प्राथमिकतामा सडक निर्माण

नरेन्द्र कार्की / दार्चुला

चालू आर्थिक वर्षमा जिल्लाका स्थानीय सरकारहरूले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन् । सडक सञ्जालमार्फत गाउँपालिकालाई जोड्ने गरी विभिन्न सडक निर्माण कार्य तीव्र गतिमा भइरहेका छन् ।

नौगाड गाउँपालिकाले सबैजसो वडालाई सडक सञ्जालले जोड्ने गरी निर्माण कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए । गाउँपालिकाले हाल पाँचवटा सडक योजना उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाएको छ । यसअघि सडकले नछोएका वडापालिकासम्म सडक सञ्जाल विस्तार गर्ने गरी काम अघि बढिरहेको उनले बताए । होपरीगाड, सिप्टी हुँदै मार्मा गाउँपालिकाको तपोवन जोड्ने गरी १ करोड रुपैयाँ बजेट विनियोजन गरी सडक निर्माण भइरहेको छ । ‘सडक निर्माणलाई तीव्रता दिन डोजर प्रयोग गरिएको छ,’ अध्यक्ष धामीले भने । पुरै मान्छे लगाएर काम गराउँदा ढिलाइ हुने भएको कारण डोजरमार्फत सडक खनिएको उपभोक्ता समिति अध्यक्ष रघुवीरसिंह

ठगुन्नाले बताए ।

यस्तै, जामिरदेखि इयरकोट, सम्पाङ जोड्ने सडक कुल ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर निर्माण थालिएको छ । यस्तै, दल्लेख–गोधानी सडक निर्माणका लागि ३० लाख रुपैयाँ, खारदेखि स्वास्थ्य चौकीसम्मको सडक निर्माणका लागि ३० लाख रुपैयाँ, सुकारखोलादेखि गडीगाड पानीढुंगासम्म सडक निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाभित्र यी ठूला पाँच सडक निर्माणका लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सडकको निरन्तर अनुगमन निरीक्षणसमेत भइरहेको छ । गाउँपालिकालाई अझै सडक सञ्जालमा जोड्ने गरी पालिकाले आफ्नै डोजर र टिपर खरिद प्रक्रियासमेत अघि बढाएको छ ।

यसैगरी, अपि हिमाल गाउँपालिकाले मकरीगाडदेखि कोटसम्म पर्यटन मार्गका रूपमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर निर्माण कार्य अघि बढाएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताए । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको उक्त गाउँपालिकाले स्थानीय स्तरमा कामका लागि खाद्य कार्यक्रम र गाउँपालिकाको बजेटमार्फत सडक निर्माण गरिरहेको छ ।

यसैगरी, शैलेशिखर नगरपालिकाले वडाहरूलाई सडक सञ्जालमा जोड्न बजेट विनियोजन गरेको छ । बन्तोली–झरकडा सडक र बगोरा–रानीशिखर सडक निर्माणका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सडक डिभिजन कार्यालयसँगको सहकार्यमा सडक निर्माण कार्य अघि बढाउने जनाएको छ ।

लेकम गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न १ करोडभन्दा बढि बजेट विनियोजन गरिएको छ । गोकुलेश्वरदेखि गाउँपालिका कार्यालयसम्म सडक सञ्जालले जोडिने बताइएको छ । अहिले उक्त गाउँपालिकाका केही क्षेत्रलाई भने महाकाली करिडोरले जोडेको छ । यस्तै, गाउँपालिकाभित्रका वडासँग सडक सञ्जाल विस्तार गर्न गाउँपालिकाले आफैंले स्काभेटर खरिद गर्ने भएको छ । स्काभेटर खरिदका लागि १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको निमित्त प्रशासकीय अधिकृत नारायण भट्टले जानकारी दिए ।

यसैगरी, मार्मा गाउँपालिकाले अहिलेको बिटुले पारिबगड सडकलाई स्तरोन्नति गर्न डीपीआर निर्माण गर्ने कार्य भइरहेको बताएको छ । महाकाली लोकमार्गअन्तर्गतको मालिकार्जुन गाउँपालिकाले पनि ऐरीछाना–डाँडाकोट–लाली सडकलाई प्राथमिकताका साथ अघि बढाउने गरी काम भइरहेको जनाएको छ ।

अहिले अधिकांश स्थानीय सरकारले उपभोक्ता समितिमार्फत सडक निर्माण कार्य अघि बढाउने भएका हुन् । अझै दार्चुलाका व्यास, लेकम र अपि हिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएका छैनन् । व्यास गाउँपालिकालाई दार्चुला तिंकर सडकले जोड्ने निर्माण कार्य भइरहेको छ । लेकम गाउँपालिकालाई महाकाली करिडोरले जोड्नेछ भने अपि हिमाल गाउँपालिकालाई केन्द्रीय रणनीतिक सडकअन्तर्गत जोड्ने गरी निर्माण कार्य अघि बढेको सडक डिभिजन कार्यालय पाटन बैतडीले जनाएको छ । सडक नहुँदा स्थानीयले समस्या झेल्नुपरेको भन्दै सबै स्थानीय सरकारको पहिलो प्राथमिकतामा सडक परेको हो ।