कुवेतले अवैध आप्रवासी कामदारका लागि आममाफी अभियान थाल्यो , नेपाली कामदार लाभान्वित हुने

मधुजंग पाण्डे / काठमाडौं

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक कुबेतमा अहिले अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफी सुरु भएको छ । कुबेत सरकारले गत १५ माघदेखि नै आफ्नो मुलुकमा काम गर्दै आएका आप्रवासी कामदारलाई आममाफी दिने अभियान थालनी गरेको हो ।

संसारकै सबैभन्दा महँगो मुद्रा रहेको खाडी राष्ट्र कुबेत सरकारले सुरु गरेको यस आममाफी दिने अभियान आगामी १० फागुनसम्म सञ्चालन हुनेछ । कुबेत सरकारले सुरु गरेको यस अभियानले वैदेशिक रोजगारीका लागि कुबेत पुगेर विविध कारणले अवैध रूपमा बस्दै आएका नेपाली कामदारसमेत लाभान्वित हुने सम्बन्धित सरोकारवालाहरूको भनाइ छ । निकै लामो अध्ययनपछि कुबेत सरकारले आफनो मुलुकमा अवैधानिक रूपमा रहेका आप्रवासी कामदारका लागि आममाफीको अवसर दिएको हो ।

यस अवधिमा कुबेतमा अवैधानिक रूपमा बसिरहेका आप्रवासी कामदार स्वदेश फर्कन र तोकिएको जरिवाना तिरेर वैधानिक हुन सक्ने कुबेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । यस्तो अवसरलाई कसरी सदुपयोग गर्ने भनेर धेरै नेपाली कामदारमा अन्योल रहेको थियो । त्यही अन्योल चिर्न भर्खरै कुबेतस्थित नेपाली दूतावासले आममाफी प्रक्रिया अपनाएर स्वदेश फर्किने वा वैधानिक हुने अवसर प्राप्त गर्ने प्रक्रियाबारे जानकारी गराएको थियो । अहिले नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी पछिल्लोपटक आप्रवासी कामदारका हक अधिकारहरूबारे स्पष्ट पारेको छ । दूतावासको सो सूचनामा गैरकानुनी भएका कामदार के कसरी स्वदेश फर्कन वा भिसा लगाएर वैधानिक रूपमा कुबेतमै बस्ने प्रक्रिया अघि बढाउने भन्ने समेत उल्लेख गरिएको छ ।

दूतावासद्वारा जारी सूचनाअनुसार कुबेत सरकारले गत २३ जनवरीमा जारी सूचनाअनुरूप आवासीय कानुन उल्लंघन गरी बिनाभिसा गैरकानुनी रूपमा कुबेतमा बसोबास गर्दै आएका कुनै पनि मुद्दा नभएका र यात्रा बन्देज नलगाएका आप्रवासी कामदारहरूको हकमा आफूसँग सक्कल राहदानी भए सिधै कुबेतको विमानस्थलबाट टिकट काटेर जान पाउने व्यवस्थाको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूलाई प्रष्ट पारेको छ ।

अपराधिक गतिविधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, बैंकबाट ऋण लिएका र मोबाइल लिएका भने मुद्दा एवं हिसाब फस्र्याैट नभएसम्म जान नसक्ने दूतावासले जनाएको छ । यसैगरी, चोरीको उजुरी नपरेका वा आपराधिक मुद्दा नपरेका र यात्रा निषेध नगरिएका घरेलु तथा कम्पनीका कामदारले भने सर्तहरू पूरा गरेर एवं जरिवाना तिरेर आवासीय भिसा थपेर बस्न सक्ने समेत सूचनामा उल्लेख छ ।

त्यसैगरी साथमा राहदानी नभएका कामदारको हकमा यात्रा अनुमतिपत्रका लागि नागरिकता वा राहदानीको पुरानो प्रतिलिपि एवं दुई प्रति निलो पृष्ठभूमिमा खिचिएको फोटोसहित दूतावासमा सम्पर्क गर्न समेत दूतावासले आफ्ना मुलुकका नागरिकलाई जानकारी गराएको छ । कुबेत सरकारले दिलाएको यस आममाफीको अवसले हालसम्म विविध कारणले अवैध रूपमा बस्दै आएका नेपाली कामदारलाई पनि निकै फाइदा हुने सम्बन्धित सरोकारवालाहरू एवं व्यवसायीहरूको अपेक्षा रहेको छ ।