यात्रुलाई सास्ती नदेऊ

यात्रुलाई सास्ती नदेऊ

मुग्लिन–नारायणगढ सडकखण्डमा दैनिक केही घण्टा यात्रुलाई रोकेर सडक निर्माण गरिँदा यात्रुहरू मारमा परेका छन् । काठमाडौंबाट पश्चिम र पूर्वतिर जाने धेरै निजी एवं सार्वजनिक सवारीसाधन मुग्लिन–नारायणगढकै बाटो आउजाउ गर्छन् । तर, पछिल्लो समय सडक निर्माणको क्रममा दैनिक केही घण्टा सवारी आवागमन रोकिने गरेको छ । यसरी सवारीसाधनलाई रोकिँदिँदा यात्रुहरू थप मारमा परेका छन् भने सवारीसाधन धनी पनि थप आर्थिक भार बहन गर्न बाध्य छन् । टाढाको कुरा छाडौं, अहिले कोही व्यक्ति चितवन वा नवलपरासी जानुप¥यो भने पनि १० देखि १८ घण्टासम्म समय छुट्याउनुपर्ने बाध्यता छ ।

कुनै पनि मुलुकको समृद्धिका लागि त्यस देशको सडक, पुललगायत अन्य भौतिक पूर्वाधार चुस्त हुनुपर्छ । सडक बनाउँदा होस् या पुल निर्माणबारे आफ्नै किसिमको विधि र प्रक्रिया छ । कुनै पनि सडक एवं पुल कति समयमा कसरी बनाउने ? मापदण्ड स्पष्ट छ । हरेक काम सरकार आफैंले गर्ने होइन । सडक, पुललगायतका पूर्वाधार निर्माणकै लागि भनेर निर्माण व्यवसायीहरू स्थापित भएका छन् । स्वदेशमै पौरख गरेर कतिपय निर्माण व्यवसायी आर्थिक रूपमा सम्पन्न भएको यथार्थलाई पनि बिर्सन सकिँदैन । तर, पछिल्लो समय कतिपय निर्माण व्यवसायीले सरकारको लाचारीपनको फाइदा उठाउँदै पूर्वाधार निर्माणको काम जिम्मा लिने र समयमा काम नसक्ने प्रवृत्ति मौलाउँदो छ । समयमा काम नगर्ने अनि समय घर्किसकेपछि हतार–हतार काम गर्ने प्रवृत्तिले सर्वसाधारणलाई त सास्ती दिएको छ नै, पूर्वाधारको गुणस्तरमा पनि समस्या उत्पन्न हुने गरेको छ । मुग्लिन–नारायणगढ सडकखण्डमा पनि त्यही पूर्वाधार निर्माणको जिम्मा लिएको कम्पनीले समयमा काम नगर्दा एक समयमा काम सकिने सम्भावना ट¥यो, अर्को बाटै बन्द गरेर काम गर्नुपर्ने अवस्था आइलाग्यो । यस्तो स्थिति आउनुमा सरकार र निर्माण व्यवसायी दुवै पक्षको कमजोरी उत्तिकै छ । काम गर्नेले बेलैमा गरेको र ताकेता गर्नुपर्ने निकायले पनि बेलैमा ताकेता गरेको भए यो स्थिति आउने थिएन ।

यसै सडकखण्डमा अझै २५ प्रतिशत काम बाँकी नै छ । पटक–पटक थपिएको मितिमा फेरि पनि काम नसकिएला कि भनेर फेरि सवारीसाधनको आवतजावतलाई बन्द गर्ने विषयमा छलफल भइरहेको बुझिएको छ । यो शैली आफैंमा समस्या समाधानको उपाय होइन । अन्य थुप्रै सडक छन्, ती सडकमध्ये कतिपय स्थानमा तत्कालै र कतिपय स्थानमा केही वर्षपछि विस्तार गर्नुपर्ने होला । यसैगरी यात्रुको आवतजावत बन्द गरेर काम गरियो भने फेरि पनि सर्वसाधारण हैरानी खेप्न विवश हुनेछन् । आशा गरौं मुग्लिन–नारायणगढ खण्डमा फेरि आवजजावत बन्द गर्ने निर्णय हुनेछैन र सर्वसाधारणले समयमै गन्तव्यमा पुग्ने अवसर पाउनेछन् ।