१ सालमा सञ्चालमा आएको सो भट्टा २०७२ सालको भूकम्पबाट पूर्ण रूपमा क्षति ग्रस्त भएको थियो । कसरी सञ्चालनमा ल्याउने भनेर सोचिरहँदा इसिमोडको पहलमा सो संस्थाकी कार्यक्रम संयोजक विद्या वनमालीको अग्रसरता र पहलमा सुधारिएको प्रविधिबाट भट्टा सञ्चालनमा ल्याइएको हो ।
नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारका अनुसार यस प्रविधिको प्रयोग विगत दुई वर्षदेखि भए पनि भक्तपुरमा भने पहिलो हो । उनी भन्छन्, ‘दाउराको खपत कम, छिटो आगो फैलने र आर्थिक रूपमा समेत जोगिने भएपछि यस प्रविधितर्फ आकर्षित भएका हौं ।’
चित्रकारका अनुसार ठूलो इँटा भट्टामा इँटा पोल्नका लागि सुरुवाती अवस्थामा नै तीस टनसम्म दाउरा प्रयोग हुने गरेको छ भने सानो र मझौला खालका भट्टाहरूमा न्यूनतम १० देखि १५ टनसम्म दाउरा लाग्ने गरेको छ । तर, ग्याँसबाट नयाँ प्रविधिको सुरुवात गर्दा भने ७० प्रतिशतसम्म दाउराको बचत हुने र सोही हाराहारीमा लगानीसमेत घट्ने उनको अनुभव छ । यस सिजनमा देशभर गरी तीन अर्बको संख्यामा इँटा उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए । इसिमोडको समन्वयमा रहेर काम गर्दै आएका मिनर्जी नामक संस्थाका सुयस प्रजापतिका अनुसार भौतिक सुरक्षाका दृष्टिकोणबाट समेत पुरानो प्रविधिबाट भन्दा यस प्रविधिबाट इँटा उद्योग सुरक्षित रहनेछन् । प्रजापति भन्छन्, ‘भट्टाको वालको मोटाइ, बाहिरी हावाको सुरक्षालगायतमा यस प्रविधिमा ध्यान दिइएको छ ।’
उनका अनुसार ऊर्जा बचतमा समेत यस प्रविधिले सञ्चालकलाई जोगाउने छ भने वायु प्रदुषणमा समेत उल्लेख्य कमी आउनेछ । ६ सय ५० मिलिग्राम परक्युबिक मिटर प्रदूषणको राष्ट्रिय मापन रहेकोमा यस प्रविधिले राष्ट्रिय मापनभन्दा धेरै कम २ सय मिलिग्राम परक्युबिक मिटरसम्म प्रदूषणको मात्रालाई झार्न सक्ने उनले बताए ।
इसिमोडबाट वायु प्रदूषण मापनमा खटिएका सागर अधिकारी ले ग्याँसबाट इँटा उत्पादनको नयाँ प्रविधि अपनाउँदा ४० देखि ५० प्रतिशतको हाराहारीसम्म वायु प्रदूषण घटाउन सकिने बताए । उनका अनुसार धुवाँबाट निस्कने कालो पदार्थलाई समेत नयाँ प्रविधिले ७० प्रतिशतसम्म कम गर्न सक्नेछ । भट्टामा नयाँ प्रकारको आगो घुम्ने प्रविधि अपनाइएकाले कालो पदार्थ कम निस्कने उनले जानकारी दिए । उनी भन्छन्, ‘कोइलाको खपत, वाल र मियानाको परिपक्वता, नयाँ सेटिङ र आरसीसी ढलानयुक्त चिम्नीका कारण सबै दृष्टिकोणबाट नयाँ प्रविधि आकर्षित छ ।’
इसिमोडका कार्यक्रम संयोजक तथा वातावरण विज्ञ विद्या वनमाली प्रधान भन्छिन्, ‘भट्टा सञ्चालकलाई यो प्रविधिप्रति आकर्षित गर्न निकै समय लाग्यो तर अहिले सञ्चालकहरू खुसी छन् । सुरु सुरुमा उहाँहरूले निकै अप्ठ्यारो मान्नुभयो, अहिले परीक्षण सफल भएपछि हौसिएको पाएका छौं ।’