विपन्नलाई न्यानो कपडा

विपन्नलाई न्यानो कपडा

कृष्ण सिग्देल

सामाजिक सञ्जाल फेसबुकको सहयोगले राजधानी बस्ने ज्योतिष अनिल पुडासैनीले बाराका विपन्न परिवारलाई न्यानो कपडा दिएर राजधानी फर्किएका छन् । सामाजिक सञ्जाललाई सामाजिक समस्या समाधानको साधन बनाउन सकिने कुरा उनको उदाहरणले देखाएको छ ।

सामाजिक अभियानमा सक्रिय रहने पुडासैनीको यसअघिका विभिन्न अभियानबाट उनीमाथिको विश्वास र इमानदारिताका कारण देशदेखि विदेशसम्मका दाताले उनको फेसबुकमै सहयोगको आश्वासन दिएपछि उनी सहयोग संकलन अभियानमा लागिपरेको थिए ।

५ सयदेखि ५ हजारसम्मको आश्वासन दिनेको घरैमा पुगेर संकलन गर्ने अभियानमा लागिपरेका उनलाई अस्ट्रेलिया, अमेरिका, इजरायललगायत देशबाट साथी र आफन्तले सहयोग गरेपछि उनी केही दिन संकलन अभियानमा व्यस्त भए ।

 

‘मैले सहयोगको अपिल गरेपछि संकलन गर्न भ्याई नभ्याई भयो,’ उनले वितरणको क्रममा भने, ‘आफू एक्लै भएर अलि समस्या भयो । १५ दिनदेखि आफ्नो काम गर्न भ्याएको छैन तर यो कर्मले सन्तोष मिलेको छ ।’

करिब १५ दिनको संकलनले १ लाख बढी रकम र केही न्यानो लुगासहित केही दातृ निकाय फाउन्डेसनको ब्ल्यांंकेट उपलब्ध भएपछि उनी बाराका विपन्न परिवार खोज्दै यहाँ आइपुगे ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेलकै रहोवरमा उनले आफ्नो स्थायी घरनजिकैको एक विपन्न दलित बस्तीका सय परिवारलाई न्यानो कपडा बाँडन सफल भए । त्यसैगरी, कलैया उपहानगरपालिका र वीरगन्ज महानगरपालिका लगायतका स्थानमा उनले न्यानो कपडा बाँडे भने केही सडकमा अलपत्र जीवन बिताउनेलाई पनि न्यानो बनाएर राजधानी फर्किए ।

बारा जितपुरसिमरा उपमहानगरपालिका डुमरवाना स्थायी घर भएका पुडासैनी राजधानीमा आफ्नो रोजगारीका साथमा ज्योतिषीको समेत काम गर्छन् । ज्योतिषशास्त्र अध्ययन गरी राजधानीमै बसेर कर्म गरिरहेका उनी यस्तै विभिन्न सामाजिक अभियानमा सक्रिय हुने गरेका छन् ।

यसअघि सामाजिक सञ्जालकै मद्दतले बाराका एक रक्त क्यान्सरपीडित विद्यार्थीलाई उपचारार्थ रकम संकलन गरी बिरामी निको बनाएका उनले बारामा जाडोले कठ्यांग्रिएर मृत्यु भएको खबर सुनेपछि सुरुमा उनले आफ्नो फेसबुकबाट सहयोगको अपिल गरेका थिए ।