ट्राफिक व्यवस्थापन सुधारमा डीआईजी सर्वेन्द्र खनालले जे गरे

टपेन्द्र कार्की

ट्राफिक व्यवस्थापनमा विभिन्न सरोकारवाला निकायको भूमिका प्रस्ट छ । तर, सडकमा ट्राफिकको मात्रै भूमिका जस्तो आभास हुन्छ, अन्य सरोकारवालको भूमिका अनुरूप काम हुन नसकेको महसुस गर्छन् । सडकको इन्जिनियरिङ मिलेको छैन । सडक संकेत, संरचना पर्याप्त छैनन् भन्ने आभास जताततै छ । अव्यवस्थित रूपमा बढिरहेको जनघनत्वले पनि ट्राफिक व्यवस्थापन प्रभावित भइरहेको छ । ट्राफिकमा जनशक्तिकै अभाव छ भने सडकमा जतततै धुलोधुवाँ छ । नयाँनयाँ प्रविधि पनि छैनन् । यस्तो प्रतिकूल अवस्थामा पनि ट्राफिक प्रहरीले काम गरिरहेको छ ।

सडकको मर्मत हुँदै गर्दा सडकमा जाम मात्रै होइन, धुलौटे सडकमा सवारीसाधनको प्रदूषण पनि उत्तिकै छ । पुराना ट्राफिक लाइटको मर्मत भएका छैनन् । नयाँ लाइट थप गर्नु अवस्था छ । दिनभरि धुलौटे सडकमा बसेर सिठी फुक्नु एक व्यक्तिका लागि कठिन काम हुँदाहुँदै कहिलेकाहीँ सडकमा बिग्रिएका सवारीसाधन ठेलेर साइडमा राख्ने जिम्मेवारी पनि सडकमै खटिएका ट्राफिकले बेहोर्नुपर्नेछ । झन् वर्षा याम त ढल खोल्ने पानी कटाउने खाल्डामा फसेका सवारी उचाल्न जस्ता काम पनि तिनै ट्राफिकले गर्नुपर्ने समस्या र चुनौतीबीच राजधानीको ट्राफिक व्यवस्थापनको जिम्मेवारी पाएका डीआईजी सर्वेन्द्र खनालका सडक सुधारका प्रमुख सात आइटम यहाँ प्रस्तुत गरिएको छ ।

ठमेल सवारीसाधनमुक्त

प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई ५ कात्तिक २०७४ देखि सवारीसाधनमुक्त क्षेत्र बनाइको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्को संयुक्त पहलमा ठमेललाई सवारीसाधनमुक्त क्षेत्र बनाइएको हो । राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा चारपांग्रे तथा दुईपांग्रे सवारीसधानका कारण अस्तव्यस्त बनेपछि ट्राफिक प्रहरीले त्यसलाई पैदल यात्राका रूपमा विकास गर्ने उद्देश्यसहित यसलाई सवारीसाधनमुक्त क्षेत्र बनाएको हो । अहिले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई ठमेलभित्र छिर्न दिइँदैन ।

अत्यावश्यक सवारीसाधनलाई ठमेलभित्र जानआउन पासको व्यवस्था गरिएको छ । ठमेल सवारीसाधनमुक्त भएपछि पर्यटकहरू यतिबेला आनन्दले घुमफिर गर्न थालेका छन् । ठमेलभित्र जाने सवारीसाधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न दिइएको छैन । ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारीसाधनलाई कडाइ गरिएको छ । ठाउँठाउँमा ट्राफिक संकेत राखिएको, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार सवारीसाधनको व्यवस्था गरिएको छ ।

यसैगरी, ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गरिएको छ । वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनालले ठमेल क्षेत्रलाई विश्वकै नमुना सहर बनाउने बताएका छन् । ‘पर्यटकीय क्षेत्र भएकाले ठमेल आउने पर्यटकहरू आनन्दले घुम्न पाउन सवारीसाधनको अनावश्यक चापबाट मुक्त होऊ भन्ने हामी सबैको चाहना हो,’ डीआईजी खनालले भने । ठमेल क्षेत्रमा काठमाडौं महानगरपालिकाका १६, १७, २६ र २८ वडा पर्छन् ।

असनमा चारपांग्रे निषेध

असन काठमाडौंको सबैभन्दा पुराना सहर हो । यसको आफ्नै मौलिक परिचय छ । दैनिक हजारौं मानिस ओहोर दोहोर गर्छन् । त्यसमा पनि सवारीसाधन चाप बढ्न थालेपछि ट्राफिक प्रहरीले त्यहाँ पनि रोक लगायो । सवारीसाधन निषेध भएपछि यतिबेला असनमा पनि हिँडडुल गर्न सहज भएको छ । असनमा चारपांग्रे सवारीलाई प्रवेशमा रोक लगाइएको छ । यस क्षेत्रमा मोटरसाइकल र रिक्सा चलाउन भने निषेध गरिएको छैन । बढी भीडभाड हुने र साँघुरा सडक भएको असनसहितका भित्री क्षेत्रमा चारपांग्रे गाडी निषेध गरिएपछि किनमेल गर्न जानेहरूका लागि पनि सहज भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी खनालकाका अनुसार इन्द्रचोकबाट असन र भेडासिंह, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट ओटुसम्म चारपांग्रे सवारी चलाउन पाइँदैन । भोटाहिटीबाट असन चोकसम्म दुवैतर्फ सडकमा चारपांग्रे सवारी चलाउन निषेध गरिएको छ । नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म वान वे गरिएको छ । टेंगालबाट बांगेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरिएको छ ।

क्षेत्रपाटीबाट ठँहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म वान वे तोकिएको छ । त्यसलाई कार्यान्यवन गर्न चोकचोकमा ट्राफिक प्रहरी खटिएका छन् । ट्राफिक प्रहरीले नियम नमान्ने सवारी चालकलाई ५ सयदेखि १ हजार रुपैयाँसम्म जरिवाना गर्छन् । बिहान ७ बजेअघि र बेलुका ७ बजेपछि भने यो नियम लागू हुनेछैन ।

पशुपतिमा सुधार

विश्व सम्पदा सूचीमा सूचीकृत पाशुपत क्षेत्रका भित्री सडकलाई ११ पुसदेखि ‘भेइकल फ्रि जोन’ घोषणा गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र पशुपति विकास कोषको संयुक्त पहलमा सो क्षेत्रमा सवारी निषेध गरिएको हो । ठमेल क्षेत्रलाई ‘भेइकल फ्रि जोन’ बनाइएको केही महिनामै पशुपति क्षेत्रलाई पनि ‘भेइकल फ्रि जोन’ बनाइएको हो । मन्दिर परिसरको सरसफाइ र दर्शनार्थीको सुविधालाई मध्यनजर गरी पाशुपत क्षेत्रका भित्री सडकलाई ‘भेइकल फ्रि जोन’ बनाइएपछि त्यहाँको वातारण पनि शान्त भएको छ । वनकाली धर्मशालास्थित पूर्व र पश्चिमपट्टिका चार शिवालय हुँदै चल्ने, प्रहरी वृत गौशला तथा इटिपाखाबाट भुवनेश्वरी हुँदै चल्ने, गौरीघाट र उमाकुण्डबाट दक्षिणा मूर्ति जाने बाटोमा सवारीसाधन निषेध गरिएको छ । शव वाहन र एम्बुलेन्सको हकमा भने यो नियम लागू भएको छैन ।

स्कुल बस चालकलाई ड्रेस

काठमाडौंमा प्रत्येक दिन बढिरहेको सवारी चापका कारण कार्यालय समयमा सधैं जाम हुने गरेको छ । त्यसमाथि पनि स्कुल बसले कार्यालय समयलाई झनै बढी अवरोध गर्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि ९ बजेभित्र स्कुल बसले विद्यार्थी विद्यालयमा पु¥याइसक्नुपर्ने नियम लगाएको थियो । सोहीअनुरूप कार्यान्वयन भइरहेको छ । तर, त्यस समयमा पनि कुन स्कुल बस हो, होइन भन्ने छुट्याउन बसको रङ बेग्लै हुनुपर्ने र स्कुल बसका चालकले अनिवार्य रूपमा ड्रेस लगाउनुपर्ने जस्ता नियमलाई यसपटक कार्यान्वयन गरिएको छ । १ मंसिरदेखि सबै स्कुलका बस चालकले अनिवार्य रूपमा ड्रेस लगाउनुपर्ने नियम बनाएपछि अहिले महानगरभित्र सञ्चालन हुने स्कुल बसका चालकले अनिवार्य ड्रेस लगाउन थालेका छन् ।

ट्याक्सीमा बिलङ सिस्टम

सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको थिएन । ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले १७ पुस २०७३ देखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका थिएनन् । तर, केही महिनादेखि ट्याक्सीहरूले आफंै यात्रुलाई बिल दिन थालेका छन् ।

अस्पतालअघि बिरामी लिएर जाने ट्याक्सीहरूले महँगो भाडा असुलउपर गर्ने र सर्वसाधारणले मिटरमा जाऊ भन्दा नमानेपछि ट्राफिक महाशाखाले उनीहरूलाई कारबाहीको दायरामा ल्याएको थियो । यसको नियन्त्रणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिनाबर्दीमा दैनिक १० र १२ जना प्रहरीलाई खटाइरहेको छ ।

उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा बढी ठगी हुने गरेको भन्दै महाशाखाले ती क्षेत्रमा बिनाबर्दीमा प्रहरी खटाएको छ । महाशाखाका प्रमुख सर्वेन्द्र खनाल मिटरमा जान नमान्नु, बढी भाडा लिनु, ट्याक्सी बिल नदिने दैनिक २० देखि ३० ट्याक्सी चालकलाई कारबाही गरेको बताउँछन् ।

महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा ६ हजार ६९ ट्याक्सीलाई कारबाही गरेको छ । अघिल्लो आव २०७२/७३ मा २ हजार ८ सय १ ट्याक्सी कारबाहीमा परेका थिए । कारबाही परेका ट्याक्सीको राजस्व पहिले यातायात व्यवस्था कार्यालयले लिने गरे पनि अहिले महाशाखाले नै लिने जिम्मेवारी पाएको छ ।

सडक सभ्यतामा डीआईजी आफैं

नयाँ काम होइन सार्वजनिक सवारी चढ्नु ओर्लनु । तर, हरेक दिन सार्वजनिक यातायात प्रयोग गर्न सास्ती नै हुन्छ । हरेक दिन सास्ती बेहोर्ने ठेलामठेल गरेर सवारी चढ्ने यात्रुहरूलाई सुरुमा त आश्चर्य लाग्यो होला तर डीआईजी सर्वेन्द्र आफैं बसेर लाइन लगाए । हेर्दा सडकमा हामीले देखाउने हाम्रो व्यवहार पनि हाम्रो सभ्यताको प्रतीक सामान्य विषय भए पनि यो साँच्चै राम्रो काम थियो ।

नियम बनाउने आफैंले हो, सवारीसाधनले क्षमताभन्दा यात्रु नबोक्ने र यात्रुले पनि असजिलो गरी सार्वजनिक सवारीसाधन प्रयोग गर्नु नपरोस् भन्दै उनी आफैं सडकमा उत्रिएर सवारी चढ्दा लाइन बस्नुपर्ने नियम लागू गरे । जसले वृद्धवृद्धा, बालबालिका तथा शारीरिक रूपमा कमजोरहरूलाई प्रत्यक्ष लाभ पुगेको छ । सडक सभ्यता सिकाउन र ट्राफिक नियम पालना गराउन प्रोत्साहित गर्ने उद्देश्यले उनी आफंै सडकमा निस्केर एकहप्ते ट्राफिक जनचेतना कार्यक्रम सुरु गरेका थिए । खासगरी बस स्टपहरूमा लाइनमा लागेर सार्वजनिक सवारी चढ्ने संस्कृति विकास गर्ने अभियानको मुख्य उद्देश्य चावहिल, गौशलामा खनाल आफैं पुगेर ट्राफिक जनचेतना कार्यक्रममा सहभागी भएका थिए ।

सडकमा गार्ड, अनुशासन कडा

ट्राफिक प्रहरी लामो समयसम्म मापसे चेकजाँचका नाममा मध्य रातसम्म सडकमै गार्ड बस्ने गरेका छन् । मोटरसाइकल चालकको मुखमा गएर ‘कहाँबाट आउनुभो, कहाँ जाँदै हुनहुन्छ’ भनेर सोध्नुको पछाडिको कारण मापसे चेकजाँच हो । कहिलेकाहीँ कागजपत्र बोक्नु भएको छ भन्ने सोधखोज हुन्छ । तर, जे सोधे पनि त्यसको अन्तिम उद्देश्य चालकले मापसे गरेको छ कि छैन भनेर जाँच गर्नु नै हो । यसमा सधैं जुनियर अधिकृतहरूको कमान्ड खटिएको हुन्छ । उनीहरूलाई प्रोत्साहित गर्न डीआईजी खनाल आफैं केही समय फिल्डमा खटिए, राति १२ बजेभन्दा पछि आफंै सडकमा गार्ड बसे ।

हामीलाई रातिराति यिनीहरूले नै दःुख दिन्छन्, हामीलाई मात्र होइन, घरमा पनि दुःख दिन्छन् भन्दै उनी आफैं मापसे चेकजाँचका लागि सडकमा गार्ड बसेका थिए । पछिल्ला दिनमा उनले अनुशासनको कारबाहीको स्वरूपमा परिवर्तन गराए । पहिला दुई सय जरिवाना तिरेपछि लेन अनुशासन गर्नेले मुक्ति पाउँथे । तर, अब पहिलोचोटि उल्लंघन गर्नेलाई ५ सय रुपैयाँ र एक घण्टाको क्लास, दोस्रोचोटि उल्लंघन गर्नेलाई हजार रुपैयाँ जरिबाना, क्लास लिनुनपर्ने र तेस्रोचोटि वा सोभन्दा बढी उल्लंघन गर्नेलाई १५ सय जरिवाना, क्लास लिनुनपर्ने नियम लगाइदिएका छन् ।