गुरुङ प्रदेश ४ का मुख्यमन्त्री

विजय नेपाल / पोखरा

एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख बाबुराम कँुवरले सोमबार मुख्यमन्त्रीका रूपमा नियुक्त गरेका हुन् ।
कँुवरले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको बताए । मुख्यमन्त्रीको शपथ २ फागुनमा प्रदेश प्रमुखको  निवासमा हुनेछ ।

पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि बधाई दिँदै प्रदेश प्रमुख बाबुराम कँुवर । तस्बिर : राजधानी

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लमजुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ आइतबार एमालेको संसदीय दलको नेतामा निर्वाचित बनेपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । वाम गठबन्धनको सहमतिअनुसार एमालेले प्रदेश ४ को मन्त्री पाएकाले गुरुङ मुख्यमन्त्री भएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएपछि उनले आफ्नो पहिलो कार्य प्रदेश कानुन निर्माणका साथै आर्थिक समृद्धिमा केन्द्रित हुने उल्लेख गरे । उनले नेकपा माओवादी केन्द्र र पार्टीसँगको छलफलपछि सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने पनि बताए ।
‘सातवटा मन्त्रालय बनाएर प्रदेश ४ को आर्थिक समृद्धिसहित नमुना प्रदेश बनाउनेछु,’ उनले भने । मुख्यमन्त्री  नियुक्त भएसँगै एमाले र माओवादीमा मन्त्री बन्न लबिङसमेत सुरु भएको छ ।
मन्त्रीका लागि एमालेबाट किरण गुरुङ, कृष्ण थापा, विकास लम्साल, राजीव पहारी, मीनप्रसाद गुरुङ, नरदेवी पुन, इन्द्रकला सापकोटा, रोशन गाहामगरलगायत चर्चामा छन् । उता, माओवादी केन्द्रबाट रामजी बराल जीवन, दीपक कोइराला, चन्द्रबहादुर बुढालगायत चर्चामा छन् ।
एमाले संसदीय दलको आइतबारको बैठकमा प्रतिस्पर्धाका दाबेदार किरण गुरुङ पछि हटेपछि पृथ्वीसुब्बालाई संसदीय दलको नेताका लागि बाटो खुलेको थियो ।
२०१४ सालमा लमजुङको गिलुङमा जन्मिएका उनी २०२७ सालदेखि नै राजनीतिमा सक्रिय छन् । सुब्बालाई सातौं प्रतिस्पर्धामा दुईपटक मात्रै संसद्को ढोका खुलेको हो । २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा तत्कालीन मालेका तर्फबाट जनपक्षीय उम्मेदवारका रूपमा गुरुङ पहिलोपटक संसदीय निर्वाचनमा लडे ।
पहिलोपटकमै पराजित उनी बहुदलपछिका लगातार तीनवटा निर्वाचनमा संसद् पुगेनन् । २०४८, २०५१ र २०५६ को निर्वाचनमा उनी कांग्रेसी उम्मेदवारसँग पराजित भए । लगातार निर्वाचन हारेपछि उनलाई २०६४ सालको संविधानसभा निर्वाचनमा भने संसद् छिर्ने बाटो खुल्यो ।
कांग्रेस नेता दिलबहादुर घर्तीलाई पछि पार्दै उनी संसद् छिरे । तर, दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी कांग्रेससँगै पराजित भए ।  अन्ततः उनलाई लमजुङ प्रदेशसभा–२ बाट प्रदेशसभा सदस्यको बाटो खुलेको हो । उनी पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् । २०६४ सालमा लमजुङ–२ बाट उनी संविधानसभामा निर्वाचित भएका थिए ।