हामी नयाँ प्रदेशको पक्षमा छौं

हामी नयाँ प्रदेशको  पक्षमा छौं

 

 

एमालेकोे राजनीतिक विचारप्रति असहमति जनाउँदै पार्टी छोडेका संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सो पार्टीभित्र बौद्धिक नेताका रूपमा चिनिन्छन् । भौतिक योजनामन्त्रीसमेत भइसकेका श्रेष्ठ संघीयता विज्ञका रूपमा समेत चिनिन्छन् । संघीयतासम्बन्धी उनका विभिन्न पुस्तक प्रकाशित छन् । प्रदेश २ मा पहिलो पार्टी बनेर सरकार नेतृत्वको हकदार बनेको उनको पार्टीका भावी रणनीति र सरकार सञ्चालन विधि कस्ता छन् ? राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका कस्तो हुनेलगायत विषयमा श्रेष्ठसँग राजधानी दैनिकका वरिष्ठ समाचारदाता सुभाष साहले कुराकानी गरेका छन् ।

राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

 

 

 

० वर्तमान राजनीतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?

२४ माघमा राष्ट्रिय सभाको निर्वाचन सकिएपछि प्रतिनिधिसभाको पूर्णताको बाटो खुलेको छ । प्रतिनिधिसभाका सबै उम्मेदवारलाई विजयी भएको घोषणा निर्वाचन आयोगले गरेसँगै नयाँ सरकार निर्माणको बाटो खुलेको छ ।
सरकार बनाउन विभिन्न राजनीतिक दलका बीचमा क्रिया अन्तरक्रिया हुन सुरु भएको छ । अब जनताको जुन आकांक्षा छ, संघीयता कार्यान्वयन भइसकेपछि त्यसबाट कस्तो किसिमको संघीयता र कस्तो किसिमको शासन हुने भन्ने कुरामै बहस हुनेछ ।

० सरकार निर्माणको कुरा गर्नुभयो, फोरमले राजपा नेपालसँग मिलेर प्रदेश २ मा सरकार निर्माण गर्दै छ । कुरा कहाँसम्म पुगेको छ ?

राजपा र हाम्रो बीचमा निर्वाचनअघि नै एक किसिमको पूर्वसहमति भएकै छ । त्यसअनुसार दुईमध्ये ठूलो दलले प्रदेशको मुख्यमन्त्री र सानो हुने दलले प्रदेशको सभामुख हुने गरी सरकार निर्माण हुने तथा शक्ति बाँडफाँट गरी अगाडि बढ्नेछौं । साथै हामीले पहिचान र समृद्धिको मुद्दामा सकारात्मक हुने शक्तिसँग पनि प्रदेश २ मा सहकार्य गरेर अगाडि बढ्नेछौं ।

० राजपा र फोरमबीचमा निर्वाचनअघि भएको सहमति लिखित थियो कि मौखिक ?

हैन, हरेक कुरा लिखित नै हुनुपर्छ भन्नेछैन । जनताले पनि कुन दललाई कुन हैसियत दिने भन्ने कुराअनुसार हामीले पाएको हैसियतमै बस्नुपर्ने हुन्छ । निर्वाचनअघि हामीले सिट बाँडफाँट गरी साझा उम्मेदवार उठाएकै हो ।
हाम्रो सिंगो मधेसमा नभई २ नम्बर प्रदेशमा मात्रै तालमेल भएको हो । मधेसकै अरू जिल्लामा तालमेल भएको छैन । प्रदेश २ मा मात्रै तालमेल भएको र सोहीअनुसार अगाडि बढ्दै अब हामीले पहिचान र समृद्धिको मुद्दा जोडतोडले उठाउनुपर्छ ।

० भनेपछि तपाईंहरूका बीचमा निर्वाचनअघि भएको सहमति मौखिक थियो, ठूलो दल हुनेले मुख्यमन्त्री र सानो हुनेले सभामुख लिने, बाँकी मन्त्रालय बाँडफाँट गरी अगाडि बढ्ने हो ?

हो, हो ।

० तर, राजपा नेपालले त मानिरहेको छैन, प्रदेशको मुख्यमन्त्री आलोपालो गर्नुपर्छ भन्दै छ नि ?

हैन, यो त मिलेर समृद्ध प्रदेश निर्माण गर्ने कुरा हो । अहिले सबै शक्ति मिलेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो । यहाँ अंशबन्डाको कुरा भएको छैन । मिलेर समृद्ध प्रदेश निर्माण गर्दै पहिचानको मुद्दालाई बलियो बनाउने नै मुख्य कुरा हो । विगतमा भएकै सहमतिअनुसार प्रदेश चलाउने हो । कतिपय आकांक्षीले मुख्यमन्त्रीमा दाबी गर्नु भिन्नै कुरा हो तर नेतृत्व तहमा विवाद छैन ।

० राजपा नेतृत्व तहबाटै आलोपालो गर्नुपर्ने प्रस्ताव दुई दलको शीर्ष बैठकमा आएको छ नि ?

छैन । राजपाको जुन अध्यक्ष मण्डल छ, त्यहीबाट यस्तो प्रस्ताव आएको छैन ।

० राजपासँग कुरा नमिले फोरमले प्रदेश २ मा वाम गठबन्धनसँग मिलेर प्रदेश सरकार बनाउने र केन्द्रको सरकारमा पनि सहभागी हुने रणनीतिमा तपाईंहरू
हो कि ?

मैले भनिसकें नि । राजपा र फोरमका बीचमा कुनै समस्या नै आएको छैन । हाम्रो सोच वाम गठबन्धनसँग मिलेर प्रदेश सरकार बनाउने र केन्द्रमा पनि सहभागी हुने भन्ने होइन, त्यस्तो छैन ।

० जनकपुरमा भएको राजपा र फोरमको बैठकमा अध्यक्ष मण्डलका सदस्यहरूबीच राजपाले आलोपालोको प्रस्ताव गरेको हो नि ?

हैन । छैन, त्यस्तो प्रस्ताव आएको छैन । मलाई थाहा छैन ।

० प्रदेश २ मा तपार्इंहरूले कहिलेसम्ममा सरकार निर्माण गर्नुहुन्छ ?

संवैधानिक व्यवस्थाअनुसार चाँडै नै सरकार निर्माण गर्छांै । गृहकार्य भइरहेको छ । चाँडै हुन्छ भन्ने मलाई विश्वास छ ।

० तपार्इंहरूको ध्यान प्रदेश २ मा मात्रै हुन्छ कि केन्द्रीय सरकारमा पनि हुन्छ ?

प्राप्त जनादेशअनुसार हामीले प्रदेश २ मा सरकार बनाउँछौं । अरू प्रदेशमा हामीलाई सरकारमा सहभागी हुने वा बनाउने जनादेश आएको छैन । त्यस्तै केन्द्र सरकारमा पनि सहभागी हुने वा सरकार निर्माण गर्ने जनादेश हामीलाई प्राप्त भएको छैन ।
हाम्रो अस्तित्व प्रदेश २ बाहेक अरू प्रदेशमा पनि छ । केन्द्रीय सरकार बनाउने जनादेश एमाले र माओवादीले पाएका छन् । यदि एमाले र माओवादीका बीचमा पार्टी एकीकरण भएर उनीहरूको सरकार बन्छ भने हाम्रो एजेन्डासँग सहमत हुने माओवादीले त्यहाँ कस्तो भूमिका निर्वाह गर्छ, त्यसमा पनि भर पर्छ । यदि एमाले र माओवादीको सहकार्यमा सरकार बन्छ भने उनीहरूले हाम्रो एजेन्डासँग कतिको सहमत हुँदै कस्तो सहकार्य खोजेका हुन् हामी त्यही हेरिरहेका छौं ।
एक हिसाबले भन्ने हो भने हामी पर्ख र हेरको अवस्थामा छौं । हाम्रो धारणा प्रस्ट छ, हामीले संविधानको धारा २७४ को संशोधनसहितको अग्रगामी परिवर्तन हुनुपर्छ भनेकोे हौं । त्यो भनेको नयाँ प्रदेशहरूको सिर्जना र प्रदेशको सिमांकन हेरफेरको सन्दर्भमा विगतका जुन राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको सैद्धान्तिक प्रस्तावअनुसार संविधान संशोधन गर्दै अगाडि बढ्न तयार छौं भन्ने कुरा भयो भने हामी सकारात्मक ढंगले अगाडि बढ्छौं ।
हैन, उहाँहरू त्यसरी जान सक्नुहुन्न भने हामी प्रतिपक्षमा रहन्छौं । हाम्रो कुरा किलियर नै छ, उहाँहरूले कस्तो रणनीति लिनुहुन्छ, त्यसमा भर पर्छ ।

हामी संघीयता कुन मोडेलमा चल्ने भन्ने बहसमा छौं । शास्त्रीय संघीयता, आधुनिक संघीयता, सहकारी संघीयतासहितका विभिन्न मोडेलका संघीयताकै बहसमा छौं । हामी सबै प्रदेश आत्मनिर्भर होस् भन्ने चाहन्छौं

० तपार्इंहरूले वाम गठबन्धनबाट प्रदेशको सिमांकन हेरफेरसहितको संशोधन खोज्नुभएको हो ?

प्रदेशको सिमांकन हेरफेर मात्रै होइन, त्यसले त संकुचन गर्छ । हामीले त नयाँ प्रदेशको सिर्जना चाहेका छौं । जस्तो कि हामी १० प्लस १ को पक्षमा छौं । प्रदेशको सिमांकन हेरफेर भनेको ७ प्रदेशमै सिमित भएर यताबाट काटेर उता र उताबाट काटेर यता होइन । हाम्रो माग १० प्लस १ हो, त्यसैले नयाँ प्रदेशको सिर्जनादेखि प्रदेशको सिमांकका विषयमा संशोधन गर्न वाम गठबन्धन तयार भए भने हामीहरू सहकार्य गर्न तयार छौं ।

० एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा केही समययता तपार्इंहरूको कुराकानी त बाक्लै भइरहेको छ, केही सहमति भयो कि ?

अहिले कुरा के छ भने विगतमा एमालेले जुन कुरामा अडान लिइरहेको थियो, अहिले केही सकारात्मक भएको देखिन्छ । विगतमा जुन यथास्थितिवादी सोच एमालेका नेतामा थियो, निर्वाचनपछि त्यसमा परिवर्तन आएको छ । उहाँहरू केही लचिलो हुनुभएको छ ।
औचित्य र आवश्यकता पुष्टि गर्नुहुन्छ भने हामी त्यसमा संशोधन गर्न तयार छौं भन्ने कुरामा एमाले नेताहरू लचिलो हुनुभएको छ । आवश्यकता र औचित्य हेरी संविधान संशोधन गर्न तयार छौं भन्ने कुरा एमालेका नेताले भन्नुभएको छ ।
उहाँहरूको यस्तो कुरा आएपछि हामीले अहिले नै सातबाट आठ प्रदेश बनाऔं भन्ने कुरा गरेका छैनौं । हामीले नयाँ प्रदेशको सिर्जनाको बाटो खोलौं भनेका हौं । अहिले त उहाँहरूको बहुमत केन्द्रमा छ, जुन दिन हामी र हामीजस्तै विचार सिद्धान्त भएका पार्टीको दुई तिहाइ बहुमत आउँछ, हामी त्यो दिन त गर्छौं । हुन त अहिलेको निर्वाचन प्रणालीअनुसार दुई तिहाइ एउटै दलको आउँदैन ।
संवैधानिक रूपमा निकास दिन कांग्रेस, माओवादी जस्तै एमाले पनि सकारात्मक भएर बाटो खोल्नुपर्छ भन्ने भनेका छौं । नयाँ ढंगले सकारात्मक भई एमाले अगाडि बढ्यो भने ऊसँग हामी सहकार्य गर्न तयार छौं ।

० भनेपछि एमाले मधेस र मधेसीको मुद्दाप्रति लचिलो भएको महसुस गर्नुभएको छ ?

यो मधेसको मात्रै मुद्दा होइन्, यो राष्ट्रिय मुद्दा हो । यसमा मधेस, आदिवासी जनजाति, लिम्बुवान, मगरातसहित सबैको राष्ट्रिय मुद्दा पछ्र्र । १० प्लस १ मा सबैको मुद्दा समेटिन्छ, यसमा एमाले चलिलो हुनुपर्छ भन्ने मात्रै हाम्रो भनाइ हो ।

० एमाले लचिलो भएको कि तपाईंहरूको विश्वास मात्र ?

विगतमा उहाँहरूले ७ प्रदेश नै बढी भयो ५ प्रदेश नै हुनुपर्छ भन्दै हुनुहुन्थ्यो । संविधान संशोधन हुनै सक्दैन भन्नुहुन्थ्यो । तर, अहिले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न तयार हुनुभएको छ ।

० तपाईंले भनेजस्तै हुने हो भने तपार्इंहरूलाई नै खतरा छ नि । एमाले मुलुकभर बहुमतसहित आएको छ, तपार्इंहरूले भने जस्तै संशोधन भयो भने नयाँ एजेन्डा त सकिने भो हैन तपाईंहरूका ?

उहाँहरूले सकारात्मक ढंगले सम्बोधन गर्नुभयो भने उहाँहरूले रातो भनेपछि हामीले सेतो भन्नुपर्छ भन्नेछैन । उहाँहरूले रातो भनेपछि हामीले कालो भन्नैपर्छ भन्नेछैन । उहाँहरूले ठीक ढंगले सम्बोधन गर्नुभयो भने एमालेलाई जनताले समर्थन गर्छ भने हाम्रो आपती हुँदैन । उहाँहरूले समर्थन नगरेकै कारण हामीले यो मुद्दा बोकेका छौं । भोलि यो मुद्दा बोकेर एमालेभन्दा पनि सशक्त पार्टीका रूपमा हामी आउन सक्छौं ।

संघवाद र समाजवाद हाम्रो पार्टीको सिद्धान्त हो 
 संघीय सरकारमा सहभागी हुने नहुनेबारे ‘पर्ख र हेर’ को अवस्थामा छौं
 प्रदेश २ को मुख्यमन्त्रीमा अंशबन्डाको कुरा भएको छैन 
 हाम्रो सिद्धान्तस“ग सहमत हुने राजपासहित जुनसुकै पार्टीस“ग पार्टी एकता गर्न सक्छौं
 जातीय मुक्तिका लागि संघीयता र वर्गीय मुक्तिका लागि समाजवादको स्थापना गर्छौं 
 समाजवादी फोरमको निर्माण भएपछि पहाडमा मत बढ्ने आशा गरेका थियौं तर त्यस्तो हुन सकेन
 हिन्दीलाई लिंक (सम्पर्क) भाषाका रुपमा लिनेले प्रदेशसभामा हिन्दीमा भाषण गरेका हुन्
 वीरगन्जसहित वरिपरिका क्षेत्रलाई समेटेर आर्थिक राजधानी 
बनाउन सकिन्छ
 एमालेका नेताले आवश्यकता र औचित्य हेरी संविधान संशोधन गर्न तयार छौं भन्नुभएको छ

० अघि १० प्लस १ को कुरा गर्नुभयो तर अहिले एउटा शक्ति अहिलेकै ७ प्रदेशलाई असफल बनाउन खोजिरहेका छन् । भएकै प्रगतिलाई शून्यमा झार्न खोज्दै छन्, यसलाई निस्तेज पार्न तपार्इंहरूसँग केही योजना छ ?

नेपाल विकासोन्मुख देश हो । धेरै जस्तो विकासका काम ऋणबाटै चलिरहेको छ । देश नै आत्मनिर्भर भएको छैन । हामीले सोचेको कुरा के हो भने देशको जुन सामथ्र्य छ, त्यही हिसाबले प्रदेशको सामथ्र्य हुनुपर्छ भन्ने नै हो ।
हामी संघीयता कुन मोडेलमा चल्ने भन्ने बहसमै छौं । शास्त्रीय संघीयता, आधुनिक संघीयता, सहकारी संघीयतासहितका विभिन्न मोडेलका संघीयताकै बहसमा छौं । हामीले सबै प्रदेश आत्मनिर्भर चाहेका छौं ।
अहिले केही यस्ता शक्ति छन्, जोे अहिलेकोे उपलब्धिलाई नै निस्तेज पार्न लागेका छन् भनेर दलहरूले बारम्बार भन्दै छन्, यसमा सत्यता छ कि छैन खुलस्त भन्नुस् न ।
यस सन्दर्भमा एउटा ठूलो अन्तरविरोध छ । जनआन्दोलन, जनविद्रोह, मधेस आन्दोलन पछि एउटा यस्तो शक्ति छ, जसले प्राप्त उपलब्धिलाई संस्थागत नहोस् भन्ने चाहेका छन् । केन्द्रमा रहेका कर्मचारी केही यस्ता छन्, जो प्रदेशमा जान चाहँदैन । केही यस्ता पनि छन् कि केन्द्रीयता नै खोजिरहेका छन् । केन्द्रको बजेट प्रदेशसहित गाउँगाउँमा पनि जानुपर्छ ।
प्रदेश २ लाई समृद्ध एवं सम्पन्न बनाउने योजना तपाईंहरूसँग के के छ ? दुईचार वटा बताइदिनुस् त ।
सरकार बनाउने गृहकार्य हुँदै छ । सरकार बनेपछि हामी समृद्ध र सम्पन्न प्रदेश कसरी बनाउने त्योबारे स्पष्ट छौं । सरकार निर्माण गरेपछि हामीले समृद्ध र सम्पन्न प्रदेश निर्माणका लागि स्पष्ट रूपमा संघीयताको मोडेलअनुसार विकास गर्छौं । हामी पहिचान र समृद्धिका सिद्धान्तअनुसार नै प्रदेश २ मा अगाडि बढ्छौं । पहिचानसहितको संघीयता भयो भने जनताको अधिकार, जाति भाषा, संस्कृति संरक्षण हुन्छ । विभेदरहित संघीयताको निर्माण गर्छांै । समृद्ध बनाउन समतामूलक विकासका आधारमा अगाडि बढ्छौं ।
जातीय मुक्तिका लागि संघीयता र वर्गीय मुक्तिका लागि समाजवादको स्थापना गर्छौं । यही दुइटा मान्यतालाई हामीले प्रदेश २ मा लागू गर्छौं । प्रदेश २ मा रहेका स्रोतसाधनको अत्याधिक प्रयोग गर्दै विभिन्न योजना लागू गर्नेछौं । समग्रमा सम्पूर्ण मधेसको आवश्यकताअनुसार नै त्यहाँको जनताको आवश्यकताअनुसार नै विकास गर्छौं । जनताको आवश्यकतालाई ध्यान नदिई जबर्जस्ती लागू गर्ने केन्द्रको योजना नभई जनता र प्रदेशको आवश्यकताअनुसारका योजना लागू गर्नेछौं ।

० प्रदेश २ मा फोरम र राजपाका नेतालाई मातृभाषा भोजपुरी, मैथिली छोडेर हिन्दी मोह किन लागेको होला है ?

हाम्रो पार्टीका साथै सबै पार्टीका साथीले आफ्नो मातृभाषामै सपथग्रहण गरेका छन् । पूर्वका साथीहरू मैथिली, पश्चिमका साथीहरू भोजपुरीका साथै केही साथीहरूले पर्वतीय गोरखाली भाषा जसलाई हामीले नेपाली भन्छांै, यी सबै भाषामा शपथग्रहण गर्नुभएको छ ।
रह्यो कुरा, त्यहाँका जनताले हिन्दीलाई लिंक (सम्पर्क) भाषाका रूपमा लिने भएकाले प्रदेशसभामा हिन्दीमै भाषण गरेका हुन् । नेपालमा मुख्यतः पर्वते गोरखा भाषा नेपाली, नेपाल भाषा र हिन्दी भाषाको प्रयोग पहिला हुन्थ्यो तर, यहाँका शासक एवं पञ्चहरूले एकल जाति, एकलभाषाकै रणनीतिमा अरू भाषा र संस्कृतिलाई नष्ट गरेका थिए ।
हिन्दी र नेपाल भाषामा समेत रेडियोमा कार्यक्रम चलिरहँदा हिन्दी भाषालाई हटाउने नाममा नेपाल भाषाका कार्यक्रमलाई समेत हटाउने षड्यन्त्र भयो । प्रत्येक प्रदेशले आफ्नो अनुकूलको भाषा प्रयोग गर्न सक्छ । अत्याधिक जनसंख्याले बोलिने भाषा नै कामकाजको भाषा हुन सक्छ, जस्तै प्रदेश २ मा भोजपुरी, मैथिली भाषा कामकाजको भाषा हुन सक्छ ।

० मधेस आन्दोलन सफल बनाउन कलैया र वीरगन्जको महŒवपूर्ण योगदान छ, तपाईंहरूले वीरगन्ज नभई जनकपुरलाई किन राजधानी बनाउन खोज्नुभएको छ ?

यो कुरा प्रदेशका सांसदले निर्णय गर्ने कुरा हो । वीरगन्ज भनेको देशकै आर्थिक केन्द्र भएकाले वीरगन्जसहित वरिपरिका क्षेत्रलाई समेटेर देशकै आर्थिक राजधानी बनाउन सकिन्छ । पहिले नै विकसित भएको सहरलाई नभई नयाँ ठाउँलाई सहरीकरण गरेर राजधानी बनाउनुपर्छ । विश्वमा धेरै मुलुकको राजधानी नै सार्ने निर्णय सन्तुलन मिलाउनका लागि भएको उदाहरण हाम्रो सामु छ । जस्तै कोलकात्ताबाट भारतको राजधानी दिल्ली सारिएको छ ।

० फोरम र राजपाले साझा उम्मेदवारी दिएर निर्वाचनमा सहभागी भएसँगै पार्टी एकीकरण गर्ने कुरा पनि आयो, पार्टी एकीकरण कहाँ पुग्यो ?

पार्टी एकीकरण सिद्धान्तको आधारमा हुने हो । दुई पार्टी एकीकरण हुनु सैद्धान्तिक कुरा हो । संघवाद र समाजवाद हाम्रो पार्टीको सिद्धान्त हो । संघवाद र समाजवाद सिद्धान्तसँग सहमत हुने जुनसुकै पार्टीसँग पनि हामीले पार्टी एकता गर्न सक्छौं । राजपा यदि यो सिद्धान्तसँग सहमत हुन्छ भने ऊसँग पनि पार्टी एकीकरण हुन सक्छ ।
निर्वाचनको समयमा सिटको बाँडफाँटसँगै पार्टी एकीकरणको कुरा आए पनि अहिलेसम्म पार्टी एकीकरणका लागि त्यस्तो वार्ता भएको छैन । एमाले र माओवादीले साझा घोषणापत्र जारी गरेर पार्टी एकीकरण गर्ने ६ बुँदे सहमति गरे जस्तै हामीले गरेका छैनौं । निर्वाचनमा हामीले सिट बाँडफाँट गरेर सहकार्य मात्रै गरेका छौं । संघवाद र समाजवाद सिद्धान्तसँग राजपा सहमत भए पार्टी एकीकरण हुन सक्छ ।

० विगतमा पहाडी जिल्लाबाट डेढ लाखसम्म मत पाएको तपाईंहरू पछिल्लो निर्वाचनसम्म पुग्दा ५० हजारमा सीमित हुनुभयो, यसबाट पाठ पो सिक्नुपर्ने हो कि ?

हामी गम्भीर रूपमा आत्मसमीक्षा गरिरहेका छौं । तीन पार्टी मिलेर संघीय समाजवादी फोरमको निर्माण भएपछि हामीले पहाडमा मत बढ्ने आशा गरेका थियौं तर त्यस्तो हुन सकेन । परम्परागत जुन नेपालमा नश्लीयवाद छ, त्यो नश्लीयवाद राष्ट्रियताको प्रभाव परेको जस्तो मलाई लाग्छ ।
मधेसप्रति जुन पहाडीय दृष्टीकोण छ, त्यो समतामूलक हुन सकिरहेको छैन । एक किसिमले दार्जिलिङका, सिक्किम वा उतराञ्चलका भारतीय जनतालाई आफन्त ठान्ने तर मधेसमा अलि फरक रंग भएका नेपाली मधेसलाई विदेशी ठान्ने जुन केपी ओलीजीहरूले एक समय बिहार, यूपीकै नाम लिए । यस्ता यस्ता प्रवृत्तिहरू पञ्चायतदेखि नै छ ।
पञ्चायतले पनि यस्तै नश्लीय राष्ट्रवादको भजन गाएर नै ३० वर्ष टिकेको र अहिले पनि केही राजनीतिज्ञहरूमा त्यही प्रभाव छ । यसले जनमानसमा नराकात्मक प्रभाव परिरहेको छ । विस्तारै यो सबै कुरा हट्दै जान्छ । यसका साथै केही स्रोतसाधन एवं नेतृत्वको कमजोरीले हाम्रो मत घटेको हो । यसलाई सुधारेर हामी आगामी पाँच वर्षमा मधेसका साथै पहाडमा पनि शक्तिशाली पार्टीका रूपमा अगाडि आउने र देशकै वैकल्पिक पार्टी बन्छौं । म सबैसँग शोषणविरुद्ध एकजुट भएर समृद्ध नेपाल निर्माण गर्न आग्रह गर्छु ।