रुसी विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु

एजेन्सी / मस्को

रुसमा ७१ जना सवार रहेको विमान दुर्घटनामा परेको छ । यात्रु र चालकदलका सदस्यसहित ७१ जना सवार रुसी विमान मस्कोनजिकै दुर्घटनामा  परेको हो ।
मस्कोस्थित युरल्सका लागि उडेको सो जहाज राडार संकेतबाट हराएलगत्तै दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटना भएको विमान साराटोभ एयरलायन्सको एएन–१४८ क्षेत्रीय विमान हो । दुर्घटनामा परी विमानमा सवार सबै यात्रुको मृत्यु भएको रुसी समाचार एजेन्सीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । मस्कोबाट ८० किलोमिटर रामेनोस्कीमा विमान खसेको बताइएको छ ।
डेमडइयड्भ विमानस्थलबाट उडेको २ मिनेटमै विमानको राडारसँगको सम्पर्क टुटेको थियो । साराटोभ एइरलायन्स मस्कोबाट ८४० किलो मिटर दक्षिण पश्चिमको साराटोभ क्षेत्रको स्थानीय विमान सेवा कम्पनी हो । सन् २०१५मा कम्पनीलाई अन्तर्राष्ट्रिय उडान भर्न प्रतिबन्ध लागेको थियो ।
आकस्मिक अनुगमनका क्रममा विमानको ककपिटमा पाइलटबाहेकका अन्य व्यक्ति पनि उपस्थित भएको फेला परेपछि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेको थियो ।