रश्मीले हल्लाइन् पोखरा

पोखरा / रास– आफूलाई साहित्यका विविध आयाममा सक्रिय बनाउँदै आएकी साहित्यकार, गजलकार एवं मुक्तककार रश्मी रोदनले पोखरा तताएकी छन् । मुक्तक मञ्च पोखराको आयोजनामा पोखराको न्युरोडमा सम्पन्न कार्यक्रममा करिब दुई दर्जन मुक्तक सुनाउँदै रश्मी रोदनले पोखरा तताएकी हुन् । विशिष्ट अतिथिका रूपमा पोखरा पुगेकी रश्मीले प्रेम सप्ताहको यस अवसरमा अधिकांश प्रमिल मुक्तक सुनाएकी थिइन् भने सामाजिक एवं सौन्दर्य प्रेमका मुक्तक पनि वाचन गरेकी थिइन् । रिडर्स क्लबको हलमा भरिभराउ दर्शकले पुनः उनका सिर्जना सुन्न चाहेका थिए ।

तिम्रो नयन सजाउने काजल हुन मन छ ।

प्यारको वर्षा गराउने बादल हुन मन छ ।

डुब्न देऊ न सानु तिम्रो जादुमय वदनमा

हराउँदै तिम्रो यादमा पागल हुन मन छ ।

यी र यस्तै मुक्तकमार्फत पोखरेली श्रोताहरूको मन जित्न सफल रश्मीले आफ्नै परिचयसमेत मुक्तकबाट दिएकी थिइन् । पोखराको सौन्दर्यलाई समेत मुक्तकमा उतारेकी रश्मीसँगै स्याङ्जाका एसपी असफलले पनि मुक्तक सुनाएका थिए । साथै पोखराका विभिन्न मुक्तककारहरूले मुक्तकहरू सुनाएका थिए । मुक्तक मञ्च पोखराको ११७औं श्रृफ्लामा प्राञ्जलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।