सांस्कृतिक पर्व : ल्होछार

सांस्कृतिक पर्व : ल्होछार

प्रतीक तामाङ

परिचय

हिमाली मूलका बासिन्दाले मनाउने थुप्रै चाडपर्व छन् । थरीथरीका यस्ता चाडपर्वले मानव समुदायलाई आफ्नो जीवनशैली व्यवस्थित र सुसंस्कृत बनाउने काम गरिरहेको हुन्छ । सभ्यताको विकास गर्दै समाजलाई व्यवस्थित र अनुशासित बनाउन पनि पर्वहरूको भूमिका हुन्छ । अनि मानवजातिको सभ्यताबारे परिचय दिइरहेको हुन्छ । यस्ता चाडपर्वको अध्ययनले मानवसमुदायको विभिन्न कालखण्डको इतिहासबारे पनि बुझ्न सकिन्छ । यस्ता परम्परागत रूपमा मनाइने पर्वमा उनीहरूको आस्था र भावना गाँसिएका हुन्छन् । हिमाली मूलका बौद्धमार्गीहरूले मनाउने थुपैै्र चाडमध्येको एउटा महŒवपूर्ण पर्व हो ल्होछार । ल्होछारलाई हिमाली क्षेत्रका आदिवासी जनजातिहरूको परम्परामा विशेष सम्बन्ध रहेको पर्वका रूपमा पनि लिइन्छ ।

ल्होछारको अर्थ

तामाङ भाषामा ‘ल्हो’ को अर्थ साल, संवत्, वर्ष वा वर्ग भन्ने हुन्छ र ‘छार’ को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ ‘नयाँ वर्ष’ हो । तिब्बती भाषामा भने लोसार भनिन्छ । ‘लो’ भनेको पनि साल, वर्ष नै हो भने ‘सार’ भनेको नयाँ हो । एउटा वर्ष सकेर अर्को वर्ष सुरु हुने दिनलाई नै ल्होछार भनिन्छ । एउटा जीवजन्तुको नाम (जसलाई वर्ग पनि भनिन्छ) मा रहेको वर्ग सकेर नयाँ वर्ग सुरु भएको दिन, अथवा पहिलो महिनाको पहिलो दिनलाई नै ल्होछार भनिन्छ । यो नयाँ वर्ष सुरु हुने समय मात्र नभएर सांस्कृतिक पर्व पनि हो । बौद्धमार्गीहरूले यो पर्व धार्मिक एवं सांस्कृतिक परम्पराअनुसार लगातार १५ दिनसम्म नै मनाउँछन् ।

ल्होछार उत्पत्ति

ल्होछार परम्परा कहिलेदेखि सुरु भयो भन्ने बारेमा फरकफरक भनाइहरू पाइन्छन् । यो परम्परा संसारकै अनेक परम्परामध्ये सबैभन्दा पुरानो या जेठो परम्परा मानिन्छ । यो चन्द्रपात्रोमा आधारित परम्परा हो । चीनमा चन्द्रपात्रो परम्परा २६३७ ईस्वीपूर्व अर्थात् आजभन्दा ४६५३ वर्ष पहिलेदेखि चलेको भनिन्छ, जुनबेला चीनको सम्राट
ह्वान चीले आफ्नो शासनकालको ६१औं वर्षमा ‘प्रथम चक्र’ सुरुवात गरेको चिनियाँ इतिहासमा पढ्न पाइन्छ । यो परम्परा कसरी सुरु भयो, यस सम्बन्धमा विभिन्न कहानी छन् ।
यो परम्पराको मंगोल सभ्यतामा ५ हजार वर्ष लामो इतिहास भए पनि यसको ज्योतिषीय ज्ञानको आधारमा पात्रोको विकास पछि मात्र भयो । महामञ्जुश्रीले आजभन्दा २८५३ वर्षअघि जीवा ल्हो (मुसा वर्ष) मा चीनको एउटा पहाडमा पहिलोपटक ल्हो परम्परा तथा ज्योतिषीय ज्ञानको विषयमा धर्मदेशना गरेका थिए । त्यसपछि उनै महामञ्जुश्रीले चन्द्रपात्रोको विकास गरेको विभिन्न ग्रन्थमा उल्लेख छ । तिब्बतबाट प्रकाशित हुने मन्चीखाङको पात्रोमा हरेक वर्ष उल्लेख गरिने गरिएबाट पनि थाहा हुन्छ । महामञ्जुश्रीलाई ज्ञानको देवता मानिन्छ । तामाङलगायत सिंगो मंगोल संस्कृतिको ल्हो परम्पराको सर्जक पनि महामञ्जुश्री नै हुन् । ल्हो परम्परा हिमालीमूलका बासिन्दाले मान्ने संस्कृतिको अभिन्न अंग हो ।
ल्हो र खाम नहेरी समाजको जन्मदेखि मृत्युसम्मका कुनै पनि काम अघि बढ्दैन । तामाङ जातिको ताम्बा, बोन्बो र लामा सभ्यता त्यही ल्हो परम्पराबाटै अघि बढ्छ । त्यसकारण तामाङ संस्कृति र सभ्यतामा महामञ्जुश्री विशेष स्थान छ । उनीहरू महामञ्जुश्रीलाई ल्हो परम्पराको सर्जक तथा आफ्ना पूर्खा मान्छन् ।
तामाङहरू उनलाई ज्याङपे याङ भनेर पुज्ने गर्छन् । उनैले नेपाल खाल्डो (काठमाडौं उपत्यका) को विशाल तलाउको पानी आफ्नो खड्गले चोभारको डाँडो काटी दक्षिण पठाएको र उपत्यकामा पहिलो मानवबस्ती बसाएको कथा नेपालको इतिहासले पनि बताउँछ । उनीसँग आएका मानिस नै नेपाल खाल्डोमा पहिलो मानवबस्ती बसाउनेहरू भएको इतिहासकारहरूले बताएका छन् ।

चन्द्र पात्रोमा आधारित परम्परा

ल्होछार परम्परा चन्द्रपात्रोमा आधारित छ अथवा चन्द्रमाको गतिको आधारमा समय गणना गरी यो पात्रो बनाइएको हुन्छ । विक्रम संवतमा ३६५ दिनलाई एक वर्ष मानिन्छ भने ल्होछार परम्परामा आधारित पात्रोमा ३५४ दिनलाई एक वर्ष मानिन्छ । यसलाई चन्द्रवर्ष (लुनार इयर) भनिन्छ । यस हिसाबले सौर्य वर्षको तुलनामा चन्द्रवर्षमा एक वर्षमा ११ दिन कम हुन्छ । सौर्यपात्रोको तुलनामा चन्द्रपात्रोलाई पुरानो मानिन्छ ।

नेपालमा ल्होछार पर्व

नेपालभित्र विभिन्न आदिवासी जनजाति समुदायले यो पर्व मनाउँदै आएका छन् । नेपालमा ल्होछार मनाउने सबैभन्दा ठूलो समुदाय तामाङ हो । त्यसपछि गुरुङ, शेर्पा, सिङसा, ल्होमी, ह्योल्मो, दुरा, लेप्चा, थकाली समुदायले पनि ल्होछारलाई पौराणिक सांस्कृतिक पर्वका रूपमा धुमधामले मनाउने गर्छन् । यसबाट ल्होछार परम्परा विभिन्न हिमाली समुदायबीच अत्यन्तै लोकप्रिय पर्व बनेको बुझ्न सकिन्छ । एकभन्दा बढी समुदायले ल्होछार मनाउने गरे पनि उनीहरूले एकै समय र दिनमा ल्होछार मनाउने गरेको पाइँदैन ।

अन्तर्राष्ट्रिय पर्व

ल्होछार कुनै एउटा देशमा मात्रै मनाइने पर्व होइन । नेपालका हिमाली र पहाडी भेगमा बसोबास गर्नेले मात्रै नभएर एसियाका झन्डै दुई अर्ब जनताको साझा पर्व बनिसकेको छ । यो मंगोल मूलका विभिन्न देशमा मनाइने गरिन्छ । मंगोलिया, चीन, लाओस, थाइल्यान्ड, सिंगापुर, तिब्बत, भियतनाम, ताइवान, मलेसिया, भुटान, फिलिपिन्स, कोरिया, बर्मा, इन्डोनेसिया, हङकङ, भारतको उत्तरी तथा पूर्वी राज्यहरू (दार्जिलिङ, सिक्किम, अरुणाचल, हिमाञ्चल, लद्दाखलगायतका ठाउँमा व्यापक रूपमा मनाइने गरिन्छ । चिनियाँहरूले यसलाई वसन्त उत्सवका रूपमा मनाउँछन् । एसियाका अन्य मंगोल मूलका देशमा पनि धुमधामले ल्होछार मनाइन्छ । अतः ल्होछार संसारकै समस्त मंगोल समुदायको साझा पर्वका रूपमा स्थापित भइसकेको पाइन्छ ।
विभिन्न १२ वटा पशुपन्छीको नाममा ल्हो या वर्ष गणना गरिने प्रचलन हुन्छ । हरेक वर्ष एउटा जीवको नाममा ल्होको सम्बोधन गर्ने गरिन्छ । जीवा (मुसा) लाई पहिलो वर्ष मानिन्छ भने अन्तिममा रहेको फाग (बँदेल)लाई १२औं वर्ष मानिन्छ । ती १२ जीवजन्तुहरूमा जीवा (मुसा), लाङ (गोरु), ताग (बाघ), ह्योअी (खरायो), डुक (गरुड), डुल (सर्प), ल्हुक (भेडा), ता (घोडा), टे (बाँदर), ज्या (चरा), खी (कुकुर) र फाग (बँदेल) हुन् । चन्द्र पात्रोअनुसार हरेक वर्ष एउटा जीवजन्तुको नाममा ल्हो या वर्षको नाम रहन्छ । १२ वर्षको चक्र पूरा भएपछि फेरि सुरुकै ल्हो (वर्ष) दोहोरिन्छ । त्यस्ता १२ ल्होलाई एउटा चक्रमा राखिएको हुन्छ । त्यसलाई ल्होखोर (वर्ष चक्र) भनिन्छ ।

ल्होखोर (वर्ष चक्र)

ल्होछार पात्रो प्रणालीमा पञ्चतŒवको कुरा पनि जोडिन्छ । आगो, पानी, काठ, फलाम, माटो (पृथ्वी) जस्ता पञ्चतŒवले निकै महŒव राख्छ । हरेक वर्ष वा वर्ग कुनै न कुनै तŒवसँग सम्बन्धित हुन्छ । यी पञ्चतŒवले सौयमण्डलका वृहस्पति, मंगल, शनि, शुक्र, बुध ग्रहहरूको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ ।

संवत् आरम्भ

तिब्बती परम्पराअनुसार हरेक वर्ष फागुन शुक्ल प्रतिपदादेखि नयाँ ल्हो या वर्ष आरम्भ हुन्छ । तर, नेपालको सन्दर्भमा ल्होछार मान्ने परम्परा अलगअलग भएको हुँदा ल्होछार पर्व पनि अलगअलग मितिमै मनाइने गरिन्छ । त्यसले गर्दा ल्हो फेर्ने मितिमा पनि एकरूपता देखिँदैन । तोला ल्होछार मनाउने गुरुङ समुदायले तिथिका हिसाबले जेसुकै भए पनि हरेक १५ पुसमा ल्हो फेरेको मान्छन् । यसैगरी, सोनाम ल्होछार मनाउने तामाङ समुदाय हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिनदेखि ल्हो फेरिने मान्छन् भने ग्याल्बो ल्होछार मनाउनेहरू तिब्बती परम्पराअनुसार नै सबैभन्दा पछि फागुन शुक्ल प्रतिपदादेखि ल्हो फेरिने मान्छन् ।
चिनिया सभ्यता निर्माणको क्रममा (इपू २१००– १६००) स्हीया राजवंशको शासन कालमै सुरु भएको विश्वास गरिएको यो चन्द्रमास पात्रोमा आधारित नयाँ वर्षको परम्परा संसारकै सांस्कृतिक परम्परामध्ये जेठो परम्परा मानिन्छ । यो धार्मिक आस्थासँग गाँसेर आएको ज्योतिष मतमा आधारित धर्म मिसिएको सांस्कृतिक चाड हो । ल्होछार परम्परा मान्ने समुदायमा ल्होछारकै आधारमा मान्छेको वर्ष या उमेर गणना गर्ने गरिन्छ । पौराणिक कालमा अहिलेको जस्तो समय सूचक विभिन्न वस्तुको विकास भएको थिएन । अहिले गणितीय संवतको आधारमा मिति तोकिन्छ । जस्तो वि.सं. २०७३, सन् २०१६, नेपाल संवत् ११३६ आदि । तर, यस्तो सभ्यताको विकास हुनुअघि केका आधारमा समय गणना गर्ने, कुनै पनि काम गरेको समय, कुनै घटना भएको बेला केका आधारमा गणना गर्ने भन्ने समस्या थियो । यही समस्या समाधानका लागि ल्हो या ल्होखोर (वर्ष चक्र) लाई प्रयोग गरेको हुन सक्छ ।
कुनै पनि व्यक्ति जुन वर्गमा जन्मेको हो, उसको त्यही ल्हो आधारमा गणना गरिन्छ । त्यसैले ल्हो थाहा हुने बित्तिकै उमेर पनि स्वतः थाहा पाइहालिन्छ । ल्होखोरको आधारमा उमेर गणना गरिने हुँदा ल्होछार मनाउने समुदायमा ल्हो थाहा हुनेबित्तिकै मान्छेले उमेर ढाँट्न सक्दैन भनिन्छ । यसैगरी, कुनै पनि घटना भएको समय सम्झनका लागि पनि ल्होकै प्रयोग भएको पाइन्छ । जस्तो स्वयम्भू महास्तुपा फाग (बँदेल) वर्षमा र बौद्धस्तुपा ज्या (चरा) वर्षमा निर्माण गरेको हो भन्ने प्रमाणहरू पाइन्छ । तिब्बतका विभिन्न भागमा बनेका गोन्पाहरूमा पनि निर्माण भएको वर्ष जनाउन लागि बनेको वर्षको ल्हो (जीवजन्तु) को नाम लेख्ने गरेको पाइन्छ । तर, कति वटा वर्ष चक्र बित्यो भन्ने कुरा पनि सम्झनुपर्ने भएकाले यो त्यति व्यावहारिक भने देखिँदैन । सयौं, हजारौं वर्षअगाडिको निश्चित समय किटेर भन्न त्यति सजिलो देखिँदैन । ल्होछार तŒवीय आधारमा गणना गरिने संवत् हो । यही तŒवीय आधारमा काल वा समय गणनाका आधारमा राब्ज्युङ ल्हो अर्थात् संवतसर तथा वर्षभन्दा साना अन्य कालका एकाइहरू महिना, दिन तथा घण्टा आदिको पनि गणना गरिन्छ । तŒवीय आधारमा काल वा समयको गणना गर्ने प्रणाली ग्रह तथा ताराहरू खगोलीय पिण्डहरू सूर्य, चन्द्रमालगायत ग्रह तथा नक्षेत्रादिसँग सम्बन्धित छ ।

ल्होछार मनाउने तरिका

ल्होछार÷लोसारको शाब्दिक अर्थ नयाँ वर्ष या नयाँ साल भए पनि यो सांस्कृतिक पर्व पनि हो । बौद्धधर्ममा आस्था राख्ने हिमाली मूलका बासिन्दाहरूको मुख्य पर्व भएकाले यसलाई मनाउने आफ्नै खालको सांस्कृतिक विधिविधानहरू पनि छन् । विभिन्न संस्कारका साथमा सबैको दीर्घायु, सुख शान्ति, निरोगिता र समृद्धिको कामना गर्दै धुमधामले ल्होछार मनाइने प्रचलन छ । विभिन्न कारणले अलग अलग समयमा ल्होछार मान्ने गरिए पनि ल्होछार मान्ने तौरतरिकामा भने खासै भिन्नता पाइँदैन । उनीहरूको भौगोलिक स्थिति, वस्तु–उत्पादन र उपलब्धता, बजार व्यवस्था र अर्थतन्त्र तथा सांस्कृतिक नीतिका कारणले सामान्यतः विविधता भने देखिन्छ । ल्होछार मान्ने तरिकालाई तीन भागमा राखेर चर्चा गर्न सकिन्छ ।
ल्होछारको पूर्वतयारी
ल्होछार आउनुभन्दा एक महिनाअगाडि नै ‘ल्होछार’ उत्सवको तयारी सुरु गर्ने प्रचलन पाइन्छ । यो अवधिमा नयाँ वर्ष लाग्नुभन्दा पहिले ‘नसकिएका’ काम सम्पन्न गर्ने, अप्रिय घटना नदोहोरिऊन् भनी कर्मकाण्ड गर्ने तथा नयाँ वर्षलाई स्वागत गर्ने तयारी गरिनछ । तसर्थ, पुरानो वर्षको १२औं महिनाको अन्तिम दिनहरूमा घर, गाउँ÷टोल, बाटोघाटो, आँगन, चौतारा, पानीपँधेरो, गोठ आदि मर्मतसम्भार, सफासुग्घर र लिपपोत गर्दछन् । खानापिनका लागि फलफूल, कन्दमूल र पूजासामग्री तयार गर्दछन् । घर परिवारदेखि टाढा रहेका आफन्तलाई ल्होछारमा घर आउनका लागि खबर पठाउने काम पनि यही बेला हुन्छ । राम्रो कपडा, गरगहना, खाद्यान्न, मिष्ठान्न, माछामासु, फलफूल, दाज्र्यु, लुङदारको जोहो गर्ने, किनेर ल्याउने गर्दछन् ।

ल्होछारको पूर्वसन्ध्या

पुरानो वर्षको अन्तिम औंसीको दिन मानिसहरू बत्ती बाल्न, भगवान्को दर्शन गर्न तथा बत्ती चढाउनका लागि गुम्बाहरूमा जाने गर्छन् । धेरै पूजाआजा तथा कर्मकाण्डहरू मार (खराब) वा अकुशल प्रेतात्मा वा अपशकुन हटाउन गर्ने गरिन्छ । सो दिन लामाहरूले मारमाथि सत्यको विजय देखाउने खालका मकुण्डो नाच देखाउने गर्छन् । सामान्यतयाः ल्होछारको पूर्वसन्ध्यामा निम्न कार्य गर्छन् ः
(क) ल्हो थर, कुल र वंशको परम्पराअनुसार आआफ्नो कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थ्य लाभका लागि पितृहरूबाट आशीर्वाद तथा शक्ति माग्ने ।
(ख) नयाँ आउने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मान्यता रहेको छ । त्यसैले १२ वटा जीवजन्तु रहेको ल्होखोर बनाएर ग्रहदशा फाल्ने ।
(ग) आगामी वर्षमा अन्नबाली राम्रो होस् भनी डालोमा बीउबिजन राख्ने तथा टुसा आएको बीउबिजन राखी पूजापाठ गर्ने ।
(घ) परिवारका सबै सदस्य भेला भई भोज खाने, परम्परागत रूपमा गुथुग (बाह्र ल्होको टाउको बनाएको थुक्पा) खाने, आतासबाजी गर्ने, मनोरञ्जनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नयाँ वर्षको प्रारम्भ (रातको ११ बजे) नभएसम्म बस्ने र नयाँ वर्षको बिहानीलाई स्वागत गर्ने । अँध्यारोलाई उज्यालोले हटाएजस्तै परिवारमा सधैँ उज्यालो र खुसियाली आओस् भनी बत्ती (द्वीप) रातभर बाली राख्ने । ल्होछार परम्परा भएका समुदायमा ल्होछारको पूर्वसन्ध्याभित्रमा बुन्दै गरेको पुरानो ‘तान’ काट्ने काम हुन्छ र नयाँ तान सुरु गरिँदैन । पुरानो ऋण भए त्यसलाई तिर्ने काम हुुन्छ र नयाँ ऋण लिइँदैन । कसैलाई पुरानो सरसापटी छ भने त्यसलाई पनि तिरिन्छ । नयाँ सापटी लिने काम त्यस दिन हँुदैन । सबै खालका हिसाबकिताब चुक्ता गर्ने र त्यसबाट पूर्ण रूपमा मुक्त भएर नयाँ वर्षमा प्रवेश गर्ने उनीहरूको तयारी हुन्छ ।

ल्होछार प्रारम्भ, पहिलो दिन

ल्होछारको पहिलो दिन सबैभन्दा मुख्य दिन हो । वास्तवमा यही दिनमा ल्होछार पर्व मनाइन्छ । यो चन्द्रवर्षको पहिलो महिनाको पहिलो दिन हो । यस दिन मुख्यतः निम्न कार्यहरू सम्पन्न गर्ने परम्परा हुन्छ ः
(क) छो चढाउने ः ल्होछारको दिन घरमुली, घरको जेठोबाठो र घरको अन्य सदस्यहरूले सबेरै नुहाई सफा भएर आफ्नो घरमा भएको लाखाङ वा छ्योअीखाङ र सो नभएमा भगवान् गौतम बुद्धको ‘कु’ वा तस्बिर राखी चोखो पानी, साङ छेमार वा फेमार दुची तथा छो (फलफूल, कन्दमुल–आलु, भ्याकुर, तरुल, खाप्से, बाबर गेङ, आदि) जस्ता थरीथरीका पकवानहरू राखी साङसेरगेम (पूजाआजा÷धुपधुवाँर) गर्ने, भगवान् तथा आफ्ना पूर्खाहरूप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारका लागि आशीर्वाद माग्ने चलन छ । पूजामा चढाएको ‘छो’ (प्रसाद), दुइची, फेमर आदिले पाहुनाहरूलाई नयाँ वर्षको सगुन तथा प्रसादको रूपमा स्वागत गर्ने गरिन्छ ।
(ख) दाज्र्यु उठाउने ः सो दिन नयाँ ‘ल्हो’ को आगमनले समस्त जगतकै प्राणीहरूको रक्षा एवं कल्याण गरून् भनी मंगलमय कामनास्वरूप ल्होछारको प्रतीकका रूपमा घर, गुम्बा, मठमन्दिरहरूमा लुङदार÷दाज्र्यु फहराउने चलन छ । लामालाई आफ्नो ल्होअनुसार ची (पात्रो) हेराई लामा गुरुले भनेअनुसारको दाज्र्यु राख्न लगाइन्छ । लामा नभएमा पाँचै रङको दाज्र्यु राखे हुन्छ । त्यसो पनि नभएमा आकाशे रङको दाज्र्यु राख्नु राम्रो मानिन्छ । उक्त दिन दाज्र्यु राख्न नभ्याएको अवस्थामा वसन्त पञ्चमी (पाँचौं दिन) को दिन बिहान सबेरै दाज्र्यु उठाउनु राम्रो हुन्छ । दाज्र्युसँगै धूपबत्ती बाल्ने र केम, (स्याल्गर) फलफूल भगवान्लाई चढाउने गरिन्छ ।
(ग) आशीर्वाद तथा शुभकामना दिनेलिने ः पूजाआजा सकेपछि सुख, शान्ति, निरोगिता र दीर्घायुका लागि सबै सदस्यलाई परिवारको ज्येष्ठ व्यक्तिबाट नौनी घिउ तथा कोकोम्हेन्दो
(टोटलाको फूल) को टीका तथा खादा आशीर्वादस्वरूप लगाइदिने र सानो साइनोले आफूभन्दा ठूलालाई ढोग गर्ने र आशीर्वाद लिने, भोजभत्तेर खाने, साथीसँगीसँग मिलेर रमाइलो गर्ने गरिन्छ ।

ल्होछार प्रारम्भपश्चात्

ल्होछारको दोस्रो दिनदेखि वसन्त पञ्चमीसम्म मान्यजन, नातागोता, कुल कुटुम्ब, इष्टमित्रलगायत सबै साथीसंगीहरूलाई भेटघाट गरी खादासहित शुभकामना आदानप्रदान गर्ने गर्छन् । आलोपालो गरी इष्टमित्र कहाँ जाने, आशीर्वाद, शुभकामना आदानप्रदान गर्ने । साथै आफ्नो दाजुभाइ, चेलीबेटी, नातागोता बोलाउने र खानपिन गर्ने गरिन्छ । साथै, आफूले मान्नुपर्ने व्यक्तिहरूकहाँ आशीर्वाद लिनजाने र अरूलाई पनि आफ्नो घरमा बोलाएर खुवाउने, रमाइलो गर्ने चलन छ । यस खालको आवतजावत गर्ने क्रम ल्होछार सुरु भएको दिनदेखि वसन्त पञ्चमीसम्म नै चल्छ । यसैबेला आउँदो वर्षभरिको अन्नबाली राम्रो र सफल होस् भनी भूमिपूजा तथा मंगलपूजा गर्ने तथा १५ दिनसम्म प्रीतिभोज, वनभोज एवं सांस्कृतिक कार्यक्रम आदिको आयोजना गरी हर्षाेल्लासपूर्ण वातावरणमा ल्होछार पर्व सम्पन्न गर्ने गरिन्छ ।

ल्होछार पर्वको महŒव

ल्होछार खासगरी सांस्कृतिक पर्व हो । पौराणिक कालमा मानवजातिले जीवन निर्वाह गर्ने क्रममा स्थापित गरेको परम्परा हो । यो परम्परालाई थप व्यवस्थित र परिष्कृत गर्ने क्रममा धार्मिक पद्धतिसँग यसको सम्बन्ध जोडिन पुगेको देखिन्छ । अहिले बुद्धधर्मसँग यसको अन्योन्याश्रित सम्बन्ध देखिए पनि बुद्धधर्मको विकासभन्दा अगाडिदेखि नै ल्होछार संस्कृति अस्तित्वमा रहेको दाबी गरिन्छ । तैपनि, अहिले आएर ल्होछारको बेला घरघरमा लामा बोलाएर ग्रहदशा फ्याँक्न लगाउने, लामाद्वारा मंगल पाठ गर्ने गराउने, लामाकै उपस्थितिमा विभिन्न खालका संस्कार सम्पन्न गरिनुले ल्होछार धार्मिक भावना र क्रियाकलापबाट टाढा छैन भन्ने प्रस्ट बुझ्न सकिन्छ । बौद्धधर्मको महायानी सम्प्रदायअन्तर्गतको बज्रयानीहरूका लागि ल्होछार महŒवपूर्ण धार्मिक परम्पराका रूपमा स्थापित भइसकेको छ ।
अरू बेला आआफ्ना काम विशेषले लाखापाखा भएका परिवारका सदस्य ल्होछारको बेला जम्मा हुने गर्छन् । यसैगरी, नातागोता पनि यही बेला एक ठाउँमा भेला भएर खुसियाली साटासाट गर्ने, खाने खुवाउने, आआफ्ना अनुभव साटासाट गर्ने, रम्ने रमाउने गर्छन् । यसले परिवार र आफन्तबीचको सम्बन्धलाई ताजा या जीवन्त बनाउने काममा भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले ल्होछारको सामाजिक महŒव छ । आर्थिक र सांस्कृतिक दृष्टिकोणले पनि ल्होछारको विशेष महŒव छ । चन्द्रमाको गति र प्रकृतिको नियमसँग आधारित परम्परा भएकाले कुन समयमा कस्तो खेतीपाती गर्ने भन्ने विषयमा ल्होछार मान्नेहरू सजक हुन्छन् । वर्षौंदेखिको अभ्यासले उनीहरूलाई यो विषयमा ज्ञान हुन्छ । यसबाट उनीहरूलाई आर्थिकोपार्जनमा पनि टेवा पु¥याइरहेको हुन्छ । ल्होछार अन्य सभ्यताभन्दा बिलकुल भिन्न परम्परा भएकाले यसले बेग्लै संस्कृतिको परिचय पनि दिएको छ । यसले अलग्गै पहिचानको स्थापित गरेको छ । यो परम्परा मान्ने समुदायमा नवजात शिशुको न्वारान गर्दा, विवाहको काम सम्पन्न गर्दा ल्हो, खाम, हेरेर मात्र नाम राख्ने, त्यसको साइत जुराउने कार्य अद्यावधि चलिरहेकै छ । ल्हो खाम नमिलेमा विवाहसमेत बदर हुने गर्दछ । त्यसैले मित्र वर्ष र शत्रु वर्ष अनि मित्र तŒव र शत्रु तŒव हेरेर मात्र विवाहको प्रक्रिया अगाडि बढाइन्छ । मित्र वर्ष÷वर्ग र मित्र तŒवबीच मात्र विवाह हुन सक्छ । ल्हो खाम जुधेको वरबधुबीच विवाह हुँदा उनीहरूको वैवाहिक जीवन नै धरापमा पर्ने जनविश्वास रहेको छ ।