प्रदेश ३ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

     आन्तरिक मामिला तथा कानुनमा जमरकट्टेल

     भौतिक पूर्वाधार विकासमा स्थापित

ध्रुव अधिकारी / हेटौंडा

शपथ लिएकै दिन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री पौडेलले माओवादी केन्द्र र एमालेका एक–एक जना सांसद समेटेर मन्त्रिपरिषद गठन गरेका हुन् ।

प्रदेश ३ मा माओवादी केन्द्रका तर्फबाट संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले सरकारको नेतृत्व गरेका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका छन् । उनी धादिङ–१(ख) बाट विजयी भएका थिए ।

यसैगरी, एमालेका केशव स्थापितले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका छन् । उनी काठमाडौं–६(क) बाट विजयी भएका थिए । मुख्यमन्त्री पौडेलको सिफारिसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार अपराह्न जम्मरकट्टेल र स्थापितलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् । मुख्यमन्त्री पौडेल, सभामुख सानुकुमार श्रेष्ठसहितको उपस्थितिमा शपथग्रहण गराइएको हो ।

दुवै मन्त्रीले सोमबार नै पदभार ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय शिक्षा कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जिल्ला सहकारी कार्यालयलाई बनाइएको छ ।

मन्त्री भएपछि जम्मरकट्टेलले प्रदेशमा रहेका स्रोतसाधनको पहिचान गरेर विकास गरिने प्रतिक्रिया दिए । उनले १३ जिल्लालाई नै समान रूपमा विकासको अवधारणा ल्याएर समृद्ध बनाउने बताए । मन्त्री स्थापितले कानुन बनेपछि काम सुरु गर्ने प्रतिक्रिया दिए । नयाँ योजना ल्याएर प्रदेशलाई नमुना बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

सोमबार बिहानै मुख्यमन्त्रीसँगै मन्त्रीलाई पनि शपथग्रहण गराउने तयारी भए पनि माओवादी केन्द्रले सरकारमा सामेल हुन आनाकानी गरेपछि बिहानको शपथग्रहण रद्द भएको थियो ।

माओवादीले रोजेको मन्त्रालय नपाएपछि दुवै पार्टीका केन्द्रीय अध्यक्षको छलफलपछि माओवादीले सरकारमा सामेल हुने निर्णय गरेको थियो । यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेलले शपथग्रहण गरेका थिए । आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका पौडेलले सोमबार शपथग्रहण गरेका हुन् ।

उनलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनीयताको शपथग्रहण गराएकी थिइन् । मुलुक संघीय प्रणालीमा गएपछि मुख्यमन्त्री बन्ने पौडेल पहिलो व्यक्ति हुन् ।

मुख्यमन्त्री पौडेलद्वारा शपथ र पदभार ग्रहण गर्दै मुलुककै समृद्ध प्रदेश बनाउने घोषणा

शपथग्रहण गरेसँगै मुख्यमन्त्री पौडेलले शहीद स्मारकमा पुगेर शहीदको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका थिए । उनीसँगै सभामुख श्रेष्ठ र उपसभामुख राधिका तामाङले पनि शहीदलाई पुष्पगुच्छा अर्पण गरेका थिए । हेटौंडा–११ मा रहेको शहीद स्मारकको परिकल्पनाकार पनि पौडेल नै हुन् ।

पदभार ग्रहणपछि मुख्यमन्त्री पौडेलले प्रदेश ३ लाई मुलुककै पहिलो समृद्ध प्रदेश बनाउने घोषणा गरेका छन् । संघीय संरचनाअनुरूप सबै काम अन्य प्रदेशभन्दा छिटो गर्दै आइरहेको प्रदेश ३ लाई नमुना र समृद्ध बनाउन लागिपर्ने बताए ।

प्रदेश ३ मा रहेका १३ जिल्लाका आआफ्नै पहिचान र सम्भाव्यता रहेकाले त्यसको बढीभन्दा बढी सदुपयोग गरेर समृद्ध बनाउने लक्ष्य रहेको पौडेलले बताए । उनले सबैको सहयोगले मात्र समृद्ध प्रदेश बन्न सक्ने उल्लेख गर्दै सहयोगको अपेक्षा गरे ।

प्रदेश ३ मा तराईदेखि हिमालसम्म पर्ने भएकाले स्रोतसाधनका हिसाबले पनि धनी र शक्तिशाली रहेको मुख्यमन्त्री पौडेलले उल्लेख गरे । प्रदेशको ऐन कानुन निर्माणबाट कामको सुरुवात गर्नुपर्ने अवस्था रहेको बताए । प्रदेशलाई नमुना बनाउन ऐन कानुनबाटै सुधार गर्दै लैजाने उनले उल्लेख गरे । उनले १३ जिल्लामा नमुना शहर विकास गर्ने लक्ष्य रहेको बताए ।

संघीयता कार्यान्वयन र प्रदेश सरकार सञ्चालनको सुरुवाती अवस्था भएकाले ठूलो चुनौती रहेको पौडेलको भनाइ छ । तर, सबैले इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्ने हो भने चुनौतीलाई अवसरमा बदलेर नमुना बन्न सकिने उनले उल्लेख गरे ।

जनता र पार्टीले ठूलो विश्वास गरेका कारण मुख्यमन्त्री बन्न सफल भएको उल्लेख गर्दै पौडेलले भने, ‘जनता र पार्टीले गरेको विश्वासलाई मर्न दिन्नँ, दुवैको मन जितेर प्रदेशलाई समृद्ध र नमुना बनाउँछु ।’