प्रचण्डले जनयुद्धलाई नै धोका दिए : वैद्य

रावधानी समाचारदाता / काठमाडौं

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमाथि धोका दिएको आरोप लगाएका छन् । २३औं ‘जनयुद्ध दिवस’का अवसरमा वैद्यले शुभकामना सन्देश जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

‘१० वर्षसम्म सञ्चालित जनयुद्ध राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदा गर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुग्दै थियो,’ उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तर पार्टीको मूल नेतृत्वबाटै गम्भीर धोका दिइनुको कारण त्यसप्रकारको जनयुद्धले गम्भीर धक्का खान पुग्यो ।’

नेपालमा जनयुद्ध नयाँ जनवादी राज्यसत्ता स्थापनासहित साम्यवादमा जाने उद्देश्यमा आधारित भए पनि मूल नेतृत्वले धोका दिँदा उपलब्धिसमेत गुम्दै गएको उनले बताएका छन् ।

माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहालको नाम नै नलिई उनले जनयुद्धको मूल नेतृत्वकै कारण १० वर्षको जनयुद्धबीचबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्बहाली गरी संविधान बनाइएको आरोप पनि उनले लगाएका छन् ।

‘देश र जनताका मुक्ति र स्वतन्त्रताका सपना साकार हुन सकेनन्,’ वक्तव्यमा भनिएको छ, ‘यस वर्ष स्थानीय, प्रादेशिक र केन्द्रीय तहका चुनावी नौटंकी पूरा गरी संसद्वादी संविधान कार्यान्वयनको झ्याली पिटि“दै छ ।’

वैद्यले वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र बन्दै गएको समेत आरोप लगाएका छन् । दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको अवस्थामा नयाँ जनवादी क्रान्ति तयारीका लागि सच्चा क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध तुल्याउने काममा अगाडि बढेको उनले

उल्लेख गरेका छन् । नयाँ जनवादी क्रान्तिका लागि अगाडि बढ्नु नै २३औं जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हुने उनको कथन छ । वक्तव्यमा जनयुद्ध दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रूपमा मनाउने तयारी भएको जनाइएको छ ।

तत्कालीन माओवादी नेतृत्वले १ फागुन २०५२ मा नयाँ जनवादी राज्यसत्ता निर्माणका लागि जनयुद्ध सुरु गरिए पनि नयाँ जनवादी राज्यसत्ता स्थापना हुन नसकेको भन्दै दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रूपमा मनाउनसमेत पार्टी पंक्तिलाई उनले आह्वान गरेका छन् ।