गुमेको नेत्रज्योति पाउँदा दंग

सुदीप अधिकारी / बर्दिया

ठाकुरबाबा नगरपालिका–६ शिवपुरकी लक्ष्मी खड्का लामो समयदेखि दाहिने आँखाको समस्याबाट पीडित थिइन् । दाहिने आँखाले राम्रोसँग काम गर्न छाडेपछि उनलाई घरायसी काममा निकै बाधा परेको थियो । कमजोर आर्थिक अवस्थाले गर्दा राम्रो अस्पतालमा गएर उपचार गराउन नपाएकी लक्ष्मीलाई आफ्नै गाउँघरमा आँखा जाँच तथा शल्यक्रिया शिविर आउँदा भगवान नै आएजस्तो भयो ।

शिविरमा आँखा जाँच गरेपछि चिकित्सकले उनलाई आँखामा मोतियाबिन्दु भएको बताए । आइतबार उनले शिविरमै मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गराइन् । ‘निकै खुसी भएको छु, फेरि संसार देख्न पाएँ,’ आँखाको शल्यक्रियापछि शिविरस्थलमा आराम गर्दै गरेकी लक्ष्मीले भनिन्, ‘गाउँमा आँखा शिविर नआएको भए त पीडा बोकेर बस्नुपथ्र्यो होला ।’

उनीजस्तै मोतियाबिन्दुबाट पीडित ठाकुरबाबा नगरपालिका–१ डुम्रेनीका जगत खनाल पनि शिविरस्थलमा निकै खुसी देखिन्थे । उनको पनि शिविरमा मोतियाबिन्दुको शल्यक्रिया भएको थियो । लामो समयदेखि सहँदै आएको पीडाबाट मुक्त भएको बताउँदै खनालले भने, ‘आँखामा ज्योति पाउँदा अर्को जन्म पाएजस्तो महसुस भएको छ ।’

शिविरबाट खड्का र खनालजस्तै १८५ जनाले आँखाको ज्योति पाएका छन् । नेपाल नेत्रज्योति संघ, फत्तेवाल आँखा अस्पताल नेपालगन्जले जिल्लाको भुरिगाउँमा सञ्चालन गरेको निःशुल्क मोतियाबिन्दु जाँच तथा शल्यक्रिया शिविरमा १ हजार ५ सय जना आँखाका बिरामीले आँखा जाँच गराएका थिए । ठाकुरबाबा नगरपालिकाका नौवटै वडामा आँखा जाँच गरिएको थियो । जाँचबाट २५० जनामा मोतियाबिन्दुका बिरामी फेला परेका थिए । मोतिबिन्दु भएकाहरूलाई २६–२८ माघसम्म निःशुल्क शल्यक्रिया गरिएको थियो ।

नगरपालिकाका सबै वडामा आँखा जाँच गर्दा २५० जनामा मोतियाबिन्दु देखिएको थियो । जसमध्ये १८५ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल सामुदायिक कार्यक्रम अधिकृत उमर शादिकले बताए । शल्यक्रिया गर्नुपर्नेमध्येमा २२ जनामा मधुमेह र उच्च रक्तचापको समस्या देखिएकाले शल्यक्रिया गर्न नसकिएको उनले बताए । बाँकी बिरामी भने सम्पर्कमा आएनन् ।

फत्तेवाल आँखा अस्पताल नेपालगन्जका नेत्र रोग विशेषज्ञ डा. देवराज भारतीसहितको ११ जनाको प्रविधिक टोलीले शिविरमा खटिएको थियो । घरदैलोमै मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्न पाएपछि स्थानियवासी निकै खुसी भएका छन् । यस क्षेत्रका मानिसलाई आँखाको शल्यक्रिया तथा आँखासम्बन्धी अन्य उपचारका लागि नेपालगन्ज जानुपर्ने बाध्यता छ । उपचार खर्च नभएर रोग पाल्न बाध्य भएका ग्रामीण भेगका जनता शिविरबाट निकै लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगन्जले स्थापनाकालदेखि नै ग्रामीण भेगमा आँखासम्बन्धी निःशुल्क शिविर सञ्चालन गर्दै आएको सामुदायिक कार्यक्रम अधिकृत उमर शादिकले बताए । भेरी अञ्चल सबैभन्दा बढी अन्धोपनबाट ग्रसित क्षेत्र रहेकाले हरेक वर्ष ग्रामीण भेगमा निःशुल्क शिविर सञ्चालन गर्ने गरिएको कार्यक्रम अधिकृत शादिकले बताए ।

उनका अनुसार यहाँ हरेक २ सय जनामा एक जना अन्धोपनबाट ग्रसित रहेका छन् भने नेपालमा ६४ प्रतिशतमा अन्धोपन तथा मोतियाबिन्दु रोग छ । ४० वर्ष उमेर पार गरेपछि मोतियाबिन्दुको समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् । कसैकसैलाई जन्मजात नै रोग देखिने गरेको र कसैलाई आँखामा गम्भीर चोट लाग्दा पनि मोतियाबिन्दु हुने गरेको चिकित्सकको भनाइ छ ।