हिरोसिमा, म्युजियम र बंगाली साथी

हिरोसिमा, म्युजियम र बंगाली साथी

अशोक क्षेत्री

नयाँ वर्ष २०१८ सुरू भइसक्यो । नयाँ वर्षले यस्तै केही नयाँ सोच्न र जमर्को गर्न उत्साहित पारिरहन्छ । क्यालेन्डर नयाँ भए तर वाचा उनै दोहोरिए । नयाँ वाँचा गर्न सजिलो । पुरानाको हिसाब पेचिलो हुँदो रहेछ । पछिल्ला वर्षदेखि गत सालको लेखाजोखा पनि गर्ने गरेको छु ।
संयोगले यो वर्षभर जापानको फुकुओकामा रहे । अध्ययनको सिलसिलामा फिलिपिन्स, कोरिया, भियतनाम, लाओस र क्याम्बोडीया भ्रमणको अवसर मिल्यो । बाटोमा पर्ने चीन र थाइल्यान्ड पनि जोड्छु । जापानका मूख्य सहरहरू होक्काइदो, टोकियो, ओसाका, क्योटो, कोबे, हिरोसिमा, यामागुची, किताक्युसु र नागासाकी सहरको अवलोकन गर्ने मौका मिल्यो । फेसबुकमा धेरै साथी जोडेको वर्ष पनि बन्यो, सन् २०१७ । जीवन र सिकाइ चलिरहेको छ, सदाझंै ।
नेपालमा छदाँ वर्षौ खाँदै आएको ग्यास्ट्रिकको औषधि जापानको डाक्टरले छोड्न लगायो । सामान्य ब्याक्टेरियाका कारण सिर्जित ग्यासको एक हप्ते औषधिमूलो गरेपछि औषधि नै खानुनपर्ने एकाएक निरोगी बने म । आरोग्यता, सिकाइ र अवसरका लागि सन् २०१७ मेरा लागि विशेष रहेको छ । यसले सन् २०१८ लाई थप जिम्मेवारी हस्तान्तरण गरेको छ र एक अर्थमा नयाँ थालनी गरिदिएको छ ।
नेपालमा झैं जापानमा पनि धेरै पहाड छन् । कुनै पनि पहाडमा मानवबस्ती फिटिक्कै छैनन् । सडक होस् वा रेलको बाटो । पहाडहरू छेडेर अथाह टनेल बन्दै सोझिएका छन् । हरेक टनेलमा छिरेपछि उही नागढुंगा याद आउँछ । बस्तीबिनाका पहाड देखेर पटकपटक प्रश्न उठ्छ । यो सम्भव कुरा हाम्रोमा किन नगरिएको होला ? यो प्रश्नले सताइरहन्छ । मेरा बंगलादेशी एक सहपाठी छन् । उनी पुलिसका उच्च अधिकृत हुन् । भियतनामको अध्यागमनमा लामो लाइन थियो । साथमा रहेका उनले मलाई सोधे, ‘यी अफिसरको आँखामा के देख्छौं तिमी ?’ रातिको ११ बज्दै थियो, म उत्तरका लागि तयार थिइनँ । ‘निन्द्रा †’ छोटो जवाफ फर्काउँदै मैले प्रतिप्रश्न गरें, ‘तिमी के देखिरहेका छौं र ?’

हाम्रो मुलुकका राजनेता र कर्मचारीको आँखामा घमण्ड हुन्छ । उनीहरू आफैंलाई सरकार ठान्छन् । हामी सबै लाइनमा बसेकाहरूप्रति उसको आँखामा पटक्कै श्रद्धा छैन । ‘जापानको अध्यागमनबारे याद छ ?’ उसको प्रश्नले झसंग भए । ‘अँ, याद छ,’ मैले भनें । ‘ल भन, के याद छ ?’
‘उनीहरू हामीलाई प्रेमले हेर्छन् । आफैं अभिवादन गर्छन् । फर्काउँछन् । मानौं, हामी उनीहरूका मालिक हौं । पत्याउन कठिन छ,’ मैले भनें ।
‘हो,’ उसले भन्यो, ‘जापान प्रविधि र विकासमा मात्र उन्नत छैन् । सभ्यता र सोचमा पनि उम्दा छ ।’ हाम्रो पनि कुरा यही हो । हाम्रो गरिबी विकास, पूर्वाधार र प्रविधिभन्दा यो अफिसरको आखाँमा देखिएको मानसिकता र शैलीमा समस्या छ ।
ऊ थप्छ, ‘हामीसँग कोही पनि सन्तुष्ट छैनन् । के सिनियर, के जुनियर । के राजनेता, के कर्मचारी के पत्रकार, के शिक्षक । हाम्रो कामको अडिट गर्ने यिनै होइनन् ? को छ हामीसँग सन्तुष्ट ? हामी आफैं पनि बुझिनसक्ने भएका छौं । असन्तुष्टहरूको जमात छ यहाँ ।’ लाइन स¥यो । ऊ थामियो । ऊ भन्दै थियो, ‘अध्यागमनमा मुलुकको स्तर बोकेर बस्छ कर्मचारी । यस्तो लाग्छ, हाउभाउ हेर्दा उसले इन्ट्री नदिन सक्थ्यो या थप कष्ट दिन पनि । पटकपटक अध्यागमनको लाइनमा बस्दा सोचेकै कुरा हुन्छ । खुरुक्क काम गरिदिने असल र घुर्ने, घुसखोर ।’
मेरो पालो आयो । मैले अभिवादन गरी पासपोर्ट बुझाएँ । संकेतमा पनि फर्काएन, अफिसरले । बरू माथिदेखि तलसम्म नियालेर ह¥ेयो । उसले के सोच्यो कुन्नि । ममाथि कृपादृष्टि राख्यो र इन्ट्री दियो । धन्यवाद भनेर निस्कें म । मेरो मनमा विचारको तुफान आएको छ । जापानी अध्यागमनको क्षणिकको साथीसाथीले नराम्रोसँग हल्लाइदिएको छ । यो भयो सन् २०१७ को सम्झना ।

सन् २०१८ लाई स्मरणीय पार्ने योजनासहित फेरि एकपल्ट हिरोसिमा पुगियो । त्यो पनि सपरिवार । भट्टराई र घिमिरे परिवारले प्रेम खन्याए । आणविक हतियारले गरेको विनाश र युद्धको दारूण कथाले हृदय छियाछिया पारिदिन्छ । मान्छेको नजानिँदो प्रतिस्पर्धामा रहनुपर्ने नियति हुन्छ ।
प्रतिस्पर्धाले युद्धको कल्पना गर्छ र युद्धले विनाश ल्याउँछ । मलामी जाँदा जीवन दर्शन बुझेझंै रहेछ यो हिरोसिमा र नागासाकी । फेरि पनि रुनकै लागि मान्छे घुइँचो लागिरहन्छन् । आज पनि उत्तर कोरियाले भटाभट युद्ध रोपिरहेछ र अमेरिकाले यसैको व्यापार गर्छ । लुकेको समाजजस्तै रहेछ युद्ध र यसप्रतिको आशक्ति ।
हामी सामान्य मान्छेहरू, उसबेला हिरोसिमा र नागासाकीमा घरायसी काम गरिरहेका अबोध मानवहरू जस्तै यो सबै कुरामा बेखबर छौं । सन् १९४५ मा एकाएक अणुबम झर्छ । जमिन आगोमा बदलिन्छ र एकपछि अर्को खरानी बन्दै जान्छ । फलाम बांगिएका, सिसा पग्लिएका र जमिन स्वयं आँगोको कुवा हुँदै कुरूप बनेको देखेर खल्बलिन्छ मन र मस्तिष्क । विचारा मान्छेको रोदन, क्रन्दन र वेदनाको के हिसाब । यी कहालीलाग्दा विषयलाई अनुभूत गर्ने गरी निर्माण गरेको छ, हिरोसिमा पिस मेमोरियल म्युजियम ।

गत सालकै तुलनामा आमूल परिवर्तन रहेछ यसपालि । सयौंको संख्यामा राखेको टच स्क्रिन पर्दामा हराउँछ मान्छे । फेरि पनि समय कम परिरहन्छ संग्रहालयभित्र । विश्वयुद्धको कहानी, यसको परिणाम र पुनर्निर्माणले मनमस्तिष्कमा झंकार ल्याइदिन्छ । युद्ध र विनाशको उही कथा, उही स्थान र उस्तै अनुभूति । गेटबाट निस्कँदै गर्दा घृणा र युद्धले मनै भरिन्छ । शान्ति र प्रेमको आत्मबोध हुन्छ । मानवीय मूल्य र जीवनको सन्देश मिल्छ । विद्रोह, बदला र हेयको भावना मेटाइदिनु संग्रहालयको सर्वकालीन प्रेरणा र सफलता रहेछ ।
कहिल्यै युद्ध बेहोर्नु नपरेका मान्छेहरू कति भाग्यशाली हुँदा हुन् । किन बुद्धले नेपालमै जन्म लिए होलान् ? यावत् सुखद कल्पनाले बुर्कुसी मारेर घर फर्कन हुरुक्क भइन्छ । गरिबी र मृत्युबीचमा ठूलो फरक छ । आजको जापान र हिजोको विभिषिका पत्याउन कठिन छ । गरिबीको उपचार छ । गरिबी अवसर पनि हो, जुन मृत्यु किमार्थ हुन सक्दैन । सिसा पग्लेझंै, फलाम बांगिएझै पारिदिने आणविक शक्तिले कमजोर शरीरलाई कस्तो पार्छ होला, सोच्न सकिँदैन । बंगलादेशी मित्र भन्छन्, ‘गरे सब ठीक हुन्छ ।’ यात्राका दौरान गर्ने व्यवहारले मानवीयता सिकाउँछ । मान्छले मान्छेसँग मान्छेको जस्तो व्यवहार गर्नु नै सभ्यता रहेछ ।