सम्बन्ध विच्छेदपछि पनि दोस्ती

मुम्बई / एजेन्सी– कानुनी रूपमा गरिएको सम्बन्ध विच्छेदले मात्रै मानवीय सम्बन्धमा पूर्ण विराम लगाउन सक्दैन । एउटै परिवारमा बसेपछि कतिपय कुरा नमिलेर छुट्टिन सक्छन् । तर, त्यसरी छुट्टिएकाहरू पनि समयक्रममा नजिक भएकाहरू धेरै भेटिन्छन् । कानुनी रूपमा सम्बन्ध विच्छेद गरेका केही कलाकार यस्ता छन्, जो अहिले पनि सार्वजनिक समारोहमा श्रीमान् श्रीमतीकै हैसियतमा प्रस्तुत हुन्छन् ।

ऋतिक–सुजैन

बलिउड अभिनेता ऋतिक रोशन र उनकी श्रीमती सुजैन खानले सम्बन्ध विच्छेद गरेको केही वर्ष भयो । १४ वर्षसँगै बसेर सहमतिमा छुट्टिएका उनीहरूको साथीत्वको सम्बन्ध अझै बाँकी छ । यी दुवै आफ्ना छोराहरूसँग विवाहलगायत अन्य पारिवारिक पार्टीमा जानुको साथै कहिलेकाहीँ छुट्टी मनाउन पनि निस्कन्छन् ।

सुजैन–ऋतिकले सन् २००० मा विवाह गरेका थिए । ऋतिक र कंगना रनौतवीच विवाद भएपछि सुजैनले सम्बन्ध विच्छेद गरेकी थिइन् । जब ऋतिक–कंगना विवाद भयो, सुजैन ऋतिककै पक्षमा उभिइन् ।

मलाइका अरोरा–अरबाज खान

मलाइका अरोरा र अरबाज खानबीच सम्बन्ध विच्छेद भएको एक वर्ष हुन लाग्यो । उनीहरू पनि सम्बन्ध विच्छेदपछि पनि विभिन्न कार्यक्रममा सँगै उपस्थित भएका छन् । अरबाजको परिवारमा हुने हरेक कार्यक्रममा मलाइका सहभागी हुने गरेकी छन् । उनीहरूलाई बेलाबेलामा भेटघाट गर्ने माध्यम छोरा अरहन बनेका छन् ।

आमिर खान–रीना दत्त

आमिर खान र रीना दत्तले सन् १९८६ मा भागी बिहे गरेका थिए । १६ वर्षसँगै रहेका उनीहरू पनि अन्ततः छुट्टिने निर्णयमा पुगे । सम्बन्ध विच्छेदपछि रीना आफ्ना दुई छोराको स्याहार गरेर बसेकी छन् । प्रायः मुम्बईमा आयोजित पार्टीमा आमिरसँगै रीना पनि सहभागी हुन्छिन् । अहिले उनीहरूबीच सम्बन्ध राम्रो छ । आमिरले ५०आंै जन्मदिन मनाउँदा रीना र अर्की श्रीमती किरण राव उपस्थित थिए ।

मनीष मखिजा–पूजा भट्ट

भिजे मनीष र नायिका पूजा भट्ट छुट्टिएको केही वर्ष भयो । उनीहरूले पनि विवाहको ११ वर्षपछि सम्बन्ध विच्छेद गरेका थिए । कानुनी रूपमा सम्बन्ध विच्छेद गरे पनि उनीहरू अहिले धेरै कार्यक्रममा सँगै उपस्थित हुने गरेका छन् ।

रणवीर शौरी–कोकर्णा सेन

 रणवीर र कोकर्णा सेन विवाहको पाँच वर्षमै छुट्टिए । औपचारिक रूपमा सम्बन्ध विच्छेद गरे पनि उनीहरूको दोस्ती अहिलेसम्म पनि गज्जब छ । सन् २०१६ मा कोकर्णाले ‘अ डेथ इन द गुन्ज’ बनाइन् । उक्त चलचित्रमा रणवीरले अभिनय गरेका थिए ।

कल्की कोचलिन–अनुराग कश्यप

 निर्देशक अनुराग कश्यप र कल्की कोचलिनले पनि औपचारिक रूपमा सम्बन्ध विच्छेद गरिसकेका छन् । उनीहरूले पनि विवाहको पाँच वर्षपछि सम्बन्ध विच्छेद गरेका थिए । तर, अहिले उनीहरू एक अर्कालाई राम्रै सहयोग गर्छन् ।