एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रु’ , नेतृत्वमा ओली–दाहाल बराबर हिस्सेदार

टेनिस रोका / काठमाडौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको विषयमा देखिँदै आएका समस्याको गाँठो फुकाएका छन् । दुवै पार्टीका शीर्ष नेताबीच ललितपुरस्थित एक घरमा भएको छलफलमा सरकार र पार्टी नेतृत्वदेखि सैद्धान्तिक विषयसम्ममा समझदारी जुटेको हो ।

सरकार र पार्टी नेतृत्वसहित सैद्धान्तिक तथा वैचारिक विषयमा लामो समयदेखि अल्झिएका दुई दलले महŒवपूर्ण विषयमा समझदारी जुटाउँदै एकताको गत्यारोध हटाएका हुन् । पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने विषयमा पनि दुई दलले सहमति जुटाएका छन् ।

दुई दलले सरकार गठनअघि एकताको खाका तय गर्ने र सरकार गठनलगत्तै पार्टी एकता गरेर जाने समझदारी गरेका छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सरकार निर्माणभन्दा पहिला पार्टी एकताको खाका तय गर्ने र सरकार निर्माणको केही समयलगत्तै पार्टी एकताको घोषणा गर्ने गरी छलफल चलिरहेको बताए ।

सरकार गठनअघि नै पार्टी एकता गरेको अवस्थामा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण संवैधानिक नियुक्तिपछि पार्टी एकतालाई पूर्णता दिनेगरी छलफल अघि बढाएका हुन् ।

एमाले उपाध्यक्ष भीम रावलले एकता अन्तिम चरणमा पुगेको जनाउँदै एकीकृत पार्टीको नेतृत्व र नीतिका विषयमा चाँडै नै संयोजन समितिको बैठकले टुंगो

लगाउने बताए ।

पार्टी अध्यक्ष र सरकारको नेतृत्व दुवैमा महाधिवेशनसम्मका लागि अडान राख्दै आएको एमाले र दुईमध्ये एक पद आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको माओवादी केन्द्रका अध्यक्षस्तरको छलफलमा दुवै अध्यक्ष बराबर हिस्सेदार रहनेगरी संयन्त्र निर्माण गरेर अघि बढ्ने र एक अध्यक्षले सरकारको नेतृत्व गरेको अवस्थामा अर्को अध्यक्ष स्वतः कार्यकारी अध्यक्षको हैसियतमा रहनेगरी समझदारी गरेका छन् ।

ओली र दाहालले सरकारको नेतृत्व आलोपालो गरेर जाने विषयमा पनि समझदारी गरेका छन् । ओली र दाहाल यस विषयमा सकरात्मक बने पनि ठोस सहमति गर्न बाँकी छ । दुई अध्यक्षबीच पुनः छलफल गर्ने र पार्टी एकता संयोजन समितिको बैठकबाट ठोस निर्णय गर्ने तयारी छ ।

दुवै दलका नेताहरूले एकताको खाका तत्कालै सार्वजनिक गर्ने दाबीसमेत गरेका छन् । दुई दलले पार्टी एकताका लागि गत्यारोधका रूपमा रहेको सैद्धान्तिक तथा वैचारिक विषयलाई पनि ठोस रूप दिएका छन् ।

सरकार गठनअघि एकताको खाका, लगत्तै पार्टी एकता

      पार्टी र सरकारमा आलोपालो नेतृत्व

      सिद्धान्त र विचार निर्धारण महाधिवेशनबाट

एमालेले मान्दै आएका जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवाद तथा २१औं शताब्दीको जनवादबीच कसरी वैचारिक संश्लेषण गरेर जाने भन्ने विषयमा फरकफरक मत राख्दै आएका थिए ।

‘एकीकृत पार्टीको सिद्धान्त, विचारका साथै संगठनात्मक विषयमा टुंगो लगाउन अन्तिम चरणमा छलफल भइरहेको छ,’ एमाले महासचिव ईश्वर पोखरेलले भने,

‘एकीकृत पार्टीको सिद्धान्त एवं विचार कस्तो हुने, संगठनात्मक ढाँचा कस्तो हुने भन्ने विषयमा सहमतिनजिक छौं, अब केही दिनमै टुंगो लाग्नेगरी छलफल भइरहेको छ ।’

ओली र दाहालबीच सोमबार भएको गोप्य भेटमा दुवै पार्टीले अंगीकार गर्दै आएका विचार तथा सिद्धान्तलाई एकले अर्कालाई सम्मान गरेर जाने र महाधिवेशनबाट दुवै विचार तथा सिद्धान्तको राम्रा पक्षलाई समेटेर तेस्रो धारको विचार निर्माण गरेर जाने सहमति गरेका छन् ।

दुई पार्टीले गत मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअघि नै निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति गर्दै निर्वाचनमा संयुक्त उम्मेदवारी दिएका थिए ।

प्रदेश तथा प्रतिनिधिसभामा दुई तिहाइनजिक सिट जितेका दुई दलले प्रदेश सरकार तथा सभामुख÷उपसभामुख र राष्ट्रिय सभा सदस्य उम्मेदवारसमेत संयुक्त रूपमा दिएका थिए ।