फोहोर व्यवस्थापनमा जुटौं

फोहोर व्यवस्थापनमा जुटौं

उपत्यकामा फोहोरको समस्या विगत लामो समयदेखि उपत्यकावासीले झेल्दै आएका छन् । फोहोरको व्यवस्थापनमा मात्रै उपत्यकाका स्थानीय तहले ठूलो जनशक्ति परिचालन गर्नुपरेको छ । आफ्नो घरको फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तह र सरकार जुट्नुपर्ने अवस्था सिर्जना भएको हो । लगानी बोर्डले काठमाडौं, ललितपुर र भक्तपुरको फोहोर व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी गरे पनि त्यसको उपलब्धि हासिल गर्न सकिएको छैन । भारतीय र फिनल्यान्डको कम्पनीले उपत्यकाको फोहोर व्यवस्थापन गर्ने सम्झौता गरेर पनि उपलब्धि शून्य छ । लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनमा गरेको अभ्यास सफल बनाउन सबै सरोकारवाला निकाय जुट्नु आवश्यक छ । काठमाडौंको फोहोर व्यवस्थापनका लागि फिनल्यान्डको कम्पनी नेपवेज र ललितपुर तथा भक्तपुरका लागि भारतीय कम्पनी ग्रिन भ्याली नामक कम्पनीसँग भएको समझदारीअनुसार काम गर्ने वातावरण बन्न सकेको छैन ।

उपत्यकाको फोहोर संकलन गरेर प्रशोधन र डिस्पोजल गर्नेगरी स्थानीय तहहरूले अभ्याससमेत गरिरहेका छन् । काठमाडौं महानगरपालिकाले नमुना परियोजनाका रूपमा गरेको फोहोर व्यवस्थापन त्यसको एउटा उदाहरण हो । फोहोर प्रशोधन गरेर मल तथा अन्य वस्तुको उत्पादन गरी काम गर्न सकेमा उपत्यकाको फोहोर व्यवस्थापनमा नयाँ फड्को मार्न सकिनेछ । फोहोरका कारण उपत्यकाको वायु प्रदूषण पनि उच्च भएको विभिन्न अध्ययनले देखाएको छ । उपत्यकामा प्लास्टिकजन्य फोहोर जलाउँदा उत्पन्न हुने ग्याँस मानव स्वास्थ्यका लागि सबैभन्दा हानिकारक ग्याँस हो । यस्तो प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि प्लास्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने विभिन्न प्रयोगसमेत हुँदै आएका छन् । त्यस्तो प्रविधिको प्रयोग गर्न सकेमा फोहोर व्यवस्थापनमा सहज हुने र पेट्रोलियम पदार्थ उत्पादनमा पनि मद्दत पुग्ने देखिन्छ ।

शनिबार ४ जेठ २०७० देखि सुरु भएको बाग्मती सफाइ महाअभियानले ठूलो रूप लिइसकेको छ । यो अभियानसँगै उपत्यकाका अन्य नदीमा पनि फोहोर संकलन र व्यवस्थापनको अभियान अझै जारी छ । यस अभियानले नदीको सुन्दरतामा ठूलो महŒव बोकेको छ । नदीको फोहोर व्यवस्थापन तथा सरसफाइ अभियानमा सबैभन्दा बढी प्लास्टिकजन्य फोहोर नै संकलन हुने गरेको छ । यस्तो फोहोरको व्यवस्थापनमा सबै स्थानीय बासिन्दा, स्थानीय तह र सरकार सचेत भएर जुट्नसके उपत्यकाको फोहोर व्यवस्थापनको समस्या आफैं समाधान हुँदै जानेछ । बाग्मती सफाइ महाअभियानसँगै सुरु भएको सफाइ अभियानमा सबै निकाय र जनताको सहभागिता आवश्यक छ । सबै जुटे उपत्यकाको फोहोर व्यवस्थापनमा हुने खर्चलाई विकासको क्षेत्रमा उपयोग गर्न सकिन्छ । राजधानी उपत्यकालाई सबैले बस्नयोग्य सहर बनाऔं ।